१६ चैत्र २०८०, शुक्रबार

प्रहरी नियन्त्रणमा मृत्यु प्रकारण : मृतकका आफन्तले दिए किटानी जाहेरी
  • न्युज मानसराेवर

नरैनापुर (बाँके) :  बाँकेको नरैनापुरमा प्रहरी नियन्त्रणमा रहेका नरैनापुर–५ मटेहियाका ३५ वर्षिय रामपाल यादवको मृत्युको विषयमा विषेश अनुसन्धान गरी दोषिलाई कारवाही गर्ने सहमति भएको छ । प्रहरीले किटानी जाहेरी दर्ता गरी अनुसंन्धान सुरु गरेको जनाएको छ ।

मृतक यादवलाई बलात्कारको आरोपमा प्रहरीले ४ गते विहान १ बजे नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका यादवको ४ गते दिउसो २ बजे भेरी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

मृतककी आमा मनका यादवले शौच गर्न गएको छोरा लामो समयपछि घरमा आउदा घाइते अवस्थामा आएको बताईन । उनले छोरा घरमा आएको केही बेरमै प्रहरीसहित गाउका मुन्सी यादवलगायतका व्यक्तिहरु आएर नियन्त्रणमा लिएर गएको बताईन ।

उनले प्रहरीले नियन्त्रणमा लिएर गएपछि छोरालाई कुटेर घाइते बनाएको आरोप लगाईन । उनले घाइते अवस्थाको छोरालाई उपचार नगरेको आरोप समेत लगाईन । ‘छोराले अपराधै गरेको भए पनि कुटेर मार्नु त हुदैन होलानी’–उनले अधिकारकर्मीसंग रुदै भनिन ।

ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर सुनारले मृतक यादवले मटेहियाकी ७० वर्षिय बृद्धा महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर आएको बताए । उनले प्रहरी नियन्त्रणमा रहेको यादवलाई मेडिकल गर्न लक्षमणपुर स्वास्थ्य केन्द्रमा लगेको अवस्था सामान्य रहेको बताएपछि ईप्रका ल्याईएको जानकारी दिए ।

प्रहरी कार्यालयमा ल्याएपछि भेट्न पुगेकी आमालाई मृतकले प्रहरी सहित चार जनाले कुटेको र आफु अन्तिम अवस्थामा पुगेको बताएको पत्रकार र अधिकारकर्मीलाई बताएकी थिईन । प्रहरी निरिक्षक सुनारले आरोपी मृतक यादवलाई स्थानीयले लखेट्ने क्रममा भित्रि चोट लागेको हुनसक्ने बताउदै प्रहरीले कुटपिट नगरेको दाबी गरे । प्रहरीले यादव गम्भीर भएपछि मात्र भेरी अस्पतालमा उपचारको लागि पुराएको र उपचारको क्रममा यादवको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले प्रहरी नियन्त्रणमा रहेका यादवको मृत्युको विषयमा मृतकको परिवारले किटानी जाहेरी दिएको र त्यसका बारेमा आबश्यक अनुसन्धान सुरु गरिएको बताए । उनले भने–‘ हामी गहन अनुसंन्धान गर्ने छौ । किटानी जाहेरी आएको छ ।’

प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि मृतकको शव पोष्टमार्टम गरी अन्तिम संस्कारको लागि नरैनापुर लगिने भएको छ ।

 

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech