८ श्रावण २०८१, मंगलवार

विमानस्थलको रन वेमा वन्यजन्तु भेटिएपछि….
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज विमानस्थलमा रहेको रन वे नजिक मंगलवार बिहान वन्यजन्तु (निलगाई) भेटिएपछि विमानस्थल कर्मचारी तनावमा परेका छन् । रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ ।

रनवे नजिक रहेको झाँडीमा अहिले पनि निलगाई लुकेर बसेकाले धपाउने प्रयास भइरहेको विमानस्थल कार्यालयका प्रमुख सुरेशप्रसाद खनालले बताए । उनका अनुसार मंगलवार बिहान करिव ८ बजेतिर रनवेको छेउमा निलगाई फेला परेको थियो । रनवेमा निलगाई भेटिएपनि विमानस्थल भने सुचारु रहेको प्रमुख खनालले बताए ।

नेपालगञ्ज विमानस्थल हुदै अचेल दैनिक रुपमा काठमाण्डौ र पोखराका लागि मात्रै १४ वटा ठुला जहाजले उडान भरिरहेका छन् । यसका साथै नेपालगञ्जबाट कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि साना जहाजले दैनिक रुपमा करिव एक दर्जन जति उडान भर्छन् ।

काठमाडौंपछि अति ब्यस्त रहने दोस्रो विमानस्थलका रुपमा चिनिने नेपालगञ्ज विमानस्थलको सुरक्षामा भने लापरबाही भइरहेको यात्रुहरु बताउँछन् । उक्त विमानस्थलमा राम्रो तारबार नहुँदा वन्यजन्तु पटक पटक जहाजसँग ठोक्किने गरेको पाइएको छ ।

यसअघि पनि पटक पटक जहाजसँग रनवेमा बँदेल ठोक्किएको घटना सार्वजनिक भएको थियो । विमानस्थलभित्र बढेको झाडीमा बँदेल, स्याल, निलगाई जस्ता वन्यजन्तुहरुले बासस्थान बनाएको स्थानीय बासिन्दा बताउँछन् ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech