१२ श्रावण २०८१, शनिबार

बाँकेमा फेरी बाघको आक्रमण

बाघले दिनहुँ आतंक मच्चाउन थालेपछि दुई वटा घरपालुवा हात्ती राप्तीपारी लगियो

  • न्युज मानसराेवर

बाँके\ जंगलमा बाख्रा चराउन गएका बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन शुक्रबार पाटेबाघको आक्रमणबाट जोगिन सफल भएका छन् । बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए । झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरेपनि उनी जोगिएका हुन् ।

‘बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुके, बाघको आक्रमणबाट म जोगिए, तर बाख्रालाई बचाउन सकिएन,’ उनले भने । शुक्रबार दिउँसो करिव ३ बजेतिर बाघले आफुलाई झम्टिने प्रयास गरेपनि बाँच्न सफल भएको पुनले बताए । प्रहरीका अनुसार बाघले पुनको एउटा बाख्रालाई मारेको छ । यस्तै तीन वटा बाख्रालाई घाइते बनाएको र तीन वटा बाख्रो फेला नपरेको ईलाका प्रहरी कार्यालय बैजापुर धामपुरका इन्चार्ज  मुकुन्द सिग्देलले जानकारी गराए ।

बाघले आक्रमण गर्दा बिहीबार मात्र  राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो ।

यसअघि बुधबार जंगलमा पात टिप्न गएको अवस्थामा राप्ती सोनारी ४ बैजापुरकै ३० वर्षकी दुर्गा थारुलाई पनि आक्रमण गरेको थियो । तर, प्रतिकार गरेर उनी बाँच्न सफल भएकी थिइन् । बाँकेमा तीन महिनाको अवधिमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

बाघले दिनहुँ आतंक मच्चाउन थालेपछि बाँके राष्ट्रिय निकुञ्जले दुई वटा घरपालुवा हात्ती शुक्रबार बेलुकी राप्तीपारी क्षेत्रमा लगेको छ । त्यहाँ केही दिनसम्म हात्तीलाई राखेर बाघको निगरानी बढाउने बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech