१३ बैशाख २०८१, बिहीबार

बुटवलमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु
  • न्युज मानसराेवर

बुटवल\ बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु भएको छ।  जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको उनले बताए। बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, सञ्चारमाध्यमहरुबाट चेतना कार्यक्रम सञ्चालन गर्ने काम उपमहानगरपालिकाले अभियान सुरु गरेको हो।

‘खोज र नष्ट गर’ अभियान निरन्तर सञ्चालन हुने र थप सचेतना फैलाउने काम गरिने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। बुटवल उपमहानगरपालिका वडा नं. १, ५ र ६ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए।

पानी जम्‍ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने उनले बताए। यसैबीच बुटवल उपमहानगरपालिकाले बुटवलका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, कर्मचारीका बीचमा अभिमुखीकरण कार्यक्रम गरेको छ।

बुटवल उपमहानगरपालिकाको आयोजना, फेयरमेड फाउण्डेशन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र बुटवलको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सहजीकरण गरेका थिए।

  • २५ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech