१२ श्रावण २०८१, शनिबार

गौडेल समुहका उम्मेदवार घरदैलोमा ब्यस्त
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले प्रचार-प्रसारलाई तिब्रता दिएको छ । उक्त समुहले कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेस्थित जिल्ला तहको निर्वाचनका लागि आफ्नो प्रचार तिब्र पारेको हो ।

१४ औं महाधिवेशन अन्तरगत वडादेखी क्षेत्र तथा प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न भएपनि बाँकेसहित १६ जिल्लाको निर्वाचन हुन सकेको छैन । यसअघि दुई पटकसम्म तोकिएको निर्वाचन नगरेर कांग्रेस केन्द्रीय निर्वाचन समितिले पछिल्लो समयमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरेको थियो ।

सभापतिका उम्मेदवार गौडेल, उप-सभापति पदका गोपालप्रसाद अधिकारी, सचिवका उम्मेदवार सुधांशु कोइराला, सह-सचिव पदका उम्मेदवारद्धय रेणु सिंह ठाकुर र विश्वराज लम्साल लगायत उम्मेदवारले शनिबार मतदातालाई भेटघाट गरेका हुन् ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर १, २ र ६ तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का मतदातालाई भेटघाट गरेको सभापति पदका उम्मेदवार गौडेलले जानकारी दिए । भेटघाटका क्रममा मतदाताले आफुहरुलाई जितका लागि अग्रिम शुभकामना दिएको उनले बताए । ‘हामी जुन जुन ठाउँमा पुग्यौ, त्यहाँ मतदाताले धेरै राम्रो रेसपोन्स गर्नुभयो, हामीलाई जितका लागि अग्रिम शुभकामना पनि दिनुभयो,’ गौडेलले भने ।

संस्थापन इतर(शेखर कोइराला) पक्षका गौडेल समुहले प्रचार प्रसार गरिरहँदा संस्थापन(शेरबहादुर देउवा) पक्षले भने आफ्नो प्यानल अझै बनाउन सकेको छैन । संस्थापन पक्षभित्रका आकांक्षीहरुले एकले अर्कालाई स्वीकार गर्न सकेका छैनन् । उक्त पक्षबाट सभापति पदका लागि करिव आधा दर्जन आकांक्षी छन् ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech