बाँके बैजनाथ । कोरोना संक्रमितको अत्याधिक चाप रहेको बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालका लागि भारतको जमसेदपुरबाट एक ट्यांकर लिक्विड अक्सिजन मंगलबार आपूर्ति भएसँगै अक्सिजन अभाव हट्ने अस्पतालका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।
भारतबाट ल्याइएको लिक्विड अक्सिजन अस्पतालमा ठड्याइएको ट्यांकरमा खनाउने काम भइसकेको उनले बताए । प्लान्टमा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा गर्न सकिने क्षमता रहेको उनले बताए । प्लान्टमा पाइपलाइन जडान गरी सेन्ट्रल पाइपलाइनबाट अस्पतालको बेड-बेडमा अक्सिजन सप्लाई गर्न भने कम्तीमा पनि पाँच दिन लाग्ने छ ।
‘हामीले फास्ट ट्र्याकमार्फत अस्पतालको बेड-बेडमा अक्सिजन सप्लाइ गर्नका लागि पाइलाइन जडानको काम गरिरहेका छौं,’ उनले भने, ‘प्लान्टबाट सप्लाइ हुने अक्सिजन पाउन बिरामीलाई कम्तीमा पनि पाँच दिन लाग्न सक्छ ।’
‘प्लान्टमा एक पटक लिक्विड अक्सिजन भर्दा २१०० सिलिण्डर अक्सिजन उत्पादन हुँदो रहेछ,’ उनले भने, ‘अहिले दैनिक ४०० सिलिण्डर अक्सिजन खपत भइरहेको छ । यही चाप रहीरहे प्लान्टबाट सप्लाइ हुने अक्सिजन बढीमा पाँच दिन पुग्न सक्छ ।’
अक्सिजन प्लान्ट स्थापना गर्न झण्डै ७१ लाख रुपैयाँ खर्च भएको उनले जानकारी गराए ।















