२७ आश्विन २०८१, आईतवार

फोहोरले दुर्गन्धित बन्दै लुम्बिनी
  • रासस

लुम्बिनी \विश्व सम्पदासूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहोरको दुर्गन्ध छ । लुम्बिनी पुग्ने जो कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ । तर व्यवस्थापनप्रति सरोकारवालाको ध्यान नपुगेको स्थानीयको आरोप छ ।

‘महिलवार, पर्सा र मोगलहालगायत मुख्य चोक र तेलारनदीमा फालिएका फोहोर सडेर यो क्षेत्र दुर्गन्धित र कुरूप देखिएको छ,’ स्थानीय व्यापारी बबिन बरईले भने, ‘पर्यटकीयस्थल सफा, सुन्दर र आकर्षक हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।’ लुम्बिनी सांस्कृतिक नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा लुम्बिनी दुर्गन्धित बनेको बरईले बताए । बजारभरिका फोहोर सडकपेटी र लुम्बिनी विकास कोषको पर्खालभित्र फलिँदै छन्, तर सरोकारवालाले ध्यान नदिएको उनको गुनासो छ ।

लुम्बिनी विकास कोषको मुख्य गेट (गेट नं ५) महिलवार चोकस्थित सडकपेटी र ट्याक्सी स्ट्याण्ड वरपर फोहोरको थुप्रो छ । बुद्ध दर्शन तथा शान्तिपूर्ण विश्रामका लागि लुम्बिनी पुगेका जापानी पर्यटक केंगो नोगुचीले भने, ‘फोहोरको दुर्गन्धले पर्यटक–पाहुनालाई लुम्बिनीमा बस्ने र घुम्ने वातावरण बिगारेको छ ।’

लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषसमेतले फोहोर व्यवस्थापन र सरसफाइका लागि वर्षेनि लाखौं रुपैयाँ खर्च गर्ने गरेको भए पनि प्रभावकारी नभएको स्थानीयको गुनासो छ । ‘जथाभावी फालिने फोहोरमैलाका कारण त्यस क्षेत्रमा लामखुट्टेको प्रकोप बढेको छ,’ लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले भने, ‘फोहोर व्यवस्थापन नहुँदा लंकापुरस्थित तेलारनदीको छठघाटमा वर्षेनि हुँदै आएको पूजासमेत प्रभावित हुने सम्भावना छ ।’

लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तरराष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंकलगायतका संघसंस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन् । स्थानीयस्तरमा लुम्बिनी सरसफाइ व्यवस्थापन समिति र ग्रीन युथ आफ लुम्बिनीलगायतका संघसंस्था पनि लुम्बिनीको सरसफाइ र फोहोर व्यवस्थापनका लागि सक्रिय छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका, रूपन्देहीले सरसफाइ र फोहोर व्यवस्थापनका लागि यस आव २०७८/७९ मा रू. ८० लाख बजेट विनियोजन गरेको छ । दशैंअघि बसेको नगरपालिकाको बोर्ड बैठकमा यहाँको सरसफाइ र फोहोर व्यवस्थानबारे प्रस्ताव ल्याइए पनि सफल हुन नसकेको वडा नं ६ का अध्यक्ष नैमुल हक मुसलमानले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोपेन्द्रप्रसाद पाण्डेले भने, ‘फोहोर व्यवस्थापनका लागि ल्याइएको प्रस्तावमा बोर्ड बैठकबाट सहमति हुन नसके पनि नगरपालिकाले तत्काल फोहोरमैला व्यवस्थापन कार्य अघि बढाउने कार्ययोजना छ ।’ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले छठपछि जसरी पनि त्यहाँको फोहोर हटाइने बताए । रासस

  • १३ कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech