१२ बैशाख २०८१, बुधबार

कोभिड भ्याक्सिन बोकेर हिँडेकी स्वास्थ्यकर्मीको रहस्यमय मृत्यु, अनुसन्धानमा प्रहरीका दुई टोली
  • न्युज मानसराेवर

धनगढी- असार २ गतेदेखि हराइरहेकी डडेल्धुराको परशुराम नगरपालिकास्थित जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मितादेवी धामीको शव हिजो फेला पारेपछि उनको रहस्यमय ‘मृत्यु’बारे प्रहरीले छानबिन सुरु गरेको छ।

२६ वर्षीया धामी २ असारमा कार्यालयबाट कोरोनाको खोपसहित स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी थिइन्। अस्पताल हिँडेकी धामी हराएपछि उनका सहकर्मी र परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। प्रहरी र आफन्तजनले खोजी गर्दै जाँदा हिजो शनिबार धामीको शव नगरपालिका– ९ को हट्वानी सामुदायिक वनमा फेला परेको हो।

शवको प्रकृति हेर्दा प्रहरीले स्वास्थ्यकर्मी युवतीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। यद्यपि औपचारिक रुपमा भने केही भनिएको छैन। ‘नाकको डाँडी र मुखमा गहिरो चोट देखिएको छ। चोट लागेको अवस्थामा शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले नेपाल समयसँग भने ‘पोस्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खुल्ला। अहिल्यै नै घटनाको प्रकृतिबारे बताउन सकिँदैन।’

सामुदायिक वनबीचमा रहेको मूलबाटोभन्दा झण्डै ६० मिटरको दूरीमा धामीको शव फेला परेको थियो। शव नजिकै कोभिड भ्याक्सिन बक्स पनि फेला परेको प्रहरीले जनाएको छ। मृतक धामीको शवभन्दा अलिक माथि अर्थात् बाटोको छेउमा उनका चप्पल देखिएका थिए। ‘शव पोस्टमार्टमका लागि जोगबुडा अस्पतालमा लगिएको छ। सम्भवत आजै पोस्टमार्टम हुनसक्छ,’ प्रहरी नायब उपरीक्षक नेपालले भने, ‘त्यसपछि भने घटनाबारे नयाँ अपडेट मिल्न सक्छ।’

स्वास्थ्यकर्मी युवतीको रहस्यमय मृत्यु र उनको शवको प्रकृतिका आधारमा घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले धनगढीबाट दुईवटा प्रहरी टोली परिचालन गरेको गरिएको छ। आइतबार संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको हो।

प्रहरीले मृतक युवतीका विषयमा प्रारम्भिक जानकारी संकलन सुरु गरेको छ। प्राप्त जानकारीका आधारमा अनुसन्धान अगाडि बढ्ने प्रहरीको भनाइ छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाका अनुसार घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली अनुसन्धानमा जुटेको छ। र, साथसाथै उनका अनुसार सोही घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूहको अर्को टोली पनि सक्रिय भइसकेको छ।

‘यस्तो कोभिड महामारीका बेला एकजना स्वास्थ्यकर्मीको शव जंगलको बीचमा भेटिनु र मुचुल्कामा उल्लेख भएको अवस्थाले मृत्यु रहस्यमय छ भन्ने देखाउनुले पनि प्रहरी यो घटनाप्रति बढि संवेदनशील देखिएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने, ‘घटनाको अनुसन्धानमा हाम्रो तर्फबाट कुनै कसर बाँकी रहने छैन।’

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech