१५ बैशाख २०८१, शनिबार

वामपन्थी एकताबारे बुटवलमा बहस
  • न्युज मानसराेवर

बुुटवल\नेपालमा कम्युनिष्ट पार्टीबीच फुटको शृंखला चलिरहेको बेला बुटवलमा वामपन्थी एकताका बारेमा बहस सुरु भएको छ। वाम युुवा मोर्चा बुुटवलले शनिबार नेपाली कम्युनिष्ट आन्दोलन एकता र अबको बाटोका विषयमा छलफल गराउँदै कम्युनिष्ट पार्टीहरुमा देखा परेको वैचारिक, राजनीतिक र सैद्धातिक विचलनका बारेमा बहस थालेको हो।

बहसमा नेपालमा कम्युनिष्टहरु विभिन्न कारणले छिन्नभिन्न हुँदा मुलुकको विकास, सामाजिक रुपान्तरण र संविधानमा लेखिएको समाजवाद उन्मुख समाज निर्माणको संकल्प पूूरा नहुनेतर्फ केन्द्रित भएको बताएका छन्। बहसमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूूर्वमन्त्री बैजनाथ चौधरीले कम्युनिष्ट पार्टीहरुबीचको एकताले मात्रै समाजवाद ल्याउन सम्भव हुने बताउँदै सैद्धान्तिक रुपमा वामपन्थी एकताको पक्षमा आफू रहेको बताए।

उनले अबको वामपन्थी शक्तिहरुको एकता व्यक्तिको पद र सत्ता स्वार्थलाई हेरेर गर्न नहुने तर्फ संकेत गर्दै ०७४ मा नेकपा एमाले र माओवादी एकता सत्ता स्वार्थका लागि गरिएको स्मरण गरे। ‘कार्यकर्तालाई गुमराहमा राखेर केपी ओली र प्रचण्डलाई प्रधानमन्त्री बनाउन एकता गरिएको रहेछ, त्यो कुरा प्रधानमन्त्री हुन नपाएपछि थाहा भयो,’ नेता चौधरीले भने, ‘त्यसैले २–४ जनाको व्यवस्थापनका लागि एकता गर्नुको कुनै औचित्य छैन।’

उनले आर्थिक सामाजिक रुपान्तरणका लागि कम्युनिष्टहरुमा रुपान्तरण आवश्यक रहेको बताउँदै युवा शक्तिले वाम एकता र अबको बाटोका बारेमा चिन्तन छलफल गर्न जरुरी रहेको बताए। उनले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी हुनुले दलहरुको असक्षमता प्रमाणित भएको बताए। उनले कम्युनिष्टहरुको एकताका लागि अब एमाले भित्रका युवाहरुलाई बोल्न अपिल समेत गरे।

कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले विश्वमै कम्युनिष्टहरु वैचारिक–राजनीतिक रुपमा रक्षात्मक अवस्थामा रहेको स्मरण गर्दै अब मार्गदर्शन सहितको एकता आवश्यक रहेको बताए। उनले वैचारिक धरातलमा टेकेर मात्रै कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने बताउँदै कसैलाई पदमा पुर्याउनका लागि गरिने एकताको औचित्य नभएको बताए। उनले अहिले आफ्नै पार्टीका नेता पनि आफ्नो जस्तो लाग्न छोडेको बताउँदै बौद्धिक वर्ग विचार विहीन, विवेकहिन बन्न थालेको बताए।

नेताले आफ्नो मनगढन्ते कुरा गर्ने बताउँदै नेपालका बुद्धिजिविहरुले स्वतन्त्र रुपमा विचार दिन नसकेको मन्त्री बरालको भनाइ छ। उनले मार्क्सवादी विचार र कम्युनिष्ट विचारलाई जनतासँग जोडेर अगाडि बढ्नुपर्ने बताए। ‘कुनै व्यक्तिलाई मुख्यमन्त्री वा प्रधानमन्त्री बनाउनका लागि एकता गर्नुको अर्थ छैन,’ बरालले भने, ‘दीर्घकानमा वाम एकताको खाँचो छ, त्यसको लागि निरन्तर बहस जरुरी छ।’

बहसमा अध्येता तथा विश्लेषक रामचन्द्र श्रेष्ठले नेपालका कम्युनिष्ट पार्टीहरुमा नवधनाढ्यहरुले केन्द्रीय कमिटी ‘हाइज्याक’ गरेकाले त्यहाँ संगठनका बारेमा विचार बहस हुन छाडेको बताए। उनले कम्युनिष्ट पार्टीको महाधिवेशनमा समेत खल्तीबाट प्रतिवेदन निकाल्ने र त्यही पारित गर्नुपर्ने अवस्थाले नेपालका कम्युनिष्टहरुमा कम्युनिष्टको चरित्र नभएको बताए।

‘आफूूलाई कम्युनिष्ट भन्ने पार्टीका नेताहरुले उत्पादनलाई राष्ट्रियकरण गर्ने, निजी सम्पत्तिको अन्त्य गर्छौं भन्नै छाडे। यतिसम्म कि शब्दसम्म उच्चारण गर्दैनन्,’ श्रेष्ठको प्रश्न छ। उनले नेपालका कम्युनिष्ट पार्टीहरुको फुट सबै गलत र एकता सबै सहि नभएको बताउँदै अबको एकता कार्यक्रमिक हुनुपर्ने बताए। उनले कम्युनिष्ट आन्दोलनको रुपान्तरण सहितको एकता जरुरी रहेको बताए। ‘पार्टीभित्र विचारको घर्षण हुनुपर्छ, घन्टौं बहस छलफल हुनुपर्छ, त्यसैले पार्टीमा रुपान्तरण र क्रान्तिकारी ध्रुवीकरणले मात्रै वाम एकताको सान्दर्भिकता हुन्छ,’ उनले भने।

  • ४ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech