१२ श्रावण २०८१, शनिबार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन, गठबन्धन–एमालेबीच भिडन्त
  • न्युज मानसराेवर

काठमाडौँ\ निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा रिक्त १९  पदका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । जसअनुसार मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए ।  उक्त निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन् ।

आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ । माघ १२ गते हुने निर्वाचनमा एमाले र सत्ता गठबन्धनबीच भिडन्त हुने भएको छ । चुनावमा जानका लागि गठबन्धनमा भागबण्डा भइसकेको छ भने सोही अनुसार माओवादी बाहेकका दलले उम्मेदवारको टुंगो लगाइसकेका छन् । यस्तै एमालेले पनि उम्मेदवारको टुंगो लगाइसकेको छ । सत्ता गठबन्धनका बीच तालमेल भएकाले एमालेलाई चुनावमा असर पर्ने बताइएको छ । राष्ट्रियसभा सदस्यको उम्मेदवार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख हुन्छन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । निर्वाचन चिह्न प्रदान भएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले योजना बनाएको छ ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech