११ बैशाख २०८१, मंगलवार

गुणस्तरीय पर्यटनको गन्तव्य माथिल्लो मुस्ताङ
  • एमके कुलुङ

माथिल्लो मुस्ताङ गुणस्तरीय पर्यटन र सम्पदा पर्यटनस्थलका लागि प्रमुख गन्तव्य हो । सीएनएनले मुस्ताङलाई २०२३ सा २३ प्रमुख गन्तव्यभित्र पारेको छ । माथिल्लो मुस्ताङलाई ल्हो मान्थाङ, लो मान्थाङ, फोरबिडन किङडम, हिडेन किङडम, मड सिटी, लस्ट किङडम, अप्पर मुस्ताङ आदि नामले चिनिन्छ । नेपालमा रहेका थोरै गुणस्तरीय पर्यटकीय गन्तव्यमध्ये ल्हो मान्थाङ पनि पर्छ । मुस्ताङ जिल्लाको माथिल्लो भेग विसं २०४६ सालअघिसम्म कानूनी रूपमा विदेशी पर्यटकका लागि प्रवेश निषेध रहेको थियो ।

विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै मुस्ताङ जिल्लाको माथिल्लो भेग पर्यटकका लागि खुला गरियो । कागजी (कानूनी) रूपमा मुस्ताङ जिल्लाको माथिल्लो भेगमा विदेशी पर्यटक जान नपाउने भनी प्रतिबन्धात्मक व्यवस्था गरिएको भए तापनि अमेरिकी नागरिक स्टान आर्मिङटङले लेखेको र ‘लन्ली प्लानेट’द्वारा प्रकाशित ‘द हिमालय किङ्डम’ नामक किताबमा जनाइएअनुसार विदेशी प्रतिबन्ध लगाएका बेलामा पनि मुस्ताङ जिल्लाको माथिल्लो भेगमा राजदरबारका शाही पाहुनाहरू भने सुटुक्क जाने गरेका थिए ।

त्यस्तै गूगलमा सर्च गरेर हेर्दा सन् १९५२ मै स्वीस नागरिक टोनी हेगनले पहिलो विदेशी नागरिकका रूपमा मुस्ताङ जिल्लाको माथिल्लो भेग भ्रमण गरेका थिए । हुन त उनी संयुक्त राष्ट्रसंघ मातहत रहेर नेपालको विकासविद्का रूपमा नियुक्त भएर आएका हुनाले तत्कालीन श्री ५ को सरकारले भित्रभित्रै अनुमति दिएको हुनुपर्छ । त्यस्तै मुस्ताङ जिल्लाको माथिल्लो भेग अर्थात् ‘ल्हो मान्थाङ’ भ्रमण गर्ने दोस्रो व्यक्ति फ्रान्सका नागरिक माइकल पिसेल देखिन्छन् । उनले सन् १९६४ मा मुस्ताङ जिल्लाको माथिल्लो भेगको भ्रमण गरेको देखिन्छ ।

विसं २०४७ मा तत्कालीन श्री ५ को सरकारले निश्चित शर्तसहित मुस्ताङ जिल्लाको माथिल्लो भेगमा विदेशी नागरिकले पर्यटकीय उद्देश्यले भ्रमण गर्न पाउने गरी खुला गर्‍यो । यहाँ जाने विदेशी पर्यटक कम्तीमा २ जना हुनैपर्ने, नेपाल सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्पmत मात्रै जान पाउने, एकजना सरकारी सम्पर्क अधिकृत अनिवार्य रूपमा लानैपर्ने (हाल खारेज भइसकेको छ ।), १० दिनमा ट्रेकिङ गरिसक्नुपर्ने (आधार खुलाएर थप २ दिन थप्न सकिने), एकजना विदेशी पर्यटक बराबर ७० अमेरिकी डलर सरकारलाई राजस्व तिर्नुपर्ने, १ वर्षमा १ हजारभन्दा बढी विदेशी पर्यटक जान नपाउने, कुनै पनि विदेशी पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिक सहयोग तथा चन्दा रकम दिन नपाउने, विदेशी पर्यटकले स्थानीय समुदायलाई आर्थिक सहयोग तथा चन्दा दिनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने आदि शर्तसहित विदेशी पर्यटकलाई मुस्ताङ जिल्लाको माथिल्लो भेग भ्रमण गर्न खुला गरिएको थियो ।

लामो समयदेखि नेपालका अन्य केही हिमाली क्षेत्रमा भैंm निषेध गरिएको ल्हो मान्थाङ विदेशी पर्यटकका लागि खुला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) ४ सय ८३ जनाले विदेशी पर्यटकले भ्रमण गरेका थिए । त्यसपछि मुस्ताङ जिल्लाको माथिल्लो भेगको भ्रमण गर्न जाने विदेशी पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा ४ अंक पुग्यो । अर्थात् उक्त वर्ष १ हजार ६६ जना विदेशी पर्यटकले ल्हो मान्थाङको भ्रमण गरे । तर, दुर्भाग्य त्यो क्रम लामो समयसम्म जारी रहन सकेन ।

सन् १९९९ मा १ हजार ५७ जना विदेशी पर्यटकले भ्रमण गरे । त्यसपछि देशमा चलेको हिंसा प्रतिहिंसा (सरकार–तत्कालीन विद्रोही माओवादीबीच) सँगै मुस्ताङ जिल्लाको माथिल्लो भेगमा भ्रमण गर्न जाने विदेशी पर्यटककोे संख्या पनि घट्न थाल्यो । सन् २००० देखि पुनः मुस्ताङ जिल्लाको माथिल्लो भेगमा भ्रमण गर्न जाने पर्यटकको संख्या ३ अंकमा झर्‍यो । यो क्रम सन् २००६ सम्म नै जारी र≈यो । २०६२/२०६३ मा नेपालमा आएको राजनीतिक परिवर्तनपछि छाएको शान्तिसँगै मुस्ताङ जिल्लाको माथिल्लो भेगमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुनः ४ अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १ हजार १५७ जना विदेशी पर्यटक मुस्ताङ जिल्लाको माथिल्लो भेगमा भ्रमण गर्न गएका थिए । सन् २००८ मा त स्थानीय बासिन्दा नै आश्चर्यचकित हुने गरी २ हजार १९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको माथिल्लो भेगको भ्रमण गरे ।

भौगोलिक हिसाबले तिब्बती पठार र मुस्ताङ जिल्लाको माथिल्लो भेग ल्हो मान्थाङको बनावट उस्तै उस्तै छ । त्यतिमात्रै होइन, त्यस क्षेत्रका मानिसबीच धर्म, भाषा, वेशभूषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालन गर्ने जस्तै घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरीका पनि उही छ, खेतीपाती गर्ने तरीका पनि उही छ । त्यसमा पनि मुस्ताङ जिल्लाको माथिल्लो भेग अर्थात् ल्हो मान्थाङको तिब्बतको भन्दा पृथक् पहिचान के छ भने यहाँ विभिन्न स्थानमा प्राचीनकालमा मानव बसोबास गरिएको/भएको गुफा प्रशस्तै छन् । जहाँ प्राचीन समयमा मानव बस्ती रहेको भनी विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । यो सम्पदालाई त्यहाँ भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी र स्थानीय बासिन्दा एवम् समग्र देशकै लागि पनि गर्व गर्नलायक सम्पदा मान्न सकिन्छ । फलतः मानव विकास क्रमबारे अध्ययन गर्ने खोजकर्ता र मानवशास्त्रबारे अध्ययन गर्ने विद्यार्थीहरू पनि हाल मुस्ताङ जिल्लाको माथिल्लो भेगमा अध्ययन–भ्रमणमा जान थालेका छन् ।

पहिले ल्हो मान्थाङ भ्रमण गरेबापत विदेशी पर्यटकले तिर्नुपर्ने सलामी दस्तुर ७ सय अमेरिकी डलर तोकिएको थियो । पछि ५ सय अमेरिकी डलरमा झारिएको छ । पुरानो दरलाई कायम राख्दै ल्हो मान्थाङ जस्तो ऐतिहासिक, पुरातात्त्विक तथा सम्पदा रहेको उक्त क्षेत्रमा झोले पर्यटकको लर्को लगाउने काम बन्द गरौं । थोरै संख्यामा भए पनि प्रशस्त पैसा खर्च गर्न सक्ने, गुणस्तरीय पर्यटकलाई मात्रै प्रवेश गर्ने नेपालको एक मात्र ‘पर्यटकीय हब’का रूपमा ल्हो मान्थाङलाई अगाडि बढाऔं । लेखक पर्यटनकर्मी हुन् ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech