१३ बैशाख २०८१, बिहीबार

जमुनाहा नाकाबाट देखिएको महासंकटको संकेत
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आइतबार अपरान्ह तीन बजेको छ । बाँकेस्थित जमुनाहा नाकामा भारतबाट पोकापुन्तुरा बोकेर आउनेको लर्को छ, हेल्थ डेस्कमा उस्तै चाप ।

त्यही बेला हेल्थ डेस्क छेउमा एउटा गाडी आइपुग्यो र दुईजना फटाफट चढेर हुँइकिए । गाडी अगाडि बढेपछि हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘कोरोना संक्रमितलाई त्यत्तिकै घर पठाउनु अपराध हो, तर के गर्ने हामी निरुपाय छौं… ।’

हेल्थ डेस्कका कर्मचारीहरुका अनुसार, गाडी चढेर गएका दुई अधबैंसेको एण्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । तर नाकामा संक्रमितलाई राख्ने ठाउँ नभएका कारण उनीहरु भाडाको गाडी बोलाएर घर गएका हुन् ।

त्यसरी सीधै घर जाने संक्रमितको सूची लामो छ । विना परीक्षण घर जानेको संख्या झन् ठूलो छ ।

हेल्थ डेस्कका कर्मचारीहरुका अनुसार ६ चैतदेखि ११ वैशाखसम्म जमुनाहा नाकामा जम्मा २९३ जनाको एण्टिजेन परीक्षण गरिएको छ । हरेक दिन ६ हजारभन्दा बढी मानिस आउने नाकामा एक महिनामा करिब ३०० जनाको परीक्षण ?

‘यो पर्याप्त होइन, तर के गर्ने ?’ नाम उल्लेख नगर्ने शर्तमा कुरा गर्न तयार भएका एक कर्मचारीले भने, ‘संक्रमण पुष्टि भएकाहरुलाई त राख्ने ठाउँ नभएर घर पठाउनु परेको छ भने धेरै टेष्ट गरेर मात्र के गर्ने !’

एण्टिजेन परीक्षणको तथ्याङ्क र नाकामा देखिएको दृश्यले नेपालगञ्जको भेरी अस्पताल र कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजले जटिल संक्रमितको चाप थेग्न नसक्नुको कारण मात्र देखाइरहेको थिएन, अन्य ठाउँहरुमा पन्पिरहेको महासंकटको संकेत पनि गरिरहेको थियो ।

सरकारको हदैसम्मको असंवेदनशीलता र प्रहरी–प्रशासनको लाचारी पनि छताछुल्ल भइरहेको थियो । जमुनाहा नाकाको दृश्यले न नेपालगञ्जमा लकडाउन भएको संकेत गर्थ्यो, न त भारतमा भयावह बनेको कोराना महामारीबारे नेपालमा जानकारी भएजस्तो देखिन्थ्यो ।

जबकि, भारतको उत्तरप्रदेश, उत्तराखण्ड, दिल्ली, मुम्बई, महाराष्ट्र लगायतका ठाउँको कोरोना संकटबाट फुत्किन रुकुम, रोल्पा, दाङ लगायतका नेपालीको लर्को छ । त्यसमा थपिएको छ, किनमेल गर्न भारतीय बजार जाने र फर्कने नेपालीको भीड ।

चार कर्मचारी रहेको सीमा नाकामा हेल्थ डेस्क नाम मात्रको छ, प्रहरीहरु ओहोरदोहोर गर्नेहरुलाई नदेखेझैं गर्न विवश छन् ।नेपालपट्टि बसेका कर्मचारीलाई खचाखच यात्रु व्यवस्थापन गर्न भ्याईनभ्याई छ । टाँगा, अटो सबैलाई यात्रु ओसार्न भ्याईनभ्याई छ । स्वास्थ्य सुरक्षा मापदण्डको कसैलाई वास्ता छैन ।

‘टाढा–टाढाबाट तीन–चार दिन लगाएर आएका नेपाली दाजुभाइ दिदीबहिनीलाई पारी नै रोक्न, लाठी चार्ज गर्न मिल्दैन, सकिन्न’, सीमा नाकाको निर्वाध आवागमनबारे सोधिएको प्रश्नमा एक प्रहरी अधिकृतले भने, ‘सरकारले यहाँ केही दिन राख्ने व्यवस्था गरिदिए हामी चौबीसै घण्टा खट्ने थियौं ।’

तर सिमानामा झारा टार्ने काम भइरहेको बताउँदै उनले थपे, ‘भारतमै संक्रमण भएर आएकाहरुलाई गाउँ–गाउँ पुग्न दिइएको छ । नाकामा होल्डिङ सेन्टर मात्र बनाइदिएको भए यस्तो लथालिंग हुन दिने थिएनौं ।’

सीमा नाकामा खटिएका कर्मचारी र प्रहरीहरु नेपालमा अब देखिन सक्ने परिणाम सम्झेर थर्कमान छन् । तर उनीहरुसँग न मानिसहरुलाई रोकेर व्यवस्थापन गर्ने अख्तियारी छ न त स्रोत साधन । ‘सम्भावित संकटको साक्षी बन्दैछौं’ एक कर्मचारी भन्छन्, ‘अब यता पनि कोरोनाले दिल्लीमा जस्तै ध्वस्तै पार्नेभो ।’

जनस्वास्थ्यविद्का अनुसार अहिले भारतबाट आएकाहरुमा ज्वरोलगायत लक्षण नदेखिए पनि उनीहरु शंकास्पद संक्रमित हुन् । उनीहरुलाई केही समय क्वारेन्टिनमा राख्नैपर्छ ।

तर क्वारेन्टिन त टाढाको कुरा, नाकाको हेल्थ डेस्कमा भारतको कुन ठाउँबाट आएको, कहाँ जाने, फोन नम्बरलगायत विस्तृत विवरणसमेत टिपिएको छैन । ज्वरो नाप्ने र भारतबाट आएकाहरुको संख्या टिपेर राख्ने काम मात्र हुन्छ ।

हामी त्यहाँ रहेकै बेला बेहुली लिन पारिबाट आएको एक हूल जन्तीले नेपालगञ्ज उपनगरपालिकाका मेयर धवलशमशेर राणाको पत्र प्रहरी कमाण्डरलाई देखायो । मेयरले ‘नाकामा सहजीकरण गरिदिनुहुन’ भनेर सिफारिश गरेका रहेछन् ।

प्रहरीले नेपालगञ्जको बाटो खोलिदिएपछि फटाफट भारतीय पाहुनाहरुको ज्वरो नापेर हेल्थ डेस्कका कर्मचारीले भने, ‘नेताहरुको सोर्सफोर्सले पनि महामारीलाई मलजल गर्ने भयो । यताका मान्छेलाई पारि सस्तो तरकारी किन्न जान दिएन भने पनि नेताजीहरुको फोन आउँछ, अनि कहाँबाट हुन्छ कोरोना नियन्त्रण ?’

भारतमा कोरोना संक्रमणले सुनामीको रुप लिएपछि नेपाल फर्किनेहरुको भीडमा रोजगारीको लागि भारत गइरहेकाहरु पनि देखिए । रोल्पाबाट चण्डीगढ हिंडेको समूहकी एक महिला सदस्यले कोरोनाले भेट्यो भने जता बसे पनि मर्ने नै त हो नि भनेर हिंडेको बताइन् । भारतको अवस्था तपाईंहरुलाई थाहा छैन ? भन्ने हाम्रो प्रश्नमा उनले सात वर्षकी छोरीको कपाल सुम्सुम्याउँदै भनिन्, ‘गाउँमा खानै नपाउने अवस्था आयो अनि के गर्नू ?’

सरकारी अधिकारी भन्छन्– महामारी त्यत्तिकै टर्दैन

आइतबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ जमुनाहा नाका निरीक्षणमा आइपुगे ।

भारतबाट आएकाहरुको पूरा विवरण नराखेको, शंकास्पदलाई एन्टिजेन टेष्ट नगरेको र टेष्ट गर्दा पोजेटिभ आएकालाई पनि घर पठाएको थाहा पाएर हेल्थ डेस्कका कर्मचारीलाई उनले सोधे, ‘यसरी महामारी नियन्त्रण हुन्छ त ?’

जवाफ पाए, ‘हामीसँग के विकल्प छ हजुर, न जनशक्ति छ, न पोजिटिभलाई राख्ने ठाउँ छ, न स्थानीय तह र प्रदेश सरकारको सहयोग… । कोही संक्रमित भेटिए एकछिन राखेर पानी दिने अवस्था पनि छैन हजुर… ।’

डा. श्रेष्ठलाई हामीले सोध्यौं, ‘अवस्था कस्तो पाउनुभयो त ?’

उनी भन्छन्, ‘लेखेर राख्नुस्, अब नेपालको धेरै ठाउँमा दिल्लीको दृश्य देखिन्छ, महामारी त्यत्तिकै टर्दैन’ डा. श्रेष्ठको अभिव्यक्तिले आसन्न संकटको चित्र देखायो । तर, यसका लागि प्रमुख जिम्मेवार सरकार र सरकारी निकायहरुमा बस्नेहरु नै हुनेछन् ।

जमुनाहा नाकाबाट दैनिक ५ हजारको दरले गत १५ दिनमा कति मानिस नेपाल पसे होलान् ? तीमध्ये कति संक्रमित थिए होलान् ? ती कहाँ–कहाँ गए होलान् ? र, तिनीहरुबाट कति ठाउँमा संक्रमण विस्तार भयो होला ? मनमा यी प्रश्न आउनेवित्तिकै आँखामा भेरी अस्पतालको दृश्य आइहाल्छ । अनलाइन खबर

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech