७ बैशाख २०८१, शुक्रबार

लक्कुमा बिकेको लोकतन्त्र
  • न्युज मानसराेवर

वेदान्तको प्रचारप्रसार गर्ने सिलसिलामा स्वामी रामतीर्थ जापान पुगे। त्यहाँ उनको भव्य स्वागतसत्कार भयो। सोही क्रममा उनलाई जापानकै एक विद्यालयले अभिनन्दनका लागि बोलायो। स्वामीले विद्यालयमा अध्ययनरत एक बालकलाई बोलाएर सोधे, ‘तिमी कुन धर्म मान्छौ?’

‘बौद्ध धर्म मान्छु’, बालकले सजिलै उत्तर दियो। स्वामीले फेरि प्रश्न थपे, ‘बुद्धका बारेमा तिमीलाई के थाहा छ?’ ‘बुद्ध भनेका महान् भगवान् हुन्’, यति भन्दै बालकले चुपचाप ध्यान गरी बुद्धप्रति नतमस्तक हुँदै अभिवादन गर्‍यो।

‘मानिलेऊ जापानलाई जित्ने उद्देश्यले कुनै तेस्रो देशबाट सैनिकको एक डफ्फा यहाँ आयो। डफ्फाको नेतृत्व बुद्ध र कन्फ्युसियसले गरेका रहेछन् भने त्यति बेला तिमी के गर्छौ?’ स्वामीले प्रश्न सक्दानसक्दै बालकले जोशपूर्ण उत्तर दियो, ‘म तरबारले बुद्धको टाउको काटिदिन्छु र उक्त काटिएको टाउको कन्फ्युसियसको खुट्टामा राखिदिन्छु।’

बालकको यस्तो जवाफ सुनेर रामतीर्थ खुसीले गद्गद भए। विद्यार्थीलाई अँगालो मारे। उनको मुखबाट निस्कियो, ‘जुन देशका विद्यार्थीमा यस प्रकारको देशभक्ति हुन्छ, त्यो देश कुनै देशको गुलाम हुँदैन। त्यो देशको उन्नतिलाई कसैले रोक्न सक्दैन।’

बुद्ध जन्मिएको देशका नेपाली हामी यो कालमा आउँदासम्म बुद्धको नागरिकताका विषयमा तर्ककुतर्क गरेर दिन काटिरहेका छौं। सलादजस्तो मिलेको समाजलाई खण्डित गरिरहेका छौं। हिमालय पर्वतमा विराजमान महादेवका भक्त तराईमा छन्। तराईमा जन्मिएका गौतम बुद्धका उपासक हिमालमा छन्।

टिसर्ट लगाएर हिमाल हेर्न पाइने सन्तुलित मौसम र प्राकृतिक बार्दली छन्। तर हामी जंगल मासेर वनबास जाने प्रतिस्पर्धामा छौं। डाँडाडाँडामा भ्यू टावर बनाउने प्रतिस्पर्धा छ। मानवताको खैंजडी बजाएर मानवताकै चीरहरण गर्नु स्वाभाविक बन्न थालेको छ।

अर्कोलाई होच्याउन अर्को पुड्को बनाउने खेल छरपस्ट देख्न पाइन्छ। नेपाली स्वाभिमान फगत फेसबुकका भित्तामा पोखिएको छ। बाहिर एकथोक देखिए पनि नेपाली भएको भन्दा रासन कार्ड नपाएको पीडाले धेरैको निद्रा खोसिएको छ।

जन्म दिने बाउआमा नचिन्ने तर भारतीय टेलिशृंखलामा खेल्ने अनुराग बसु बिरामी हुँदा ओखती किन्न चन्दा उठाउने पुस्ता जन्माइरहेका छौं। थाहा छैन, यो दिशाहीन गोरेटोले हामीलाई कहाँ लैजाँदै छ?

दरबारिया परम्पराअनुसार नेपालका राजामहाराजा सबैलाई तिमी भन्न सिकाइएको थियो। २०४६ सालको परिवर्तनपछि राजा वीरेन्द्रले नेताहरुलाई यही अभ्यास दोहोर्‍याए। तर समयले खारेको व्यक्तित्व गणेशमानले राजाको तिमी पचाएनन्। तत्काल प्रतिवाद गर्दै भने, ‘सरकारको हजुरबा नै हाम्रो साथी भएपछि परिवर्तित सन्दर्भमा तिमी भन्न सुहाउँदैन कि सरकार!’ राजाले तत्काल गल्ती महसुस गरे। बरु बदलिँदो परिस्थितिमा दरबार कसरी चल्नुपर्ने हो, सिकाइदिन आग्रह गरे। घटना क्षणिक हो, तर एउटा नेताको साहसले सम्मानको शृंखला सुरु गर्‍यो।

०४६ सालको राजनीतिक परिवर्तन नेपाली जनताको परिवर्तन थियो। त्यसपछि भएका परिवर्तन भनेको राजनीतिक म्यारिज खेल्दा कसैलाई पनि माल नपरेपछि खेलिएको बेटर खेलजस्तै हो। व्यक्तिपिच्छेका स्वादको प्रयोगले यो देशबाट लोकतन्त्र बसाइँ सरेको धेरै भयो। देश सञ्चालनमा खोट देखिएपछि कारबाही गरिएका पात्र नै परिवर्तनका नाममा चुलोचौकोमा पुगेपछि लोकतन्त्रले विधिको शासन कति आत्मसात् गर्छ? हो, लोकतन्त्रले बोकेको प्रसव पीडा यही हो। लोकतन्त्र भनेको राज्य प्रणालीका अंगलाई शरीरभित्रका अंगजस्तै स्वचालित रहन दिनु हो। अंग स्वस्थ राख्ने जिम्मेवारी राज्यको हो। यसो भएमा राज्यको शासनप्रणालीमा जनताको गुनासो कम हुन्छ। जहाँ गुनासो कम हुन्छ, त्यहाँ रामराज्यको थालनी हुन्छ। हामीले जसलाई लोकतन्त्र भन्यौं, त्यो त ठगी गरेर ल्याएको सवारीको लाइसेन्सभन्दा माथिको भएन। हरेक क्षेत्रमा चुनावलाई लोकतन्त्रको पहिलो सर्त बनाउँदा देशमा आर्थिक असन्तुलन मात्र आएको छैन, सामाजिक अपराध वृद्धि भएका छन्। वर्षैभरि दर्जनौं संघसंस्था, वर्गीय संघसंगठनका चुनाव भएकै छन्।

हरेकको उद्देश्य जनताको हितसँग जोडिएका छन्। राजधानीमा एक लाख खर्च गर्दा २० जनाको भेला जुर्दैन भने देशभरका मानिस जम्मा गरेर नाना, खाना, छानाको प्रबन्ध मिलाउँदा कति खर्च हुन्छ? अब त झन् जोस भर्ने जल र सेकुवाको सित्तनविना भोटको आधारभूत दस्तुर पूरा नहुने अघोषित संस्कार नै बसिसकेको छ। उम्मेद्वार संस्थाका हुन छोडेर व्यक्तिका हुन थालेका छन्।

प्रचार सामग्री त्यतिक्कै भड्किला देखिन्छन्। कुनै निकायमा जवाफदेही हुन नपर्ने यसखाले स्रोत कहाँबाट जुट्छ? पसिनाको कमाइ गर्नेलाई भात खानै पैसा पुग्दैन भने उसले चन्दाको ‘च’ पनि उच्चारण गर्दैन।

यो स्थितिमा लोकतन्त्र मजबुत बनाउने चुनाव उतार्ने गहन जिम्मेवारी प्रकृति दोहनको आरोप लागेका क्रसर व्यवसायी, ग्यास सिलिन्डर फुटरिङ गर्ने स्वधर्मी उद्योगी, करमारा व्यापारी, हप्ता दिन पनि पिच नटिक्ने गरी बाटो बनाउने ठेकेदार, जर्तीका नाममा स्वाहा गर्ने सुन व्यापारी अनि यी सबै दृश्य आँखा चिम्लिएर जडभरत भएर बस्ने नेता र सरकारी हाकिमले लिएका हुन्छन्। जो मानिसलाई आफ्नो कर्म र क्षमतामा विश्वास हुँदैन, उसले गर्ने चलखेल नै हो।

अब त हुँदाहुँदा सानाभन्दा साना बटुके संस्थाहरुको चुनावमा पनि तामझाम देखिने गरेको छ। चुनाव सकिएको भोलिपल्ट त्यो चुनावको औचित्य प्रमाणित हुने एउटा कर्मसम्पादन भएको देखिनु भनेको हिमालमा यती मानव भेटिनु जतिक्कै हुन्छ। बरु चुनावको म्यान्डेटका नाममा हिजोअस्तिका फुटपाथेहरु आफ्ना माग पूरा नभए मेची–महाकाली ठप्पको चेतावनी दिन सिंहदरबार पुग्छन्। तिनलाई स्वागत गर्न माननीय मन्त्रीहरु मूलढोकामै हाजिर हुन्छन्। त्यसैलाई लोकतान्त्रिक अभ्यासको पालना भन्दै मिडियाहरु हप्तौंसम्म देउसुरे गाउँछन्। अनि कसरी बस्छ थिति? जनताबाट चुनिएका जनप्रतिनिधिबाट बनेको सरकार त नौ नारी गलेको अवस्थामा छ भने अरू भुरेटाकुरेबाट समाज रुपान्तरणको आस गर्नु हुटिट्याउँले सगर थाम्नुसरह हो।

राजनीतिक संगठनको चुनाव राज्य माराहरुको भरथेगमा सम्पन्न हुन्छ भने आउँदा सयौं वर्षसम्म पनि तिनीहरुकै सपना पूरा गर्नमै शासकहरुले समय खर्चिनुपर्नेछ। आफ्ना सपना पूरा गर्दागर्दै सहिदका सपना पूरा गर्छु भनी खाएको कसम गफाडीको गफ भएको छ।

महाभारतमा त्यसै भनिएको होइन, ‘सय कुवाभन्दा एउटा तलाउ असल, सय तलाउभन्दा एउटा यज्ञ असल, सय यज्ञभन्दा एउटा पुत्र असल र सय पुत्रभन्दा एउटा सत्य असल हुन्छ।’

नेपालको राजनीतिमा धेरै खहरे खोला बगे। वडा सदस्यमा समेत नालायक ठानिएका पात्र सिंहदरबारको चुलो चौकोमा पुगे। मन्त्रीको गाडी र सडक बनाउने डम्फर नचिनिने दृश्य पनि देखिए। तर सिंहदरबार बनाउने एकलव्य अभियानमा लाग्दा काठमाडौं उपत्यकाबाट सुत्केरीको समेत भाग खोसेर कालो दाल सिंहदरबार ल्याउन उर्दी गर्ने चन्द्रशमशेरको इतिहास कहिल्यै मेटिएन। सुत्केरीलाई कालो दाल छोडेको भए सिंहदरबार बन्दैनथ्यो।

चन्द्रशमशेरलाई घाँटी–घाँटीसम्म थाहा थियो, ‘अम्लेट खानेले अण्डाको माया गर्न हुन्न।’ सम्भवतः सिंहदरबार नबनेको भए अहिलेका शासकहरुले भुटानी शरणार्थीको जस्तो क्याम्प बनाएर शासन चलाउँथे होला।

चन्द्रशमशेरले जतिसुकै मेहनत गरेर सिंहदरबार बनाए पनि त्यसप्रति न्याय गर्ने क्षमता कमैमा देखियो। सिंहदरबारलाई न नेताले चिने, न नेतालाई सिंहदरबारले चिन्यो। ६ दशकको आधुनिक राजनीतिक इतिहासमा राष्ट्रवादी फगत बीपी कोइराला भए, जसले मन्त्रिपरिषद्को पहिलो बैठकमा आफ्नो तलब एक हजार घटाउने निर्णय गरे। कछाड लगाउने नागरिकदेखि विश्व परिवेशमा नेपालको स्पष्ट मार्ग चित्र कोरिदिए। कतिसम्म भने दुई देशबीचको तरुल भनिएको नेपाली भूगोललाई उनले बुझिने भाषामा भनिदिए, ‘नेपाल दुईटा विशाल हात्तीबीच सुतेको मान्छे हो।’

ठूला देश भारत र चीनबाट चेपिनुपरेको नेपाली मनोविज्ञानप्रति उनको मौलिक विश्लेषण थियो। बीपीले मानिस ब्रेडले हैन ब्रेनले बाँच्छ भन्ने शाश्वत सत्य मात्र सिकाएनन्, राष्ट्रियता भूगोल नभएर जनताको मन हो भनेर नेपाली समाजलाई पढाए।

राणाको चाकरीभित्रबाट जन्मिएको सरकारी सेवामा थुप्रै आए, गए। तर मुख्यसचिव कृष्णबहादुर मानन्धर यति इमानदार थिए, जो सरकारी गाडीमा परिवारका सदस्यलाई चढाउँदैनथे। पुलिसमा धेरै आईजीपी जन्मिए। तर खड्गजित बरालजस्तो भातको सिता र घरको भित्ताले चिनेको व्यक्तित्व दोहोरिएन।

पछिल्लो समय सिंहदरबार भिजनभन्दा सिजनको अखडा बन्यो। भीडका नाइकेहरु धमाधम नेता भए। नाइकेहरुका हुक्के, ढोके, चम्चे, नन्दी, भृंगीहरुको सत्तामा दाउ लाग्यो। गाउँ र जनताको नाममा रत्यौली मच्चाउने कामले तीव्रता पायो। राज्य कुपोषण लागेको त्यो गौमाता जस्तो भयो, जसलाई घाँस, कुँडो ख्वाउन कोही अघि नसर्ने तर लाम्टा चुस्न सबै तँछाडमछाड गर्ने। अहिले यही प्रवृत्ति प्रभावशाली भएर एउटा ठाडो निवेदन बोकेर राज्यकोषमा धावा बोल्नेहरु रातारात बढेका छन्। यो शैली विकासप्रतिको स्नेह नभएर छ्यांकन मार्ने दलाली दाउ हो भन्ने बुझ्न कठिन छैन।

मुलुकमा व्यापार घाटाको खाडल बढे पनि राजनीतिक व्यापार सतप्रतिशत फस्टाएपछि नेताहरु तैं चुप मै चुपछन्। जनताले सुलभ उपचार नपाएर के भो? नेतालाई एयर एम्बुलेन्स आएकै छ। कछाड लाउनेको छोरो डाक्टर बनाउने लोकतन्त्र आएकै होइन, नेताका छोराछोरीले छात्रवृत्ति पाएकै छन्। आफ्नो जन्म कहिले हो भन्ने भेउ नपाएकाहरु अहिले जन्मदिनमा उपहार पाउने भएका छन्। हुँदाहुँदा बिहेको पत्तो नभएकाहरु एनिभर्सरीका पात्रमा अनुवाद भएका छन्। राष्ट्रियता परिवारवादमा सीमित भएको छ।

हुन पनि त हो, रामायण पढेका हामीले राम र लक्ष्मणको भ्रातृप्रेमलाई सधैं शिरमा राख्यौं। तर विज्ञापनको वशिभूत भएर अर्का दाजुभाइ जटायु र सम्पातिको निःस्वार्थ अगाध प्रेम र इमानदारीको कदर गर्न सकेनौं। नल र नीलले गंगानदीमा ढुंगाको पुल बनाएर रामलाई विजयी बनाए। दुर्भाग्य! यी आध्यात्मिक इन्जिनियरलाई कसैले सम्झिएन। नेपाल लाइभ बाट

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech