१५ बैशाख २०८१, शनिबार

विपक्षी गठबन्धनका विषयमा कांग्रेस बैठकमा भनाभन, देउवा र आचार्यबीच जुहारी
  • न्युज मानसराेवर

काठमाडौं– विपक्षी गठबन्धनको विषयलाई लिएर नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा भनाभन भएको छ। बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा विपक्षी गठबन्धनका विषयमा नेताहरुबीच भनाभन भएको हो।

संस्थापन पक्ष बाहेकका नेताहरुले विपक्षी गठबन्धनका तर्फबाट विज्ञप्ति जारी हुने क्रम बढेको तर पार्टीभित्र कुनै छलफल हुन नसकेको भन्दै सभापति देउवाको आलोचना गरेका थिए। नेता महेश आचार्यले गठबन्धनका विषयमा प्रश्न उठाएपछि देउवा आक्रोशित बनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनका अनुसार महत्वपूर्ण विषयमा विज्ञप्ति जारी गर्दा पार्टीभित्र छलफल हुनुपर्ने धारणा आचार्यले राखेपछि देउवाले आक्रोशित बनेका थिए।

आचार्यले विपक्षी गठबन्धनमाथि नै प्रश्न उठाएपछि देउवाले तत्कालै प्रतिवाद गरेका थिए। ‘गठबन्धन नै बनाउनुहुन्थेन भने अदालत जानु अघि नै किन नभनेको?’ आक्रोशित हुँदै देउवाले आचार्यलाई सोधेका थिए। गठबन्धन बनाएपछि साझा धारणा सार्वजनिक गर्नु स्वभाविक भएको देउवाको भनाइ थियो।

देउवा आक्रोशित बनेपछि आचार्यले आफू गठबन्धन विरोधी नभएको तर महत्वपूर्ण विषयमा धारणा सार्वजनिक गर्नुअघि पार्टीमा छलफल गर्नुपर्छ भन्नेमा आफ्नो जोड रहेको बताएका थिए।

आचार्यले आगामी निर्वाचनसम्मका लागि विपक्षी गठबन्धन बनाउन नहुनेमा जोड दिएका थिए। निर्वाचनसम्म गठबन्धन चलाउने विषयमा आचार्यले शंका व्यक्त गरेपछि देउवाले जवाफ दिँदै भनेका थिए– यो संसदीय मोर्चालाई बलियो बनाउनलाई गरिएको गठबन्धन हो। निर्वाचनको कुरै नगरौं।

आचार्य र देउवाको भनाभनपछि बोलेका नेता कृष्ण सिटौलाले गठबन्धनको औचित्य प्रष्ट पार्ने प्रयास गरेका थिए। उनले नेपालको राजनीति राष्ट्रिय र अन्तर्राष्ट्रिय भूराजनीतिको शिकार बन्न खोजेको बताउँदै त्यसलाई निस्तेज पार्न विपक्षीहरुबीच गठबन्धन आवश्यक रहेको बताएका थिए।

‘संसदमा २३ प्रतिशत प्रतिनिधित्व भएको दलले सिधै सरकारको नेतृत्व गर्छु भन्दा हास्यास्पद हुन्छ। अहिले संविधान र संसदीय प्रणालीमाथि प्रहार गरिएको छ। यस्तो बेलामा गठबन्धन पनि आवश्यक पर्छ,’ उनले भनेका थिए, ‘त्यसैका लागि यो गठबन्धन बनाइएको हो।’

नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आवश्यक परे आफू नाथुराम गोड्से पनि बन्न तयार रहेको अभिव्यक्ति दिएर विवादित बनेका बागमती प्रदेशका कांग्रेस सांसद विरुद्ध मुद्दा दर्ता भएको प्रति भर्त्सना गरेका थिए।

 

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech