१३ बैशाख २०८१, बिहीबार

आफैंसँग हारेका गुरुलाई काँधमा बोकेर वडाध्यक्षले मनाए खुशी
  • न्युज मानसराेवर

बाँके\ चुनाव जितिसकेपछि एउटा उम्मेदवारले के गर्ला ? पक्कै पनि आफ्ना समर्थकहरूमाझ खुशी साट्छ, विजय जुलुस गर्छ ।

तर, हेटौंडामा भने विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई काँधमा बोकेर विजय जुलुस गरेका छन् ।

हेटौंडा–५ मा विजयी भएका एमालेका सुशील घिमिरेले आफ्ना प्रतिस्पर्धी कांग्रेसका ह्यग्रीव आचार्यबाट आशीर्वाद लिँदै काँधमा राखेर विजय जुलुस गरेका हुन् ।

वास्तवमा यी दुई गुरुचेला हुन् । घिमिरेका शिक्षक हुन् आचार्य ।

बालज्योति माविमा प्राथमिक तहमा घिमिरेलाई उनै आचार्यले पढाएका थिए ।

आफ्ना गुरुसँग चुनावी प्रतिस्पर्धाका क्रममा पनि घिमिरेले सौहार्दपूर्ण प्रस्तुत गरेका थिए । चुनावी अभियानका क्रममा घरदैलोमा आउँदा सुशीलले आफ्ना गुरुलाई दही सगुन खुवाएर शुभकामना दिएका थिए ।

ह्यग्रीव आचार्यको उम्मेदवारी घोषणाभन्दा अगाडि नै सुशील वडाध्यक्षको उम्मेदवार निश्चित भइसकेका थिए । आफ्नै चेलासँग प्रतिस्पर्धा गर्नुपर्दा आचार्यले असहज महसुस गरे पनि आफूहरूबीच सौहार्द वातावरण हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका सुशीलले देशका लागि पदक जितेर केही वर्ष वैदेशिक रोजगारीमा थिए । वैदेशिक रोजगारीबाट फर्किएपछि सुशीलले वडामा सामाजिक सेवाका काम गर्दै आएका थिए ।

सुशीलकै अग्रसरतामा बहुउद्देश्यीय कभर्डहलदेखि पिप्ले क्याम्पा रंगशालासमेत निर्माण भएपछि नेकपा एमालेले हेटौंडा वडा नम्बर ५ मा उनको नेतृत्वमा सदस्यहरू ज्ञानबहादुर थापा, रामबहादुर राई, रञ्जिता सिलवाल, भगवती बिकको प्यानल बनाएको थियो ।

आइतवास सार्वजनिक अन्तिम मतपरिणाममा घिमिरेले २५३० मत पाए भने आचार्यले १३९० मत पाए । शिष्यले गुरूलाई ११४० मतान्तरमा जिते ।

वडाध्यक्षमा विजयी भएपछि विजय र्‍याली हेटौडा–२ स्थित सिद्धार्थ माविमा भएको मतगणनास्थलबाट निस्क्यो ।

मतगणना स्थलबाट सानपोखरा हुँदै पिप्लेमा रहेको गुरू आचार्यको घरमा पुगेर एकछिन रोकियो । आफ्नो घरमा घिमिरेलाई आचार्यले टीका लगाउँदै सफल कार्यकालको शुभकामना दिए ।

गुरु आचार्य शुभकामना दिँदै भने, ‘सुशील मेरो चेला हो, उसले हाम्रो वडाको लागि राम्रो काम गर्छ, म ढुक्क छु ।’

उनले आफूलाई उछिनेर आफ्नै चेला विजयी भएकोमा पनि खुशी व्यक्त गरे । लगत्तै सुशीलले गुरुलाई काँधमा बोके ।

चेलाप्रतिको माया र गुरुप्रतिको सम्मान देखेर विजय जुलुसमा आएका कार्यकर्ताले पर्रर ताली पिटे, हुटिङसमेत गरे ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech