१२ श्रावण २०८१, शनिबार

घोराही कारागारबाट भागेका कैदी भारतीय सिमाबाट पक्राउ
  • न्युज मानसराेवर

बाँके\ दाङको घोराही कारागारबाट फरार भएका कैदी नाईकेलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ८ गते कारागारबाट कैदी नाईके यमराज परियार भागेका थिए । उनलाई प्रहरीले बाँकेस्थित नेपाल भारत सीमा क्षेत्र जमुनाहा नाकाबाट नियन्त्रणमा लिएको हो । प्रहरीले परियारलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
परियार गत पुस ८ गते बिरामी भएको नाटक गरी कारागारबाट निस्केका थिए। उनलाई उपचारका लागि भन्दै प्रहरीले नै मोटरसाईकलमा राखेर अस्पताल पुर्‍याउन भनि लिएर गएका थिए। परियार त्यसैक्रममा प्रहरीको मोटरसाईकल लिएर भागेका थिए।
एक महिनाअघि भागेका परियारको खोजी गरेपनि प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको थिएन। बाँकेको जमुनाहा नाकाबाट सोमबार उनलाई नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार परियार सोही नाकाबाट भारत भाग्दै थिए। एसपी काफ्लेले यसलाई प्रहरीको ठूलो सफलता भएको बताए । उनले भने, ‘जमुनाहा नाकाबाट भारत प्रवेश गर्न थालेको सूचना पाएपछि नाका केन्द्रित खोजतलासका क्रममा परियारलाई जमुनाहा नाकाबाट नियन्त्रणमा लिएका हौँ, यो प्रहरीको ठूलो सफलता हो।’
परियारको खोजीका लागि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालको संयोजकत्वमा टास्कफोर्स निर्माण गरिएको थियो। यो फोर्सले भारतीय सीमा प्रहरीसंगको समन्वयका आधारमा परियारलाई नाकाबाट नियन्त्रणमा लिन सफल भएको एसपी काफ्लेले जानकारी दिए। ‘हामीहरुले भारतीय प्रहरीसंगको समन्वयका आधारमा पनि परियारलाई नियन्त्रणमा लिन सफल भयौँ,’ उनले भने, ‘यसर्थ परियारलाई नियनत्रणमा लिन भारतीय प्रहरीको पनि ठूलो सहयोग छ।’
पक्राउ परेका परियारलाई अदालतमा पेश गर्ने र कारागार ऐन अन्तर्गत कारबाहीका लागि सिफारिस गरिने छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी काफ्लेका अनुसार कारागार ऐन अन्तर्गत भगौडा परियारलाई पहिला भुक्तान हुन बाँकी कैदको डेढ गुणा बढी थप कैद सजाय हुनेछ। ‘कारागार ऐनले कैदीहरु भागेको खण्डमा उनीहरुको कैद भुक्तान हुन बाँकी कैदको डेढ गुणा कैद सजाय थप हुने व्यवस्था छ,’ काफ्लेले भने, ‘परियारलाई पनि अब हामी सोही अनुसारको मुद्दा चलाउछौँ।’
ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई २०७२ भदौ १६ गतेदेखि परियारले कैद भुक्तान गरिरहेका थिए। उनले आफ्नै प्रेमिकाको हत्या गरेको मुद्दामा अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो।  ७ वर्ष कैद भुक्तान गरेका उनी गत पुस ८ गते भागेका थिए। छालाको उपचार गर्न भनि कारागारबाट निस्केका उनले आफूसंग मोटरसाईकलमा रहेका प्रहरी जवान धनबहादुर चौधरीको मोटरसाईकल लिएर भागेका थिए।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech