बाँके\ बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी भएको छ ।
यी दुई निकुञ्जमा गणनाका लागि राखिएका १७ वटा क्यामेरा चोरी तथा ६ वटा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रवीन कडरियाले जानकारी दिए ।
बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ ।
उनका अनुसार एक नम्बर ब्लकमा ९ , दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ वटा क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ ।
एउटा क्यामेराको मूल्य ४० हजार रूपैयाँ पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने उनले जानकारी दिए ।
निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चोरी शिकारीले क्यामेरा चोरी गर्ने गरेको उनको भनाइ छ । अहिलेसम्म पहिलो र दोस्रो नम्बर ब्लकको काम सकिएको छ भने तेस्रो र चौथो नम्बर ब्लकमा काम भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत मंसिर २९ गतेबाट बर्दिया र बाँकेका लागि बाघ गणना कार्य शुरू गरेको थियो ।
बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए । लोकान्तर











