११ बैशाख २०८१, मंगलवार

लुम्बिनी प्रदेशभर ३२ प्रतिशत रोपाइँ
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा करिब ३२ प्रतिशत खेतमा रोपाइँ भएको छ। मध्यअसारसम्म ३२.७१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। लुम्बिनीमा गत वर्ष मध्यअसारसम्म करिब ४६ प्रतिशत रोपाइँ भएको थियो। लुम्बिनीमा धान रोपाइँ हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०.८६ हेक्टरमा धान रोपाइँ सकिएको छ।

लुम्बिनीमा यो वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत रोपाइँ सकिएको मन्त्रालयका सूचना अधिकारी शालिकराम गौतमले जानकारी दिए। बाँकेमा सबैभन्दा कम १३ प्रतिशत मात्र धान रोपाइँ भएको उनले बताए।

यस्तै, नवलपरासीमा धान रोपाइँ हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमा रोपाइँ सकिएको हो। बाँकेमा रोपाइँ हुने ३६ हजार ५०० हेक्टरमध्ये ४ हजार ७४५ हेक्टरमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा १७ प्रतिशत धान रोपाइँ भएको छ। कपिलवस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टरमध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टरमा रोपाइँ सकिएको गौतमले बताए।

दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाइँ सकिएको छ। दाङमा कुल धान रोपाइँ हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ४११ हेक्टरमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७६.६८ हेक्टरमा रोपाइँ सकिएको छ। अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशत धान रोपाइँ भएको छ। गुल्मीमा २७ र पाल्पामा ३५ प्रतिशत रोपाइँ सकिएको छ।

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech