१२ श्रावण २०८१, शनिबार

लुम्बिनीमा अक्सिजन अभाव, अस्पतालका प्लान्ट बल्ल मर्मत गरिँदै
  • न्युज मानसराेवर

बुटवल– लुम्बिनी प्रदेशका ठूला अस्पतालहरुमा अक्सिजन अभाव देखिएको छ। कोरोनाका बिरामीको चाप अत्यधिक बढ्न थालेपछि अक्सिजन अभाव हुँदा उपचार गर्न नसक्ने स्थिति भएको अस्पतालहरुले बताएका छन्।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले अक्सिजनको स्टक सकिएको भन्दै अक्सिजनको व्यवस्था गर्न अपिल गरेको छ। यसका साथै लुम्बिनीका ठूला कोभिड संक्रमित उपचार गर्ने कोहलपुर मेडिकल कलेज र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले अक्सिजन अभावका कारण बिरामी लिन नसक्ने बताइसकेका छन्। एकातिर बेड अभाव झेलिरहेको बेला अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालमै छटपटिएर बिरामीले प्राण त्याग्नुपरेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक ५ देखि ६ सयसम्म अक्सिजन सिलिन्डर खपत हुँदै आएको छ। अस्पतालको अक्सिजन प्लान्ट बिग्रेको छ भने सप्लायर्सले मागअनुसार अक्सिजन उपलब्ध गराउन नसक्दा भयावह अवस्था सिर्जना भएको हो। बिरामीको चाप अत्यधिक हुन थालेकाले अक्सिजनको खपत धेरै हुँदा स्टक सकिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

अस्पतालमा दैनिक ३ सय सिलिन्डरसम्म अक्सिजन सप्लायर्सबाट प्राप्त हुने गरेको छ। मौज्दात अक्सिजन सकिन थालेकाले कोरोना संक्रमित बिरामीको उपचारमा संकट देखा परेको सूचना अधिकारी डा. गौतमले बताए। ‘अक्सिजन आपूर्ति गर्न अनुरोध गरेका छौं। अक्सिजन नभए बिरामीको ज्यान बचाउन सकिँदैन,’ उनले भने।

लुम्बिनी प्रादेशिक अस्पताल सिंगो प्रदेशकै बिरामी आउने अस्पताल हो। अझ बुटवलमा दैनिक ३ सयको हाराहारीमा कोरोना संक्रमित थपिएका छन्। तर, अक्सिजन अभाव भएपछि स्थिति भयावह हुने देखिएको छ। लुम्बिनीमा हाल नेपालगञ्जस्थित एचओ कम्पनीबाट अक्सिजन खरिद गर्दै आएको छ। उक्त कम्पनीबाट ल्याएकोले नपुुगेपछि अहिले रुपन्देही धकधईस्थित शंकर अक्सिजन र लुम्बिनी अक्सिजनबाट समेत लिने गरिएको अस्पतालले जनाएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको अक्सिजन प्लान्ट मर्मत भइरहे पनि अझै उत्पादन शुरु भइसकेको छैन। लुम्बिनीमा अक्सिजन प्लान्ट शुरु भए पनि दैनिक २० सिलिन्डरमात्रै उत्पादन हुने अस्पतालले जनाएको छ।

रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले पनि अक्सिजनको अभावले बिरामी भर्ना कटौती गर्नुपर्ने अवस्था आएको बताएको छ। दैनिक ५ सयभन्दा बढी अक्सिजन खपत भएको भन्दै अक्सिजन सिलिन्डरको व्यवस्था गर्न प्रदेश सरकार, स्थानीय तह तथा प्रशासनलाई गुहारेको छ।

अस्पतालले विज्ञप्ति जारी गर्दै दैनिक ८ सय सिलिन्डर अक्सिजन आपूर्ति गर्न अनुरोध गरेको हो। मेडिकल कलेजले कोभिड संक्रमित बिरामीको चापलाई मध्यनजर गरी सञ्चालनको तयारीमा रहेको ६० बेडको एचडियूू पनि अक्सिजनकै कारण सञ्चालन गर्न नसक्ने कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए।

उता कोरोनाको हटस्पट बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज (शिक्षण अस्पताल कोहलपुर)ले पनि अक्सिजनको अभावले कोरोना संक्रमितको उपचार गर्न नसक्ने जनाएको छ। कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले विज्ञप्ति जारी गर्दै अक्सिजन नभए कोभिडका बिरामी लिन नसक्ने जनाएको हो। अक्सिजन आपूर्तिका लागि अस्पतालले यही वैशाख १९ र २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित अनुरोधसमेत गरिसकेको छ।

यसैगरी प्रदेशका अधिकांश कोरोना संक्रमित बिरामी उपचाररत अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिएको छ। रुपन्देहीको भैरहवास्थित भिम अस्पताल, भेरी अस्पताल, दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा समेत अक्सिजनको अपुुग हुन थालेको छ।

गत वर्षदेखि नै कोरोना महामारीको हटस्पट बनेको लुम्बिनीका अस्पतालले आफैंसँग अक्सिजन प्लान्ट भएर पनि त्यसबाट उत्पादन नगरेको पाइएको छ। अस्पतालको अक्सिजन प्लान्टको मर्मत नहुँदा तीन अस्पतालमा रहेका अक्सिजन प्लान्ट बिग्रिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएको हो। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले अक्सिजन अभाव भएकाले तत्त्काल बिग्रिएका अक्सिजन प्लान्टको मर्मत र अक्सिजनका सिलिन्डर अनावश्यक रुपमा घरमा नराख्न आग्रह गरिएको बताए।

‘वितरण गरिएका सिलिन्डरको संकलन, कम्पनीमा उत्पादन बढाउन पहल र अक्सिजन प्लान्टको क्षमता वृद्धि गर्ने गरी तयारीमा जुटेका छौं,’ सचिव देवकोटाले भने, ‘कोभिडका बिरामीले घरमा अक्सिजन राखेर निको हुँदैन।’ कोरोना महामारी एक वर्षअगाडि शुरु भए पनि सरकारी अस्पताल तथा सरकारको तयारी भने निकै फितलो देखिएको छ। अक्सिजनको अभावमा बिरामीको मृत्यु हुन थालेपछि बल्ल मर्मत गरिएको छ।

उनका अनुसार अहिले लुम्बिनीमा बेड र अक्सिजनको अभाव भएकाले यी दुवैको समस्या समाधान गर्ने गरी सरकारले ठूला अस्पतालहरुसँग समन्वय र सहकार्य गरेको छ। लुम्बिनीमा रहेका चार वटा मेडिकल कलेजमा कम्तीमा ५० प्रतिशत कोभिड बिरामी अनिवार्य राख्नुपर्ने नियम बनाइएको उनले बताए। मेडिकल कलेजहरुमा आईसियूू, एचडियूू र अक्सिजन सहितको बेड हुने भएकाले बेडको समस्या अब हल हुने सचिव देवकोटाको भनाइ छ। लुम्बिनीमा नेपालगञ्ज मेडिकल कलेज (शिक्षण अस्पताल कोहलपुर), युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, देवदह मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेज पाल्पा सञ्चालित छन्।

लुम्बिनीमा अक्सिजनको अभाव चुलिँदै गएपछि मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउन अपिल गरेका छन्। उनले बिहीबार फेसबुकमार्फत यस्तो अपिल गरेका हुन्। मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव देखिएको छ। कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सम्बन्धित सबैले सहयोग गरौं।’  नेपाल समय

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech