११ बैशाख २०८१, मंगलवार

गिरिजाबाबुलाई उनकै कुराको कसीमा नियाल्दा
  • महेश्वर आचार्य

वि.सं. २०४६ मा पञ्चायती व्यवस्थाको अवसान भएर बहुदलीय प्रजातन्त्र हुँदै वि.सं. २०६६ मा गणतन्त्र स्थापना भएसम्म चार पटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइराला मृत्युपर्यन्त नेपाली राजनीतिको केन्द्र भइरहे। नेपाली राजनीतिमा करिब सात दशक बिताएका गिरिजाबाबुले आफ्नोबारे बताएका कुराहरूलाई संकलन गरेर प्रकाशित ‘आफ्नै कुरा’का धेरै कुरा सार्वजनिक संवादमा कमै आएको छ। कोइरालाले जति आफ्ना बारे बताएका थिए, ती महत्त्वपूर्ण छन्। कोइरालाले विगतका धेरै घटनाहरू सम्झेका छन्, ‘आफ्नै कुरा’मा।

‘मेरो जन्म वि. सं. १९८१ असार १८ गतेको दिन दीपनगर टेढीमा भएको हो। विराटनगर काेसी किनारैकिनार २०–३० किलोमिटर टाढा पर्छ मेरो जन्मस्थल। भारत निर्वासनबाट फर्किएपछि म पुनः त्यहाँ गएको छैन। मेरो मनमा एउटा कल्पना छ– काेसी किनारको त्यो ठाउँ, फुसको झोपडीहरू, बीचमा आँपको बगैँचा। अब विकास भयो, बत्ती पुग्यो होला। त्यो मेरो कल्पना बिग्रन्छ कि भनेर म अहिलेसम्म जन्मस्थान टेढी गएको छैन।’ (पृ. १)

अन्तर्वार्ता शैलीमा गिरिजाबाबुले भनेका कुरा पुस्तकमा पढ्दा पाठकले विगतका धेरै जानकारी पाउँछन्। करिब ५०–६० वर्ष अघिको कुरा पढ्दा लोककथा पढेजस्तो पनि हुन्छ कतै–कतै। जुद्ध शमशेर शिकार गर्न विराटनगर पुग्दाको एउटा प्रसङ्ग अहिले ठट्यौली झैं लाग्छः

‘जुद्धसमशेर हात्तीबाट ओर्लिए र हिँड्दै हामी नजिक आए। म अगाडि नै थिएँ। उनले सोधे- ‘What is your name?’ मैले भनें, ‘My name is Girija Prasad Koirala।’ यसपछि जुद्धसमशेरले भने, ‘कृष्णप्रसाद! तिम्रो छोरा त विद्वान् पो रहेछ। एकै पटकमा यसरी फ्याट्ट जवाफ दियो।’ खास कुरा के रहेछ भने जुद्धशमशेरलाई पनि त्यति मात्रै अङ्ग्रेजी आउँदो रहेछ र मैले पनि त्यति मात्रै कण्ठ पारेको थिएँ। जुद्धशमशेर खुसी भएर विद्यार्थीहरूलाई मिठाइ खुवाइदिनु भनेर ५–७ सय रुपैयाँ दिए। अनि उनले भने, ‘ल आजदेखि यो हाइस्कुल भयो।’ राणाले बोलिदिएपछि पुगिहाल्थ्यो। आदर्श स्कुल हाइस्कुल भइहाल्यो।’ (पृ. १५)

शासकले बोलिदिए पुग्ने ऊ बेलाको समाज र राष्ट्रको अवस्था बुझ्न यो पुस्तक राम्रो आधार हो। कोइरालाका ठूल्दाजु मातृकाले ‘काेसीको कथा’मा काेसीको इतिहास केलाएका छन्। उनको किताबमा अरु कुराका साथै मोरङ, विराटनगरका कुरा पनि छन्। इतिहास भएकोले त्यस पुस्तकमा पात्र बोल्दैनन्। कोइरालाका अर्का दाजु बीपीले काेसी किनारको सेटिङमा साहित्य रचेका छन्। आफ्नै कुरामा पनि त्यही काेसी किनारको सेटिङ दोहोरिन्छ। तर यहाँ स्वयं पात्रले आफ्नो विगत सुनाउँदा त्यो नोस्टाल्जिक सुनिन्छ। जसरी भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ले ऊ बेलाको नेपाल र ‘नेपाल खाल्डो’ को विगतलाई कथानक पारामा भन्छ। र, जसरी बसन्त थापाका केही संस्मरणले उत्तर–हिप्पिकालीन काठमाडौंको कथा सुनाउँछ उसैगरी आफ्नै कुराले पनि मोरङको विगत  सुनाउँछ। त्यस हिसाबले यो पुस्तकको सामाजिक महत्त्व त हुने नै भयो झन् त्यसमाथि देशलाई तीन–तीन वटा प्रधामन्त्री दिएको कृष्णप्रसाद कोइराला परिवारको कुरा बेग्लै महत्त्वको छँदैछ।

‘आफ्नै कुरा’मा कोइरालाले बीपीकै लागि राजनीति गरेको र आफ्नो कुनै राजनैतिक सपना नभएको बताएका छन्। प्रजातन्त्र नआउन्जेल नेपाली कांग्रेसको संगठन विस्तारमा व्यस्त गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र आएपछि २००८ सालमा विश्वबन्धु थापालाई विराटनगर कांग्रेसको संगठन जिम्मा लाएर भुटानमा प्रजातन्त्र ल्याउन आन्दोलन गर्न हिँडेको कुरा पनि पुस्तकमा समेटिएको छ। जुन उद्देश्यका लागि उनी भुटान गएका हुन्, त्यो पूरा नहुँदै उनी फर्किए। भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले उनलाई फर्किन बाध्य पारेका थिए। जुन घटनाले हाम्रो भूराजनीतिको सम्बन्ध बुझ्न मद्दत गर्दछ।

भूमिगत हुँदा पैसाको अभावले पार्टीको काममा खर्च जुटाउन तस्करी गर्नु परेको, नक्कली नोट छापेको जस्ता कुरा पनि कोइरालाले बताएका छन्। त्यस्तै क्रममा संगठन चलाउन आवश्यक पैसाको लागि पैसा ओसार्ने विमान अपहरण गर्नुपरेको कुरा बताउँदै विमान अपहरणको पृष्ठभूमि पनि उनले बताएका छन्। मातृका र बीपीको द्वन्द्वले नेपाली राजनीतिलाई घाटा पुर्‍याएको कुरा पनि गिरिजाबाबुको कुरा पढ्दा थाहा लाग्छ।

पञ्चायती व्यवस्था छँदा पार्टीको संगठन र देश विदेशमा सम्पर्क सम्बन्ध कायम गर्न तल्लीन कोइराला २०४६ को प्रजातन्त्र पुनर्बहालीपश्चात् केन्द्रीय राजनीतिको एउटा महत्त्वपूर्ण हिस्सा बने। प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो निर्वाचित सरकारलाई प्रधानमन्त्रीका हैसियतले कोइरालाले स्थायी बनाउन नसकी मध्यावधि चुवावमा गएकोले नै विकृति विसंगतिले जरा गाडेर प्रजातन्त्र संकटमा परेको र देश गृहयुद्धमा होमिएको भन्ने आरोप पनि उनलाई लाग्ने गरेको छ। यद्यपि दरबारले पर्दापछाडिबाट सधैं खेल्ने गरेको भूमिका र नेपाली राजनीतिको संस्कारहीन संस्कृति र अवसरवादी चरित्र पनि त्यसको दोषी हुन्, जुन समय क्रममा पुष्टि भइसकेको छ।

बीपीको मृत्युपछि कांग्रेसको संगठनमा लाग्दा–लाग्दा उनी यति प्रभावशाली बन्दै गए कि कालान्तरमा त्यही संगठनको बलले उनले ‘लौहपुरुष’ गणेशमान सिंह र ‘सन्त नेता’ कृष्णप्रसाद भट्टराईलाई पनि विस्थापित गरिदिए। सिंह र भट्टराई किनारा लागेपछि गिरिजाप्रसाद नै नेपाली कांग्रेसका अभिभावक नेताको भूमिकामा देखा परे। तर कोइरालाको एउटा प्रमुख कमजोरी ‘डाडुपन्यूँ सधैं आफ्नै हातमा रहोस्’ भन्ने नीति रह्यो। ज–जसलाई उनले राजनीतिको मैदानमा अघि सारे पछि तिनिहरूसँगै उनको दूरी बढ्यो।

शेरबहादुर देउवालाई उनले आफ्नो पहिलो प्रधानमन्त्रीकालमा गृहमन्त्री बनाए। पछि प्रधानमन्त्री बन्ने माहौल पनि बनाइदिए। तर देउवासँगै उनको पानी बाराबारको स्थिति आयो। अन्ततः कांग्रेस नै दुई चिरामा टुक्रियो। कोइराला कांग्रेस र देउवा कांग्रेस। खुमबहादुर खड्कासँग कोइरालाको त्यस्तै भयो। सेनाका नारायणसिंह पुनलाई गिरिजाबाबुले राजनीतिमा त ल्याए तर पुनसँग पनि उनको जोडी जमेन। पुनजी नेपाल समता पार्टी खोल्न पुगे।

प्रधानमन्त्री भएपछि सत्तामोहमा फसेका गिरिजाप्रसाद कोइराला आफूलाई जी/हजुरी गर्नेहरुकै भरमा अघि बढ्न खोजे र अत्यन्तै आलोचित पनि बने। उनकै प्रधानन्त्रीत्वकालमा नै माओवादी द्वन्द्वका कारण मृत्यु हुनेहरूको संख्या चुलिएको आरोप उनलाई छ। तर नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र राजा ज्ञानेन्द्र प्रदिपादित ‘साइबर युगको पञ्चायत’ खोसेर ‘पूर्ण प्रजातन्त्र’ ल्याउन पनि उनकै योगदान रह्यो। जसमा राजा ज्ञानेन्द्रले पार्टीहरूलाई निषेध गर्दाको अवस्थाले पनि उत्तोलकको काम गरेको छ। यसबाट गरिजाबाबुको छवि त उज्यालियो तर आम जनतामा भने गिरिजाबाबुको भ्रष्ट बिम्ब नै गाढा छ।

तत्कालीन शाही नेपाल वायुसेना निगमको लाउडा विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनलाई ‘अबदेखि यस्तो नगर्नू’ भन्ने नसिहत दियो। उनले पटक–पटक नेपाली कांग्रेसमा बीपीले स्थापित गरेका प्रजातान्त्रिक मूल्यमान्यताको कुरा गरेका छन् तर त्यस्को अभ्यासमा भने उनी अग्रसर भएनन्। त्यसैले उनलाई ‘डिक्टेटरअल लिडरसिप’को एउटा नमूना मानिन्छ।

आफ्ना निकटकालाई च्याप्ने र अरुको कुरै नसुन्ने प्रवृत्ति उनको रह्यो। कम्युनिस्ट विरोधीको छवि बनाएका कोइरालासँग २०४६ सालपछिको खुला दलगत राजनीतिको अभ्यासका सुरुवाती दिनमा त कम्युनिस्टहरूसँग उस्तो तालमेल भएन। तर बिस्तारै उनीहरूसँग पनि कार्यगत एकता सम्भव हुँदै गयो, जब सत्ता प्राप्तीको राजनीति हाबी हुन थाल्यो।

वि.सं. २०५८ मा दरबार हत्या काण्ड हुँदा कोइराला नै प्रधानमन्त्री थिए। त्यस रातको घटनाबारे उनले पुस्तकमा बताएको कुराले पनि गहिरो अर्थ राख्छ। उनले राति ११ बजे राजाको हत्या भएको जानकारी पाएको र सुरुमा राजदरबार गएर मात्र अस्पताल पुगेको कुरा बताएका छन्-

‘राजदरबार पुग्दा त्यही रातीको ११:३० बजेको थियो होला। दरबारमा पुगेपछि देख्छु त्यहाँ त पूरै सुनसान छ। खाली एक जना आर्मी मात्र देख्छु। अरु कोही छैन। पूरै सन्नाटा छाएको छ। सुनसान एकदमै सुनसान। महर्जनले (राजदरवाका सचिव पशुपतिभक्त महर्जन) त्यहाँ के–के भयो ? कसरी भयो ? भनेर सामान्य ‘बिफ्र’ गरे। राजारानी, युवराजलगायत सबै घाइतेलाई अस्पताल लगिएको बताए। म घटनास्थल पुग्दा त रगतका टाटा केही थिएनन्। घटनास्थल पानीले पखालेर सफा पारिएको थियो। के भएको रहेछ? भनेर हेर्छु भनेका त केही थिएन।’ ( पृ. १५६)

पुस्तकमा उनको बाल्यकाल, राजनीतिका सुरुवाती दिन तथा राणासँग लड्दाको कुरा अहिले हामीलाई रमाइला कथासरह लाग्छन्। साथै बीपीलाई छुटाउन राजा महेन्द्रसँग उनले गरेको संवाद प्रयासहरू पनि रोचक छन्। भुटानमा प्रजातान्त्रिक आन्दोलन चर्काउन गिरिजाबाबु त्यहाँ गएर संगठनको काम गरेको घटनाहरू पनि ‘ऐतिहासिक रोमान्स’ हुन्।

प्राध्यापक कृष्ण खनालको टिप्पणी छ, ‘गिरिजाप्रसाद कोइरालाको यो स्मरण पूर्ण छैन। कतिपय महत्त्वपूर्ण प्रसङ्गहरूबारे उहाँले ‘पछि भन्छु’ भन्दाभन्दै छुटेका छन्, ती अब सदाका लागि छुटे। तथापि यसमा समेटिएका प्रतिनिधि संस्मरणहरूले राणाशासनका अन्तिम दिनदेखि माओवादीसँगको शान्तिवार्ता र संविधानसभा चुवानपूर्वको संक्रमणसम्मका राजनीतिक घटनाक्रम र आयामहरू बुझ्न आधार दिन्छन्। इतिहासका ती महत्त्वपूर्ण क्षण स्वयं नायक पात्रको मुखबाट अभिव्यक्त भएका हुँदा तिनले आधिकारिकता र विषेश महत्त्व राख्छन्।’ (पृ. ख)

एउटा निर्णय लिएपछि त्यसलाई ‘वार कि पार’ गर्ने अडान लिन सक्ने ‘गरिजाबाबु’को ‘आफ्नै कुरा’ राजनीतिमा रुचि हुनेहरूका लागि जति महत्त्वपूर्ण छ, त्यतिकै महत्त्वपूर्ण नेपाल र नेपाली समाज जान्न चाहनेहरूको लागि पनि।

(जगत नेपाल लिखित ‘आफ्नै कुरा’’ २०६७ सालमा जगदम्बा प्रकाशनबाट प्रकाशित भएको हो।) नेपाल समय बाट 

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech