४ बैशाख २०८१, मंगलवार

गृहमन्त्रीका नाममा ‘लाइन’ खोलेपछि बाँकेमा मौलाउँदै ‘तस्करी’
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्लामा तस्करी मौलाएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारीले खुलेआम तस्करीको लाइन खोलेका छन् । सशस्त्र प्रहरीको लुम्बिनी प्रदेश बाहिनीमा कार्यरत एसएसपी दिगबिजय सुवेदी र बाँकेस्थित ३० नम्बर गणमा एसपी जनकराज बस्नेतले लाइन खुलाएका हुन् । हाकिमहरु मिलेपछि बाँकेमा सबैजसो बिओपीबाट तस्करी भइरहेको स्रोत बताउँछ ।

जिल्लाको पश्चिम क्षेत्रमा पर्ने जानकी गाउँपालिका–१ बढैयामा बिओपी इन्चार्ज भानबहादुर कार्कीले घुुमवा हवल्दार सूर्य थापामार्फत तस्करी गराएका छन् । खजुरा गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल अस्थायी चेक पोष्टका इन्चार्ज सइ योगेन्द्र शाहीले सेटिङ मिलाएका छन् । मुख्य नाका नमुनाहा र आसापासको क्षेत्रमा ३० नम्बर गणबाट घुमुवा असइ तिर्थ भाट, हवल्दार जयराम यादब, शीर्ष घलेलाई खटाइएको छ । उनीहरुलाई एसपीका घुमुवाका रुपमा पैसा उठाउन परिचालन गरिएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।

नेपालगन्जको जयसपुरमा बिओपी इन्चार्ज इन्सपेक्टर जीवनलाल बुढाले जवान सुन्दर चौधरीलाई घुमुवाका रुपमा खटाउका छन् । डुडुवा गाउँपालिका–६ कालाबञ्जरमा बिओपी इन्चार्ज सन्तोष बडुवालले पनि लाइन खुलाएका छन् ।

नरैनापुर–४ मा इन्सपेक्टर सन्तोष बाठा, नरैनापुर–६ मा बिओपी इन्चार्ज वीरेन्द्र जिसीले तस्करीको लाइन खोलेका हुन् । केही दिनयता यी नाकाबाट दिनमै करोडौंको सामान तस्करी हुने गरेको स्रोत बताउँछ ।

भारतबाट लत्ताकपडा, खाद्यान्न, मोटरपार्टस्, सुर्तीजन्य पदार्थ र कोल्ड ड्रिंस तथा नेपालबाट समेत सुपारी, केराउ तथा रक्सीको तस्करी भइरहेको छ । यसमा ठूला तस्करहरु समेत मिलेको र उनीहरुले नेपाल प्रहरीलाई पनि सेटिङ मिलाएका छन् ।

आफ्नो सरुवा हुने बेला भएको भन्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारीले पनि तस्करीमा आँखा चिम्लिएका छन् । सशस्त्र प्रहरीमा हालै सबै घुमुवा हटाइएको भनिए पनि बाँकेमा आइजिपीको निर्देशन पालना भएको छैन ।

एसएसपी सुवेदीले आफु गृहमन्त्री बालकृष्ण खाणको खास मान्छे भएको र आइजिपीले समेत कारबाही गर्न नसक्ने भन्दै बाँके लगायतका जिल्लामा घुमुवा परिचालन गरेका हुन् । तस्करीकै कारण बाँकेमा लक्ष्यअनुसार भन्सार राजश्व पनि उठ्न सकेको छैन ।

गत आर्थिक वर्षमा २५ अर्ब २१ करोडको लक्ष्य रहेकोमा २२ अर्ब ३१ करोड मात्र उठे्को छ । खुलेआम तस्करीकै कारण यस्तो भएको भन्सारका कर्मचारी बताउँछन् । घुमुवाका कारण अवैध गतिविधि बढेको भन्दै सशस्त्र प्रहरीले देशभरका घुुमवा हटाएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देशभरका घुुमवालाई हटाउँदै हालै इन्टेलिजेन्स तालिम गरेका डिएसपीलाई सबै प्रदेशमा खटाएका छन् । तर, नेताहरुसँग मिलेर विभिन्न जिल्लामा सशस्त्र प्रहरी अधिकारीले घुुमवा कायमै राखेका छन् ।

  • २० श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech