१६ चैत्र २०८०, शुक्रबार

यी हुन् एमालेले स्पष्टीकरण सोधेका ११ नेता
  • न्युज मानसराेवर

काठमाडौं- नेकपा एमालेले पार्टी गतिविधिविरुद्ध लागेको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकले ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
‘आजको बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भयो’, उनले भने, ‘संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन गरेको प्रयास र त्यसको असफलता र त्यसपछिको प्रतिनिधिसभा विघटनको घटनाक्रमका बारेमा छलफल भएको छ।’

कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन, कम्युनिष्ट सरकार गिराउन, आफ्नै प्रधानमन्त्रीकाविरुद्ध लाग्नेलाई स्पष्टीकरण सोधिएको उनले बताए।

‘जे जस्ता खालका गतिविधि भए त्यसको समीक्षा भएको छ’, उनले भने, ‘पार्टीको अध्यक्ष, दलको नेता र प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलसँग मिलेर सरकार बनाउने प्रयास गरियो।’

उनका अनुसार स्पष्टीकरण सोधिएका नेताहरुमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, निरा जैरु, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी र कलिला खातुन छन्।

‘२६ जनामध्ये केहीले आफ्नो समर्थन नरहेको भन्दै जवाफ दिनुभएको छ। कतिले माधव नेपालले आफू प्रधानमन्त्री बन्न लागेकाले हस्ताक्षर गरेको प्रष्टीकरण दिनुभएको छ’, उनले भने, ‘अहिले मुख्य रुपमा ११ जनालाई मात्रै स्पष्टीकरण सोधिएको हो।’ उनीहरुलाई तीनदिने स्पष्टीकरण सोधिएको छ। त्यसको जवाफ आएपछि थप कारबाही प्रक्रिया अघि बढ्ने छ।

उनले संसद विघटन संवैधानिक प्रक्रियाअनुसार नै भएको दाबी गरे। सबै प्रक्रिया पुरा गर्दा पनि सरकार बन्ने अवस्था नहरेपछि प्रतिनिधिसभा विघटन भएको उनको भनाइ छ।

स्पष्टीकरण साेधिएका नेताहरु

१. माधवकुमार नेपाल (प्रत्यक्ष )
२. झलनाथ खनाल (प्रत्यक्ष)
३. भिमबहादुर रावल (प्रत्यक्ष)
४. मुकुन्द न्यौपाने  (समानुपातिक)
५. कल्याणी कुमारी खड्का  (समानुपातिक)
६. कलिला खातुन (समानुपातिक )
७. रामकुमारी झाक्री (समानुपातिक)
८. सरला कुमारी यादव (समानुपातिक)
९. लक्ष्मी कुमारी चौधरी (समानुपातिक)
१०. पुष्पा कुमारी कर्ण (समानुपातिक)
११. निरादेवी जैरु  (समानुपातिक)

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech