८ बैशाख २०८१, शनिबार

भूउपयोग वर्गीकरण गर्नेमा तुलसीपुर बन्यो पहिलो पालिका
  • न्युज मानसराेवर

बाँके\ दाङको तुलसीपुर उपमहानगरपालिकाले भूउपयोग वर्गीरकणको काम सम्पन्न गरेको छ । महानगर प्रमुख टिकाराम खड्काले मुख्य बाटोमा १०० मिटर र भित्रि बाटोमा ५० मिटरसम्म आवासीय र व्यवसायीक जग्गा वर्गीकरण गरेर त्योभन्दा पछाडिको जग्गालाई कृषि क्षेत्रमा वर्गीकरण गरिएको बताए । सबै वडाका स्थानीयहरूसँग छलफल गरेर सहमतिमै जग्गाको वर्गीकरण गरिएको उनको भनाइ छ । उपमहानगरका नापी अधिकृत प्रदिप ज्ञावलीका अनुसार नगरभित्र ३२ प्रतिशत कृषियोग्य जग्गा कायम गरिएको छ ।

नापी विभागले २०७५ सालमा लिएको स्याटलाइट इमेजमा कृषियोग्य जग्गाको क्षेत्रफल ४७ प्रतिशत हाराहारी रहेको थियो । अहिले वर्गीकरण गर्दा १०र२० वर्ष पछिसम्मलाई आवाश्यक पर्ने आवासीय जग्गा छुट्ट्याएर बाँकी जग्गालाई मात्रै कृषियोग्य जग्गामा वर्गीकरण गर्दा कृषि क्षेत्रको क्षेत्रफल १५ प्रतिशत घटेको उनको भनाइ छ ।

कुल ३८४ वर्गकिलोमिटर क्षेत्रफल रहेको उपमहानगरमा १२४ वर्गकिलोमिटर अर्थात १८ हजार ३०९ बिगाह कृषियोग्य जग्गा रहेको छ । त्यसमध्ये ३ हजार ६९१ बिगाह कृषिको पकेट क्षेत्रमा पर्ने नगरपालिकाको तथ्याङ्क छ ।स्थानीय तहले चाहेमा ६ महीना होइन २ महीनामै पनि भूउपयोग वर्गिकरणको काम पुरा गर्न सक्छन् भन्ने उदाहरण तुलसीपुर उपमहानगरले दिएको छ । तुलुीपुरबाट अरू स्थानीय तहले पनि पाठ सिकेर काम गर्नुपर्ने देखिन्छ ।

सबैभन्दा पहिलो भूउपयोग वर्गीकरण गर्नेमा सम्भवत तुलसीपुर पहिलो स्थानीय तह भएको नगरापलिकाको भनाइ छ । कृषियोग्य जग्गै छैन भनेर सबै जग्गा गैरकृषिमा वर्गीकरण गर्नेमा भने उपत्यकाका स्थानीय तह तुलसीपुरभन्दा अघि देखिएका थिए ।

कसरी सम्भव भयो वर्गीकरण ? नापी अधिकृत ज्ञावलीका अनुसार नगरपालिकाले सबै वडामा सर्वपक्षीय/सर्वदलीय बैठक गरेर सहमतिमै जग्गाको वर्गीकरण गरेको हो ।सानातिना असन्तुष्टी भएपनि जग्गाको वर्गीकरण नै गर्न नदिने वा यो वर्गीकरण मान्दै मान्दैनौ भन्ने ढिपी कसैले पनि नगरेको उनको भनाइ छ ।वडा तहबाटै समन्वय गरेर काम गर्दा सहजै वर्गीकरण गर्न सकिएको ज्ञावलीको भनाइ छ ।

नगरपालिकाले जग्गाको वर्गीकरण गर्ने काम पुरा गरेपनि त्यो कार्यान्वयनमा भने आइसकेको छैन । तर स्थानीय भूउपयोग परिषदले उक्त वर्गीकरण अनुमोदन गरिसकेकाले छिट्टै कार्यान्वयनमा आउने नगरपालिकाको विश्वास छ ।

  • २० श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech