१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनीको नीति तथा कार्यक्रम भोलि, आर्थिक मामिलामन्त्री भन्छन्- अर्थतन्त्र उकास्ने बजेट आउँछ
  • न्युज मानसराेवर

बाँके ।  लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम मंगलबार (भोलि) प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

विपक्षी दलहरुले नीति तथा कार्यक्रम र बजेटसमेत संसद छलेर ल्याउने आशंका गरिरहेका बेला प्रदेशसभाबाटै नीति तथा कार्यक्रम पेश गरी त्यसैको आधारमा बजेट ल्याउने सरकारले जनाएको छ। मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सरकारले संसदबाटै नीति तथा कार्यक्रम र बजेट पेश गर्ने बताए।

‘हामीले संसदभन्दा बाहिरबाट केही पनि गर्दैनौं, प्रदेशसभामै पेश हुन्छ र त्यहीँबाटै पारित हुन्छ’ मन्त्री चौधरीले भने। उनका अनुसार मंगलबार ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

‘कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने तथा कोभिडबाट तंग्रिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा सरकार जुटेको छ,’ आर्थिक मामिलामन्त्री चौधरीले भने, ‘यो वर्ष नयाँ कार्यक्रम थपिने छैनन्, पुराना र अधुरा योजनाको निरन्तरता तथा मूल रूपमा कोरोना नियन्त्रण, स्वास्थ्य तथा त्यसले पारेको असर न्यूनीकरण गर्ने गरी बजेट ल्याइने छ।’

उनका अनुसार आर्थिक वर्ष २०७८/७९ को बजेट चालू आर्थिक वर्षको भन्दा केही ठूलो आकारको हुनेछ। आम्दानीको स्रोत, संघीय सरकारबाट प्राप्त अनुदानका आधारमा बजेट ल्याउन लागिएको हो। चालू आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ३६ अर्ब ३५ करोड बराबरको छ। यो वर्ष यसमा एक अर्बको हाराहारीमा आकार बढेर ३७ देखि ३८ अर्बको हाराहारीमा बजेट आउने जनाइएको छ।

सरकारले प्रदेशसभाबाटै बजेट ल्याउने बताइरहे पनि विपक्षी गठबन्धनले भने आशंका व्यक्त गरेका छन्।

कोभिड उपचार कोषमा १० करोड थप

यस्तै लुम्बिनी प्रदेश सरकारको कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपेको छ। मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थप गरेको मन्त्री चौधरीले जनाए।

कोरोनाको दोस्रो भेरियन्ट आईसकेपछि १०/१० करोड गरी २० करोड बिनियोजन गरिसकेको मन्त्री चौधरीले बताए।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech