७ बैशाख २०८१, शुक्रबार

क्षतिपूर्ति नपाउँदा नरैनापुरका किसानलाई हातमुख जोर्न समस्या
  • न्युज मानसराेवर

नरैनापुर (बाँके) बेमौसमी वर्षातले काटेको र काट्न तयारी अवस्थामा रहेको धानवालीमा क्षति पुगेका बाँकेको नरैनापुर गाउँपालिकाका किसानले अझैसम्म राहत रकम पाएका छैनन् ।

वर्षातले क्षति पुर्याएका किसानलाई राहत रकम दिन क्षतिको विवरण संकलन भएपनि अहिलेसम्म नपाएको नरैनापुर गाउँपालिका ६ गंगापुरका आशाराम यादवले बताए । उनले राहत रकम आएको सुने पनि अहिलेसम्म नपाएको बताए ।

नरैनापुर गाउँपालिका ५ मटिहियाका सोहनलाल यादवले पनि गत वर्षको राहत रकम नपाएको गुनासो गरे । बेमौसमी वर्षातले धानवालीमा पुर्याएको क्षतिको विवतरण बुझाए पनि अहिलेसम्म राहत रकम नपाएको उनले बताए ।

राहत रकमका लागि गाउँपालिका धाएर थाकिसकेको नरैनापुर गाउँपालिका ४ नरैनापुरका जाकिर खाँले बताए । उनले राहत रकम नपाउँदा पेट पाल्न समस्या भएको गुनासो गरे ।

समयमा वर्षात नभएपछि नरैनापुर गाउँपालिकाको ८५ प्रतिशत जमिनमा धान रोपाई भएको छैन । रोपाई नभएपछि गाउँपालिकाले सुखा क्षेत्र घोषणा गरेको छ । यस गाउँपालिकामा आठ गुणा कम धान उत्पादन भएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए ।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech