१२ श्रावण २०८१, शनिबार

सामुदायिक विद्यालयमा पालिकाका शिक्षक
  • न्युज मानसराेवर

बाँके\ बाँकेको राप्तीसोनारी गाउँपालिका–२, टिकुलीपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । अंग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि पहिलाको अनुपातमा विद्यार्थी बढेका छन् । कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि बोर्डिङका विद्यार्थी पनि भर्ना हुन थालेका छन् ।

‘यो शैक्षिक सत्रमा मात्रै संस्थागत विद्यालयका २५ जना विद्यार्थी थपिए,’ विद्यालयका प्रधानाध्यापक अलबहादुर बुढाले भने । चार जनाको दरबन्दी रहेको सो विद्यालयमा राहतमा २ र गाउँपालिकाले अनुदानमा दिएका ३ शिक्षकले पढाउँछन् । जहाँ २ सय ५ जना विद्यार्थी छन् ।

दुई वर्षयता सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । राप्तीसोनारी–४ स्थित बैजापुरको जनशक्ति माविमा ८ सय बढी विद्यार्थी छन् । ‘पहिला विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या थियो । सरकारको एउटा पनि दरबन्दी छैन,’ प्रधानाध्यापक प्रमोदकुमार यादवले भने, ‘विद्यार्थीको संख्या धेरै भए पनि कक्षाकोठाको क्षमताले पुग्दैन । एउटा बेन्चमा सात जनासम्म विद्यार्थी राखेर पढाइरहेका छौं ।’ राप्तीसोनारीका सबैजसो सामुदायिक विद्यालयमा विद्यार्थी संख्या उल्लेख्य छ ।

जनसंख्याका हिसाबले बाँकेकै सबैभन्दा ठूलो गाउँपालिका मानिने राप्तीसोनारीमा यसअघि विद्यार्थी धेरै र शिक्षक दरबन्दी थोरै हुँदा पठनपाठनमा समस्या हुँदै आएको थियो । विगत दुई वर्षमा गाउँपालिकाले १ सय ३९ जना शिक्षकलाई सेवा सुविधा दिएर नियुक्त गरेपछि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ । सामुदायिक विद्यालयबीच नै प्रतिस्पर्धा भइरहेको सरस्वती मावि भवनियाँपुरका सहायक प्रधानाध्यापक पुष्पलाल चौधरीले बताए । ‘सुधार र गुणस्तर बढाउन प्रतिस्पर्धा जरुरी छ । केही नयाँ प्रयोग गर्न विद्यालयमा कम्प्युटर पनि राखेका छौं,’ प्रअ चौधरीले भने, ‘विद्यालयमा पढाइको गुणस्तर बढाउन निजी खर्चमा ट्रेनर बोलाएर शिक्षकहरूलाई तालिमको व्यवस्था गरेका छौं ।’

अहिले धेरैजसो संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयतिर आकर्षित भएको देखिन्छ । यसअघि कक्षा ५ सम्म संस्थागत विद्यालयमा पढेका सुनिल विक हाल जनशक्ति माविमा पढिरहेका छन् । ‘सरकारी विद्यालयभन्दा बोर्डिङमा पढाइ राम्रो हुन्छ भन्ने छैन । पढ्ने विद्यार्थीका लागि विद्यालयले फरक पार्दैन,’ विकले भने, ‘तर, विद्यार्थीको चाहनाअनुरूप पढाइको गुणस्तर बढ्यो भने सरकारी विद्यालय पनि कम छैनन् ।’ राप्तीसोनारी–३ भवनियाँपुरकी लक्ष्मी चौधरीले ८ र ११ वर्षका आफ्ना दुई छोरालाई पनि नजिकै रहेको सामुदायिक विद्यालयमा भर्ना गरेको बताइन् । ‘पढाइ पनि राम्रो र शुल्क पनि कम भएपछि निजीमा पढाउनुपर्छ भन्ने केही छैन,’ उनले भनिन्, ‘जहाँ भए पनि राम्रो पढाइ हुनु पर्‍यो । पढ्नेलाई बोर्डिङ र सरकारी स्कुलले फरक पार्दैन ।’

सामुदायिक विद्यालयमा आकर्षण बढ्दै गएपछि सामुदायिक विद्यालयका बीचमा नै प्रतिस्पर्धा भइरहेको छ । राप्तीसोनारीका कतिपय संस्थागत विद्यालयले न्यून शुल्कमा विद्यार्थी भर्ना लिन बाध्य भएका छन् । ‘अहिले सामुदायिक विद्यालयमा पढाइको गुणस्तर बढेपछि विद्यार्थीको आकर्षण बढेको देखिएको छ,’ राप्तीसोनारी–५ चिलहरियास्थित चिल्ड्रेन प्याराडाइज स्कुलका सञ्चालक रामसागर चौधरीले भने, ‘सामुदायिक विद्यालयबीच नै प्रतिस्पर्धा बढेपछि बाध्य भएर शुल्क कम लिएर भए पनि विद्यालय सञ्चालन गर्न बाध्य छौं ।’

स्कुल बसको व्यवस्था हुनुका साथै संघीय ससर्त कार्यक्रमअन्तर्गत नियमित छात्रवृत्ति र दिवा खाजाको कार्यक्रमले विद्यार्थीलाई थप आकर्षित गरेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपानेले बताए । ‘मुख्य कारण शिक्षक दरबन्दीको समस्याले पढाइ प्रभावित भएको थियो । त्यही समस्याको सम्बोधन गर्‍यौं,’ उनले भने, ‘विभिन्न तहका १८ जना शिक्षा तथा मानव श्रोत विकास केन्द्रको अनुदान कोटामा र १ सय ३९ जना शिक्षकलाई गाउँपालिकाको आन्तरिक स्रोतबाट पारिश्रमिक दिइरहेका छौं ।’ इकान्तिपुर

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech