१४ बैशाख २०८१, शुक्रबार

पर्यटनमा भुटानबाट सिक्नुपर्ने पाठ
  • न्युज मानसराेवर

नेपालको समग्र पर्यटन उद्योगको कुरो गर्दा अहिलेको अवस्थामा सकेसम्म धेरैभन्दा धेरै विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउने वातावरण बनाउनु र उनीहरूलाई नेपाल भ्रमण गर्न आकर्षित गर्नु हो । हामीलाई गुणस्तरीय विदेशी पर्यटकमात्रै चाहिन्छ भन्ने समय होइन ।

कहिलेदेखि हाम्रो देश नेपालमा भित्रिने वा भित्र्याइने विदेशी पर्यटक खर्चालु होऊन् अथवा डिलक्स र लक्जरी होऊन् भनी छलफल र बहस चलाउने त ? हामीले त्यस सम्बन्धमा पनि विस्तारै बहस र छलफल चलाउने बेलाचाहिँ भएको छ ।

गुणस्तरीय पर्यटनको कुरो गर्दा सार्क राष्ट्रको भुटानको पर्यटन नीतिबारे धेरथोर लेख्नैपर्ने हुन्छ । भुटान जनसंख्या र भूगोल दुवै आधारमा हेर्दा नेपालभन्दा धेरै सानो हो । भूगोल र जनसंख्यामा सानो देश भए तापनि भुटानबाट हामीले विदेशी पर्यटन प्रवर्द्धनका सन्दर्भमा धेरै ठूलो र महत्त्वपूर्ण कुरा सिक्नुपर्छ । भुटान र नेपाल दुवै देश हिमाली र भूपरिवेष्टित देश हुन् । विगत लामो समयदेखि भुटानले गुणस्तरीय विदेशी पर्यटक मात्रै भित्र्याउने स्पष्ट नीति लिएको देखिन्छ । नेपालले पनि तत्कालका लागि नभए पनि भविष्यमा केकस्तो खालको पर्यटन नीति, नियम, ऐन, कानून आदि बनाउँदा गुणस्तरीय विदेशी पर्यटक धेरैभन्दा धेरै भित्र्याउन सकिन्छ भन्ने सन्दर्भमा भुटानबाट धेरै सिक्नसक्छ ।

भुटान सरकारले आफ्नो देशमा केवल विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वार–ह्वार्ती प्रवेशाज्ञा दिँदैन । यसले देखाउँछ भुटान सरकारको ध्यान आफ्नो देशमा आउने विदेशी पर्यटकको संख्या थोरै नै होस्, तर, ती विदेशी पर्यटक गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्न सक्ने लक्जरी/डिलक्स) नै होस्, भन्नेतर्फ ध्यान दिएको छ ।

भुटान सरकारको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी) ले प्रकाशित गरेको भुटान सरकारको पर्यटनसम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने कुनै पनि विदेशी पर्यटकले भुटान छिर्नेबित्तिकै कम्तीमा प्रतिव्यक्ति दैनिक २ सय अमेरिकी डलर खर्च गर्नैपर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, साइट सिन, जंगल सफारी, कल्चरल टुर, साइक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रतिव्यक्ति प्रतिदिन खर्चको सीमा तोकिदिएको छ ।

यसअनुसार अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रुअरी, जुन, जुलाई, अगस्ट र डिसेम्बर) मा प्रतिव्यक्ति प्रतिदिन २ सय अमेरिकी डलरमा प्याकेज बुक गर्नुपर्छ । पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रतिव्यक्ति प्रतिदिन २ सय ५० अमेरिकी डलरमा बुक गर्नुपर्छ । कुनै पनि विदेशी पर्यटक भुटानमा रहँदा तीनतारे होटेलमा बस्नुपर्छ । अन्यथा चारतारे वा पाँचतारे होटेलमा बस्ने हो भने त्यस्ता विदेशी पर्यटकले अतिरिक्त प्रिमियम तिर्नुपर्ने भनी टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको छ । भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीनजनाको समूह हुनैपर्ने नियम छ ।

भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकबाट लिने दैनिक २ सय र २ सय ५० अमेरिकी डलरमध्ये ६५ अमेरिकी डलर ‘दिगो विकासका लागि पर्यटन’ कार्यक्रमका लागि ट्रेकिङ/ट्राभल अपरेटरहरूबाट कटौती गर्छ । त्यसरी छुट्ट्याइएको रकम भुटानी जनताका लागि नि:शुल्क शिक्षा, स्वास्थ्य, गरीबी निवारण, ग्रामीण विकास आदिका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । विदेशी पर्यटक भुटान रहुन्जेल सबै खर्चबर्च (व्यक्तिगत आवश्यकताबाहेक) ट्रेकिङ/ट्राभल कम्पनीले बेहोर्छ ।

भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छूटहरू पनि दिएको देखिन्छ । केही उदाहरण हेरौं । जस्तो, ५ वर्षभन्दा कम उमेरको लालाबाला पर्यटक भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै लिन्छ । बाँकी सम्पूर्ण खर्च नि:शुल्क दिन्छ, त्यस्ता लालाबाला पर्यटकलाई ।

त्यस्तै ५ देखि १२ वर्ष उमेर समूहको केटाकेटी पर्यटक भए डेली प्याकेजमा ५० प्रतिशत छूट दिन्छ एवम् प्रकारले विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको पर्यटक भए डेली प्याकेजमा २५ प्रतिशत छूट दिन्छ । ११ जनाको समूह पर्यटक भए डेली प्याकेजमा एकजना पर्यटकलाई ५० प्रतिशत छूट दिन्छ भने १६ जनाभन्दा माथिको पर्यटक समूह भए डेली प्याकेजमा एकजनालाई शतप्रतिशत छूट दिन्छ ।

साथै कुनै पनि पर्यटकले भुटानमा ८ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टी दस्तुरमा ५० प्रतिशत छूट दिन्छ भने १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई शतप्रतिशत रोयल्टी दस्तुरमा छूट दिन्छ । यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा लिन मात्रै पैसा नलिएर भुटान सरकारले आफ्नो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकलाई विभिन्न सेवासुविधा पनि दिएको देखिन्छ ।

अर्को रोचक कुरो के छ भने, भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ५८ दशमलव ७६ प्रतिशत ट्राभल/टुर अपरेटरमार्फत पहिले नै बुक भएर आउने गरेका छन् । त्यस्तै भुटान आएका विदेशी पर्यटकमध्ये ८३ दशमलव ८४ प्रतिशतको उद्देश्य बिदा मनाउने रहेको देखिन्छ । तर, नेपाल वा अन्य देशमा जस्तो भुटानमा विदेशी पर्यटक विनागाइड आफूखुशी हिँड्न पाउँदैनन् ।

नेपालमा पनि यस्तो व्यवस्था लागू गरे कस्तो हुँदो हो ? सम्भवत: नेपाल आउने विदेशी पर्यटक ८०/८५ प्रतिशतले नै घट्दो हो ? अझ त्यसमाथि नेपालमा पनि विदेशी पर्यटकले गर्ने दैनिक खर्चको सीमा तोकिएमा के हुँदो हो ? विनागाइड हिँड्न ट्रेकिङ जान नपाइने नियम लागु गरे पर्यटन निकै घट्न सक्छन् ।त्यसो त भुटान जाने ३०/३५ प्रतिशत विदेशी पर्यटक नेपालको बाटो भएर जाने गरेका छन् । जस्तो उदाहरणका लागि भन्नु पर्दा सन् २०१३ मा भुटान भ्रमणमा गएका १ लाख ६० हजार विदेशी पर्यटकमध्ये ३६ हजार विदेशी पर्यटक नेपालको बाटो भएर भुटान गएका थिए । लेखक पर्यटनकर्मी हुन् ।

  • २६ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech