१५ बैशाख २०८१, शनिबार

बाँकेमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन
  • न्युज मानसराेवर

बाँके\बाँकेको  नेपालगन्जमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सोमबारदेखि एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । एक कार्यक्रमबीच सोमबार उक्त केन्द्रको उद्घाटन गरियो ।

एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्दको उद्घाटन गर्दै नगरप्रमुख प्रशान्त विष्टले अन्य फोहोरको तुलनामा स्वास्थ्यजन्य फोहोर सबैभन्दा बढी दुषित र संक्रामक हुने भएकाले यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै तदारुकता साथ काम गरेर सञ्चालनमा ल्याइएको बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ हिरमिनियास्थित ल्याण्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको वातावरण इन्जिनियर प्रकाश डिसीले बताए ।

फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जीआइजेडले २ वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको हो। नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माण गरेको हो । संरचना निर्माणमा ४६ लाख लागत लागेको डिसीले सुनाए ।

स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० वर्षका लागि ‘स्वच्छ नेपाल हाम्रो अभियान’ नामक संस्थालाई दिइएको छ । स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर अब यही व्यवस्थापन हुनेछ ।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech