बाँके\ बाँकेका आठ स्थानीय तहमा ४५ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख खर्चको लेखा परीक्षण गर्दा ४५ करोड ४० लाख रुपैयाँ बेरुजु देखिएको हो ।
सबैभन्दा बढी बेरुजु जानकी गाउँपालिकाको ६.२० प्रतिशत छ । नेपालगन्ज उपमहानगरको बेरुजु १.२५ प्रतिशत छ । राप्तीसोनारीको ३.६९, कोहलपुरको ३.७१, खजुराको २.८१, जानकीको ६.२०, डुडुवाको ४.३७, बैजनाथको २.९५ र नरैनापुरको १.८५ प्रतिशत बेरुजु छ । नरैनापुरमा सबैभन्दा कम बेरुजु देखिएको छ ।
नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जनप्रतिनिधिहरूको सहयोगका कारण बेरुजु कम गर्न सफल भएको बताए । महालेखाले अघिल्लो आर्थिक वर्ष ०७६/०७७ को प्रतिवेदन सार्वजनिक गर्दा बाँकेका कोहलपुर नगरपालिका, राप्तीसोनारी, खजुरा र जानकी गाउँपालिकाले कोरोनालगायतको कारण देखाउँदै लेखा परीक्षण नै गराएका थिएनन् । प्रतिवेदनमा उक्त स्थानीय तहको लेखापरीक्षण विवरण सार्वजनिक भएको थिएन । यसपटक भने बाँकेका आठवटै स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको हो ।