१२ श्रावण २०८१, शनिबार

लुम्बिनी : कोरोनाको संक्रमणदर तीव्र, नेतादेखि पत्रकारसम्म संक्रमित
  • न्युज मानसराेवर

बुटवल\ लुम्बिनी प्रदेशमा कोरोनाको तेस्रो लहर आक्रामक रुपमा फैलिन थालेको छ। राजनीतिक दलका नेतादेखि पत्रकार र स्वास्थ्यकर्मीसम्मलाई कोरोना संक्रमण देखा परेको छ। दुई दिनअघिसम्म १ हजार ५० जना सक्रिय संक्रमित भएकोमा हाल त्यो संख्या वृद्धि भएर १ हजार ७०६ मा पुगेको छ।

लुम्बिनी प्रदेशमा यसअघि दैनिक १०-१५ जनामा कोरोना संक्रमण देखिएकोमा तीन दिनयता यो संख्या ह्वात्तै बढेको छ। शुक्रबार राति एकै दिन ५०५ जना कोरोना संक्रमित भेटिएका छन्। यो संख्या दैनिक रुपमा सय जनाका दरले वृद्धि हुन थालेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ।

निर्देशनालयका अनुसार लुम्बिनीमा अहिले ६२ जना मात्रै अस्पताल भर्ना गरि उपचार गराईरहेका छन्। बाँकी सबै होमआइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। लुम्बिनीमा ४१ जना एचडीयू, १५ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन्।

अस्पतालहरुका अनुसार अहिले सय जनाको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। एक सातायता दैनिक रुपमा पीसीआर परीक्षण गर्नेहरुको संख्या वृद्धि हुन थालेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले बताए।

उनका अनुसार कोरोना संक्रमितहरुको संख्या वृद्धि भए पनि अस्पताल भर्ना गर्नुपर्ने र अक्सिजनको आवश्यकता पर्ने बिरामीमा लक्षण देखा परेको छैन। ‘संक्रमितहरुको संख्या बढेको छ, तर गम्भीर अवस्था देखिएको छैन,’ उनले भने। लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले ८ जना मात्रै बिरामी उपचाररत छन्।

नेता र पत्रकारलाई संक्रमण

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलन थालेपछि पोखरेललाई कोरोना संक्रमण भएको हो। पोखरेलले सामाजिक सञ्‍जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण देखा परेको भन्दै निर्धारित सबै कार्यक्रम स्थगित गरेको जनाएका छन।

नेकपा एमालेका उपाध्यक्ष एंव रुपन्देही क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। पौडेलले पनि सामाजिकसञ्‍जालमार्फत आफूलाई कोभिड भएको भन्दै सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरेका छन्।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सचिव राजु गुरुङ कोरोना संक्रमति भएपछि आइसोलेसनमा बसेका छन्।

पत्रकार लक्ष्मण पौडेलले पनि कोरोना संक्रमण भएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई पीसीआर परीक्षण गरेर ढुक्क हुन अपिल गरेका छन्। त्यस्तै अर्का पत्रकार शरण कर्माचार्यले पनि तेस्रो लहरले आफूलाई संक्रमण गरेकाले सचेत रहन सामाजिक सञ्जाल मार्फत सहकर्मीहरुलाई सुझाएका छन्।

लुम्बिनी प्रदेशमा कोरोनाको तेस्रो लहरबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ। ‘ओमिक्रोन भेरियन्टको संक्रमणदर चारगुणा बढी छ। त्यसैले दैनिक संक्रमणदर बढिरहेको छ,’ लुम्बिनी प्रादेशिक अस्पताल कोभिड फोकल पर्सन वरिष्ठ फिजिशियन डा. नन्दु पाठकले भने। उनका अनुसार अहिले प्रत्येक १० जनामा १ जना संक्रमित भेटिएका छन्। ‘संक्रमण हुँदैमा आत्तिनुपर्दैन, खोप लगाएकाहरुलाई पनि संक्रमण भएको भेटिएको छ। तर, यसले असहज अवस्था बनाएको छैन, लक्षण देखिनासाथ परीक्षण गर्ने र आइसोलेशन हुन आग्रह छ,’ उनले भने। एउटा मात्रै भए पनि कोरोना खोप लगाएकाहरुलाई यसले असर नगरेको डा. पाठकको भनाई छ।

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech