६ जेष्ठ २०८१, आईतवार

नेपाली अर्थतन्त्रमा विद्यमान ११ संकट
  • न्युज मानसराेवर

नेपाली अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने नजाने भन्नेमा भइरहेको वाद र प्रतिवादहरू विशुद्ध राजनीति प्रेरित छन् । एउटै तथ्यांकलाई सत्तापक्षमा हुँदा एक किसिमले र प्रतिपक्षमा हुँदा अर्को किसिमले प्रस्तुत गर्न सक्ने कलामा माहिर नेपाली अर्थशास्त्रीहरूलाई नेपालको अर्थतन्त्र केके कारणले कमजोर बन्दै छ भन्ने बहसमा भने रुचि छैन ।

नेपाल श्रीलंका बन्ने नबन्ने आत्मरतियुक्त सतही बहसमा मुलुक रमाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रलाई संकटापन्न बनाउन भूमिका खेलिरहेका तत्त्वहरूका बारेमा बहस प्रारम्भ हुन जरुरी छ ।

विश्वका विभिन्न देशका आएका आर्थिक संकटका पछाडि ती देशले लिएका गलत नीतिहरू बढी जिम्मेवार छन् जो देशगत रूपमा अलगअलग प्रकृतिका छन् । नेपाल पनि आर्थिक संकटको सँघारमा रहेको छ र नेपाललाई आर्थिक संकटको सँघारमा पुर्‍याउन भूमिका खेल्ने तत्त्वहरू भने ग्रीस, श्रीलंका, इन्डोनेशिया र अमेरिकी अर्थतन्त्रमा देखिएका समस्याभन्दा भिन्न छन् ।

नेपालमा तीव्रतर गतिमा कृषियोग्य भूमिको विनाश भइरहेको छ । मलिलो माटोको विनाश र कृषियोग्य भूमिमाथि अतिक्रमणका कारण यो विनाश भइरहेको छ । विशेषतः सडक सृजित पहिराहरू तथा खानी उत्खननका कारण सिँगो पहाडी भूभाग कृषिजन्य क्रियाकलाप र मानव बस्तीका लागि अयोग्य खण्डहरका रूपमा परिणत हुँदै छ । सडक र खानीजन्य क्रियाकलापका कारण सिँगो पहाडका पानीका मुहानहरू सुक्ने र महाभारत पर्वत शृंखलाबाट उद्भव हुने नदीहरू सुक्दै वर्षामा खहरे खोलामा परिणत हुँदै छन् । यो नेपालको अर्थतन्त्रका लागि सबैभन्दा गम्भीर र पहिलो खतरा हो । यो खतरा न त टार्न सकिन्छ न त पूर्ववत् अवस्थामा फर्काउन नै सकिन्छ ।

पूर्वपश्चिम दिशा पारी बनाइएका तराईका सडकहरूले सिँगो तराईलाई डुबान क्षेत्रमा परिणत गरिरहेका छन् । यी सडकले खेत खेत हुँदै बगेर जाने पानीको प्राकृतिक प्रवाहलाई बाधा दिँदै पानी थुनिरहेका छन् । पानीको निकासको अभावमा खेतहरूका अन्नबालीहरू नष्ट हुने, लामो समयसम्म डुबानमा रहँदा माटोको मलिलोपना नष्ट हुने आदि समस्या देखापरेका छन् । यसले गर्दा तराईमा कृषि उत्पादनमा कमी आइरहेको छ । यसरी पूर्वपश्चिम दिशा पारी बनाइएका तराईका सडकहरू नेपालको अर्थतन्त्रका लागि यो दोस्रो खतरा हो ।

उब्जाउ भूमिमा शहरीकरणले नेपालको कृषिक्षेत्रलाई सबैभन्दा बढी प्रभावित गरिरहेको छ । पुराना शहरको विस्तार र नयाँ शहरको निर्माण नेपालका सबैभन्दा बढी उत्पादन हुने मलिला फाँटहरूमाथि अतिक्रमण गरी भइरहेको छ । यस क्रियाकलापले कालान्तरमा नेपाल कृषि उत्पादन अयोग्य भूमिका रूपमा रूपान्तरण हुने खतरा बढेको छ । यसरी उर्वर भूमिमाथिको शहरीकरण नेपाली अर्थतन्त्रको तेस्रो खतरा
हो ।

अनियन्त्रित विषादी र रासायनिक मलको प्रयोगले नेपाली कृषियोग्य भूमिको उर्वराशक्तिलाई क्षय गर्दै उर्वराशक्ति पुनप्र्राप्ति हुने स्थितिमा पुर्‍याउन थालेको छ । यसले कालान्तरमा नेपाली कृषितन्त्रलाई समाप्त पार्ने खतरा टड्कारो भएर गएको छ । यसरी अनियन्त्रित विषादी र रासायनिक मलको प्रयोग नेपाली अर्थतन्त्रका लागि चौथो खतरा हो ।

कृषिजन्य उत्पादनमा प्रयोग हुने बीउमाथि नेपाली कृषकको अधिकार विस्थापित हुँदै गएको छ । यसमा पनि एकपटकभन्दा बढी प्रयोग हुन नसक्ने प्रकृतिका आयातित बीउको अंशमा भारी वृद्धि हुँदै गएको छ भने अनन्तकालीन पुनरोत्पादन गुण भएका रैथाने बीउहरूलाई बढो सोचविचारका साथ संगठित रूपमा विनाश गरिँदै छ । यो प्रवृत्ति पशुवीर्यमा पनि देखा परिसकेको छ । अप्रमाणित र आपूर्तिको अनिश्चितता भएका अति महँगा यस्ता बीउबिजन र पशुवीर्यले नेपाली कृषिप्रणालीलाई नै परनिर्भर, महँगो र अनिश्चित बनाइदिएको छ । यसरी बीज र वीर्यमाथिको परनिर्भरता नेपाली अर्थतन्त्रका लागि पाँचौं खतरा हो ।

वनस्पतिमा आधारित पशुपालनलाई विस्थापन गर्दै अन्न आधारित पशुपालनमा देश प्रस्थान गर्दै छ । यसले एकातिर मानव उपभोगका लागि अन्नको अभाव सृजना हुन गएको छ भने अर्कोतिर ठूलो परिमाणमा पशु आहारका लागि अन्न आयात गर्नु परेको छ । कृषिको आधुनिकीकरणका नाममा रैथाने पशुपक्षी विनाश गर्ने र नश्ल सुधारका नाममा आयातित नश्ल र वीर्यमा आधारित अन्न निर्भर पशुपक्षीको विकासले पशुपालन महँगो र परनिर्भर बन्दै गएको छ । यसरी अन्न निर्भर पशुपालन नेपाली अर्थतन्त्रका लागि छैटांै खतरा हो ।

नेपाल विश्वमै भूमिमाथि अति राजनीतीकरण भएको मुलुकमा पर्छ । अलिकति जमीन बढी हुँदा साथ शोषक सामन्तको त्रासमा कृषक बाँच्नुपर्ने अवस्था छ । यसै गरी निश्चित वर्ग र व्यवसायीहरूको पक्षपोषण हुने गरी हरेक वर्ष भूमिसम्बन्धी नियम कानून परिवर्तन भइरहेका हुन्छन् । भूमि प्रशासनका प्रमाणित नेपाली प्रचलनलाई कथित गैरसरकारी संस्थाका परामर्शमा परिवर्तन गर्दै भूमि प्रशासनलाई प्रयोगशाला बनाउने कार्य भइरहेको छ । यसरी भूमिमाथिको अति राजनीतीकरण नेपाली अर्थतन्त्रका लागि सातौं खतरा हो

नेपाल विश्वमा नै उद्योग सञ्चालन गर्न असहज मुलुकका रूपमा चिनिन थालेको छ । महँगो बैंक ब्याजदर, राजनीति प्रेरित श्रमिक आन्दोलन, आकर्षक उद्योगहरूमा समाजका चल्तापुर्जा वर्गहरूलाई निःशुल्क शेयर दिनुपर्ने प्रवृत्ति, प्रक्रियागत जटिलता, प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न दिनुपर्ने संरक्षणात्मक उपायहरूमा उदासीनता, सिन्डीकेट र उद्योग र सरोकारवालाहरूबीच द्वन्द्वलाई बढावा दिने राजनीतिक र सामाजिक वातावरण र करका दरहरूका कारण उद्योग सञ्चालन अति कठिन बनेको छ । यसरी त्रासयुक्त औद्योगिक वातावरण नेपाली अर्थतन्त्रका लागि आठौं खतराका रूपमा रहेको छ ।

नेपालमा उद्योगको तुलनामा आयात व्यापार धेरै नै आकर्षक क्षेत्रका रूपमा देखापरेको छ । थोरै लगानी, सानो संयन्त्र र छोटो समयमा मनग्गे मुनाफा कमाउन सकिने, केही दायित्व आपूर्तिकर्ताले समेत बेहोरी दिने र कुनै समस्या आएमा आपूर्तिकर्ता कम्पनी र देशले नै लबिङ गरिदिनेजस्ता कारणले यो आयात व्यापारमा पछिल्ला समयमा झन् आकर्षण बढेको छ । आयातमैत्री नीतिहरूको बाहुल्य रहेकाले यसो भएको हो । यसरी आयात व्यापारको बढ्दो आकर्षणले एकातिर व्यापारघाटामा वृद्धि गराइरहेको छ भने अर्कोतर्फ देशभित्र लगानीको वातावरणलाई हतोत्साही गर्दै बेरोजगारी बढाइरहेको छ । यसरी आयातमैत्री वातावरण नेपाली अर्थतन्त्रका लागि नवौं खतराका रूपमा रहेको छ ।

देखासिकी, लोकप्रिय हुने चाहना, दातृसमूहको दबाब र स्वार्थसमूहको दबाबका कारण अनावश्यक परियोजनामा राज्यको लगानी देशको अर्थतन्त्रलाई ध्वस्त गर्ने अर्काे प्रमुख कारण हो । विगत केही समय यता नेपालमा यस्ता परियोजनाको संख्या बढ्दै गएको देखिन्छ । लागत लाभको हिसाब नगरी कोरा कल्पनाका आधारमा गरिने ठूला लगानीयुक्त परियोजनाहरूले राज्य कोषमा ठूलो भार थपिरहेको हुन्छन् । यो सहने क्रम लम्बिँदै जाँदा जुन दिन राज्यको काँध गल्छ, रातारात देश टाट पल्टेको पत्तै हुँदैन । विगत केही समययता नेपालमा यस्ता परियोजनाको संख्या बढ्दै गएको देखिन्छ, जसलाई चलनचल्तीको भाषाका सेताहात्ती भन्ने गरिन्छ । यसरी लागत लाभको हिसाब नगरी स्वार्थसमूहको दबाब तथा कथित लोकप्रियताका लोभमा थोपरिएका परियोजनाहरू नेपालको अर्थतन्त्रका लागि दशौं ठूलो खतरामा रूपमा रहेका छन् ।

विनामेहनत रातारात करोडपति हुने नेपाली जनमानसको अन्तर्मनको चाहना देखिन्छ । यस्तो मनोविज्ञान भएको समाजमा जुवा, तास, चिट्ठा, पिरामिड व्यापार, शेयर किनबेच, घरजग्गामा लगानीजस्ता क्षेत्रहरूमा बढी लगानी हुने गर्छ जहाँ धरातलीय यथार्थभन्दा कुसूचनाको प्रवाहबाट व्यापार अभिवृद्धि गर्ने ठूलो समूह सक्रिय रहेको हुन्छ ।

यसरी कुसूचनाका आधारमा बचत, ऋण, सापटी र चलअचल सम्पत्ति विक्रीमार्फत यस्ता क्षेत्रमा ठूलो लगानी हुने र कालान्तरमा सोेचेजस्तो नहुँदा अर्थतन्त्रमा चारैतिरबाट एकैचोटि संकट आइलाग्छ । यसरी अनुत्पादक क्षेत्रमा कुसूचनाका प्रभावमा परी अति लोभयुक्त लगानी नेपाली अर्थतन्त्रका लागि एघारौं खतराको रूपमा रहेको छ । यी पक्षलाई दृष्टि गर्दै नेपाली अर्थतन्त्रलाई संकटमा पर्न नदिन यी क्षेत्रमा रहेका विकृतिलाई सुधार गर्न सरकारका सम्पूर्ण संयन्त्र, राजनीतिक दलहरू, नागरिक समाज र सञ्चारक्षेत्र र विशेषज्ञसमूह एक भएर परिचालित हुन आवश्यक छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिृकत बजगाईंका यी विचार निजी हुन् ।

  • ४ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech