६ बैशाख २०८१, बिहीबार

गौतम बुद्धको मिथिला सम्बन्ध
  • न्युज मानसराेवर

जनकपुरधाम –  वैशाख पूर्णिमा अर्थात् गौतम बुद्धको जन्म जयन्ती। आज देशैभर २५६५औं जन्म जयन्ती मनाइँदै छ।

बुद्धको जन्म तत्कालीन मिथिला क्षेत्रको कपिलवस्तुमा भएको थियो। उनको जन्म मिथिला क्षेत्रमै भए पनि उनी जिउँदो छँदा प्रभाव भने मिथिला क्षेत्रमा पर्न सकेन।

बौद्धहरूको प्रभाव बढ्छ भन्ने चिन्ता मैथिलिहरूमा सुरुदेखि नै थियो। मिथिलावासी बुद्धको प्रभाव नपरोस् भन्ने पक्षमा थिए।

स्वयं बुद्धलाई पनि उनीहरूले प्रवेशमा निषेध गरेको इतिहास रहेको मैथिली एवं नेपालीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल बताउँछन्। बुद्ध जनकपुरधाम आउन खोज्दा उनलाई आउन दिइएन र उनी बाध्य भएर मखावन भन्ने स्थानमा गएर बसेकोे डा. विमल बताउँछन्।

उनको मृत्यु भएपछि मात्र जनकपुरधाममा बुद्धको अस्तू आयो। मिथिलामा बुद्ध धर्मको प्रभाव नपरोस् भनेर अर्कै धर्मको स्थापना उनीहरूले गरेको इतिहासकारहरु बताउँछन्। यस धर्ममा पनि लोक देवताहरूलाई पुजिन थालियो, जसलाई स्मार्त धर्म भनियो।

स्मार्त धर्ममा वैष्णव, शैव र शाक्तहरू छन्। तीनवटै समूह छुट्टाछुट्टै सम्प्रदायका रूपमा विकसित भए। उनीहरू एकआपसमा झगडा गर्दथे। बौद्ध धर्मको प्रभाव बढ्न थालेपछि उनीहरू सबै मिले। बुद्ध धर्मको विरोधमा उत्रिए। यसको नेतृत्व उदेन भन्ने व्यक्तिले गरेको इतिहासकारहरू बताउँछन्। उनले तीनवटै सम्प्रदायलाई मिलाउने काम गरे।

नयाँ धर्म र पूजाविधिको पनि छुट्टै विधान विकास गरेको डा. विमलले बताए। घरमा काली, भगवतीको पूजा गर्ने परम्परा थालियो। एउटा माटोको भाँडोभित्र भगवतीको पूजा गर्न थालियो। यो शाक्त धर्मको प्रतीक हो।

बुद्धकालमा आएर लोक देवीदेवताहरूका विषयमा चिन्ता गर्न थालियो। हिन्दू धर्मको विकल्प खोज्नेहरू यसतर्फ आकर्षित भए पनि यसभित्रको कट्टर स्वभावले गर्दा गृहस्थहरूका लागि त्यति सहज हुन सकेको थिएन।

त्यससमयमा अर्थात् इशापूर्व छैटौं शताब्दीतिर हिन्दू धर्म ब्राह्मणहरूको कर्मकाण्डी स्वार्थले सर्वसाधारणका लागि ज्यादै पीडादायी बन्दै गएको थियो।

सनातन हिन्दू धर्मको घरभित्रै आफ्नो धर्म संस्कृति जोगिने र आफूलाई पनि सहज हुने कुनै पीडा बोध नहुने विकल्प खोज्दै थिए।

यता बुद्धको राजधानी कपिलवस्तु क्षेत्रमा पनि भारतीय संस्कृतिकै प्रभावमा थियो भने  उपत्यकादेखि अन्य पहाडी क्षेत्रमा सनातन धर्मकै बाहुल्यता थियो। यही स्थिति मिथिलामा पनि थियो। उपत्यकालगायत केही स्थानमा बौद्ध धर्मको पनि प्रभाव देखिन्छ, जसलाई गौतमबुद्ध भन्दा अगाडिको मान्नुपर्छ।

यहाँ भारतको जस्तो ब्राह्मणवादको उग्र दबदबा त थिएन तर पाप र धर्मको नाममा त्यसखालको प्रवृत्ति बढ्दै थियो। यहाँका शासकहरू विशेषत भारतको भूमिमा त्यस्तै धार्मिक उत्पीडन समेत भोगेर आएकाहरू धेरै भएकोले उनीहरूले आफ्नो शासन र सत्ता टिकाइ राख्न धार्मिक सहिष्णुतालाई अंगालेको देखिन्छ।

मुख्य रुपमा प्रचलनमा रहेको हिन्दू र बौद्ध परम्परालाई सँगै लैजाने प्रवृत्ति देखिन्छ। तर, भारतमा त्यति सरल थिएन।

त्यही बेलामा सिद्धार्थ गौतमले मध्यममार्गको बाटो देखाए, जसलाई पछि गएर बौद्ध धर्म भनियो। यसमा धेरैभन्दा धेरै मानिसहरू प्रवेश गरे, जुन क्रम अहिलेसम्म पनि छ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech