८ जेष्ठ २०८१, मंगलवार

माग नसुने देउवा पनि ओलीकै बाटो लाग्नुपर्ने छ
  • डा गोविन्द केसी

धैरै ठाउँमा, धेरै पटक भनियो, स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो। यसको सुनिश्चितता राज्यको प्रमुख दायित्व हो। त्यसको कार्यान्वयन गर्ने भनेको जनताबाट चुनिएका जनप्रतिनिधिले नै हो। तर यही विषयका लागि हामी लडिरहनुपरेको छ। भिडिरहनुपरेको छ।

जनताबाट चुनिएका नेताहरूले जनमैत्री काम गर्नुका साथै सोही अनुरुपका कानुन बनाएर कार्यान्वयन गर्लान् भन्ने सबै जनताको आशा हुन्छ। हामीले पनि पटक–पटक जनताको स्वास्थ्यमा राज्य संवेदनशील हुनपर्छ भनेका छौं। हाम्रो चासो र चिन्ता यही हो।

पहिलेका सरकारहरूसँग पनि हामीले स्वास्थ्य क्षेत्र सुध्रिनेमा आशावादी भएर माग राखेका थियौं। तर, जनपक्षीय परिणाम आउन सकेन। केही मुठ्ठीभरका माफियाको संरक्षणमा ओली सरकारले काम गर्‍यो।

अहिले सरकार फेरिएको छ। हामीले सरकार फेरिने बित्तिकै आफ्ना मागप्रति ध्यानाकर्षण गराइसकेका छौं। मलाई वर्तमान सरकारले हाम्रा मागलाई गम्भीरतापूर्वक लिने विश्वास छ। यदि गम्भीरतापूर्वक लिएन भने हामी यत्रो वर्षदेखि शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि लडिरहेका छौं र फेरि पनि लड्छौं।

हाम्रा नयाँ माग होइनन्। धेरै पुरानै छन्। स्वास्थ्य शिक्षालाई व्यवस्थित र जनमुखी बनाऔँ भनिएको मात्र हो। यो जनताको हकहित चाहने सरकार हो र यी जनताको काम गर्न आएका प्रधानमन्त्री, मन्त्री हुन् भने हाम्रा माग पुरा गर्न गाह्रो छैन। यी सरकारका लागि चुनौती होइनन्। यी माग पूरा गर्दा सरकारलाई नै श्रेय जाने हो।

यही सेरोफेरोमा अब फेरि एक पटक देउवा नेतृत्वको सरकारलाई परीक्षण गर्ने समय आएको छ। यदि यो जनताप्रति संवेदनशील सरकार भए हाम्रा माग पूरा हुनेछन्। जनताप्रति संवेदनशील भएनन् भने हामी फेरि आन्दोलनमा जाने छौं। ओली सरकारलाई जनताले बाटो देखाएझै यो सरकारलाई पनि बाटो देखाइदिने छन्।

नेपाली राजनीतिमा अहिलेसम्म केपी ओली सबै भन्दै बेइमान नेता निस्किए। उनले आफ्नो अधिकार दुरुपयोग गरेर बीएन्डसीलगायतलाई सम्बन्धन दिने खेल खेले। ओली कुनै मेडिकल कलेजको कार्यकारी जिम्मेवारीमा हुँदैनन्। उनी त्यहाँ सम्मानित पदमा कुलपतिमा हुन्छन्। तर, ओलीजीले आफ्ना विश्वासपात्र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रयोग गरेर चोर बाटोबाट सम्बन्धन दिन खोजे। श्रेष्ठ ओलीका माफियाका नाइके कार्यकर्ता रहेछन्। जुन निकै गलत थियो। त्यसमा काठमाडौं विश्व विद्यालयका ओलीका भ्रष्ट कार्यकर्ताको पनि ठूलो भूमिका छ। यी दृश्यले काठमाडौं विश्वविद्यालयको उपकुलपतिलाई यस्तो आफ्ना स्वार्थपूर्तिको लागि सम्झौता गरेर उपकुलपति बनाएको जस्तो पाइयो। उपकुलपतिको गरिमामाथि पनि शंका र प्रश्न गर्ने ठाउँ थुप्रै छन्।

ऐन बनेको छ। सबै अधिकार चिकित्सा शिक्षा आयोगलाई छ। यी माफियाहरूले आयोगलाई नै कमजोर पारेर सम्बन्धन दिने खेल खेले। त्यो भन्दा ठूलो लज्जाको विषय अरु के हो? सम्बन्धन दिन कतैबाट नमिल्ने कुरा छ। तर, ओलीले दुई पटक आफ्नो अधिकार दूरुपयोग गरेर चिकित्सा शिक्षा ऐन विपरीत दबाब दिएर बीएन्डसीलाई सम्बन्धन दिन भग्मदुर कोसिस गरे। ओलीले नग्न रुपमा बीएन्डसीलाई सम्बन्धन दिन खोज्दा पनि सकेनन्।

ओली गुन्डाका नाइके हुन्। उनले गुन्डाको राजनीति गर्ने हो। उनका पेरिफेरिमा पनि त्यही पृष्ठभूमिका मान्छे थिए। ओली राजनीति गरेर जेल परेका होइनन्। नौ जना मारेर जेल परेका हुन्। उताबाट निस्किसकेपछि ओलीले गुन्डाको राजनीति गरे। त्यसमा उनी कहिल्यै सुध्रिएनन्। अहिले पनि युथफोर्स कि के भन्ने उद्दण्ड मान्छे सडकमा उतारेर गुन्डाकै आडमा राजनीति गरिरहेका छन्। उनीसँगको झुन्ड कुनै ‘कमन सेन्स’समेत नभएको छ।

शनिबार उनको त्यस्तै गुन्डासमूहले तामझामका साथ काठमाडौंमा कार्यक्रम गर्‍यो। जताततै फोहोर गर्‍यो। के यही हो राजनीतिक संस्कार? नेताले सभ्य समाज निर्माण गर्ने होइन? के नेताले जनतालाई सडकमा बाँदर बनाउँदै उतार्ने हो? यसले कस्तो खाले देश निर्माण हुन्छ?

उनीहरूले गरेको फोहोर मैले टिप्दै हिँडेको थिएँ। के त्यो भीडमा कोरोना थिएन? कि ओलीले आफ्ना कार्यकर्ता रहेको भीडमा ओलीले कोरोनालाई प्रवेश निषेध भन्नु भएको थियो? ओली गुन्डाको राजनीति गर्थे गए। अब ओलीलाई जनताले चाहदैनन्। अब ओली चुप लागेर बसे हुन्छ। जनताले तिरेको करबाट ओलीले उपचार गरिरहेका छन्। अब ओलीले घरमा चुपचाप बस्ने, उपचार गर्ने गर्नुपर्छ। मेरो सुझाव त्यही नै हो। अब फेरि विपक्षीमा बसेर चुरफुर गरे जनताले ठीक गर्ने छन्।

जनताले ओलीलाई ठूलो मौका दिएका थिए। दुई तिहाइको सरकार थियो। राम्रो काम गर्न कसले रोकेको थियो र? रोक्यो त केवल ओलीको भ्रष्ट बुद्धि र गुन्डागर्दी शैलीले। दुई तिहाई हुँदा त जनताको हकहितमा काम गर्ने हो। जनपक्षीय ऐन/कानुन बनाउने हो। त्यसको साटो ओली ऐन तोडमोडको खेलमा लागे। आफू अनुकुल ऐन संशोधन गर्न थाले। संविधानभन्दा माथि बसेर उनले दुई पटक संसदको हत्या गरे। सबै क्षेत्रमा उनले नेपाल र नेपाली जनतालाई धोका दिए। संविधानको रक्षा गर्नु पर्ने मानिसले संविधानलाई कौडी बनाए।

ओलीकै कार्यकालमा म ६/७ पटक अनसन बसेँ। अरुको कार्यकालमा भएका उपलब्धि पनि ओलीको पालमा गुमे। उनले आफूले गरेको सम्झौता पालना गर्नु त परैको कुरा कार्यान्वयनको बाटोमा गएका उपलब्धिहरूलाई पनि उल्लंघन गरे। ओलीले सरकारमा हुँदा माफिया, बिचौलिया र दलालको नाइके भएर काम गरे। पहिले भएका उपलब्धिहरूलाई त संरक्षण गर्नुपर्‍यो नि। पुरानै उपलब्धिको संरक्षणका लागि हामीले अनसन बस्नुपर्‍यो। लोकतन्त्रमा यो भन्दा ठूलो विडम्बना अरु के हुन्छ?

यो पहिलेका प्रधानमन्त्रीको कुरा भयो। अब वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाट आशा गरौं। उनकै नेतृत्वको सरकारको पालामा पनि हामी अनसन बसिसकेका छौं। उनी पनि नचिनेको विष्ट होइनन्। अहिलेको मौकालाई सदूपयोग गर्न म देउवालाई सुझाव दिन चाहन्छु। नत्र ओलीकै हविगत हुनेमा दुई मत छैन।

म त आफ्ना मागमा सधै अडिग छु। जो सुकै सरकार आए पनि मेरा माग उनै हुन्। मेरो लडाई उही हो। माग सम्बोधनमा जति ढिला हुन्छ त्यति नै चुनौती थपिँदै जाने भएकाले सरमारलाई समयमै मेरा मागमा गम्भीर हुन आग्रह गर्छु। अन्यथा फेरि पनि मैले अनसन बस्न नपरोस्।

केहीलाई गोविन्द केसी मर्‍यो भने उसको आन्दोलन तुहिन्छ लागेको छ भने त्यो भ्रममा नबस्न म आग्रह गर्छु। अब आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउने जेनेरेसन तयार भइसकेको छ। चिकित्सा क्षेत्रका सुधारक अभियन्ता पनि छन्। उनीहरू तयार भइसकेका छन्। मैले केही गरी अभियान अगाडि बढाउन सकिनँ वा मेरो मृत्यु भयो भने अभियानलाई अगाडि बढाउने थुप्रै मानिस तयार भइसकेका छन्। त्यसैले मेरो मृत्यु कुरेर बसेका मेडिकल माफियाहरूलाई चिकित्सा शिक्षा क्षेत्र नसुध्रिदासम्म आन्दोलन कुनै हालतमा नसकिने चेतावनी दिन चाहन्छु।

एक न एक दिन सत्यको जीत हुनेमा म विश्वस्त छु। हाम्रो संस्कार शान्तिमा विश्वास गर्ने हो। त्यसैले हाम्रा आन्दोलन पनि शान्तिपूर्ण नै हुन्छन्। पछि आउने साथीहरूले पनि शान्तिपूर्ण आन्दोलन नै गर्नु हुनेछ। अहिले पनि हाम्रो अभियानसँग जोडिएका थुप्रै हुनुहुन्छ। उहाँहरूले थुप्रै किसिमले रचनात्मक सहयोग गरिरहनु भएको छ। म त अगाडि बोल्ने मात्रै हो। संघर्ष त उहाँहरूले पनि गरिराख्नु भएको छ नि।

अर्को कुरा हामीलाई मेडिकल माफियाहरूले विभिन्न खाले धम्की दिइरहेका हुन्छन्। तिनको हामीले वास्ता नै गर्दैनौं। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ। त्यस्ता धम्कीले हामीलाई झनै बलियो बनाउँछ। धम्की आउँदा झनै बलियो गरी लड्ने शक्ति प्राप्त भए झैँ लाग्छ।

म केही समय पहिले ओमन पुगेर तीन महिना सेवा गरेर आएँ। तर, यहाँ ओलीका अरिङ्गालहरूले सरकारको तर्फबाट गएको भनेर अपवाह फैलाए। तर, म आफ्नो खर्चले आफ्नो तर्फबाट गएको हो। यो बोल्नु पर्ने कुरा होइन। तर, सरकारले हामीले पठाएको भनेर समाचार नै प्रकाशन भएपछि बोल्न बाध्य भएको हुँ। मैले बीएन्डसीलाई सम्बन्धन दिन खोज्दा उतैबाट विज्ञप्ति जारी गर्दै विरोध जनाएको थिएँ।

म मेरा मागमा अडिग छु, इमान्दार भएर। मेरो इमान्दारिता डगमगाउने कुरै हुँदैन। फेरी पनि भन्न चाहन्छु देउवा सरकारले ओली प्रवृति नहो¥याओस्। हाम्रा माग सम्बोधन हुन्। राम्रा माग सम्बोधन गर्दा त्यसको जश सरकारले नै लिने हो। [यज्ञराज जोशीसँग कुराकानीमा आधारित] नेपाल समय

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech