६ जेष्ठ २०८१, आईतवार

राजस्व वृद्धिका लागि चोरी निकासी रोक्न प्रहरी सक्रिय
  • न्युज मानसराेवर

बुटवल\भैरहवा भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजस्व सङ्कलन लक्ष्यअनुरूप गर्न नसकेर घाटामा गएको छ ।

मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजस्व सङ्कलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरीनिकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमाबिन्दुमै सक्रियता बढाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटरको नेतृत्वमा समग्र रुपन्देहीको सीमा सुरक्षा व्यवस्था भइरहेको छ । सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप जनशक्ति परिचालन गरी आकस्मिक र आवश्यकताअनुसार ठाउँ–ठाउँमा चेकजाँच बढाइएको छ । राजस्व वृद्धिका लागि सशस्त्र प्रहरीले काम गरिरहेको बताए ।

एसपी श्रेष्ठका अनुसार नियमितका साथै आकस्मिक चेकिङ पनि भइरहेको छ । श्रेष्ठले भनेका छन, “सीमा क्षेत्रमा लाग्दैआएको फरेनिया बजारमा जान नेपालीलाई रोक लगाउँदै आएका छौँ, कोभिडको नयाँ भेरियन्ट पनि देखिएकाले थप सजगता, सुरक्षा चुनौती र जोखिमलाई दृष्टिगत गर्दै नेपालीलाई सचेत पनि गराइरहेका छौँ ।”एक वर्षदेखि भैरहवा भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको
छैन ।  कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर २०७८ सम्म लक्ष्यअनुरूप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नभएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को पहिलो महिना लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजस्व सङ्कलन भए पनि भदौमा ६७, असोजमा ४१, कात्तिकमा ४० र मङ्सिरमा ३९ प्रतिशतमा सीमित छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षकको कमाण्डमा ७८ वटा प्रहरी युनिट, अस्थायी चेक पोस्ट र मोबाइल टोली र सादा पोसाकका प्रहरी पनि यसमा खटिएका छन् ।  स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने बेलहिया सीमादेखि केही दूरीमै रहेको डण्डा बीओपीको चेकिङ प्वाइन्ट  सीमाक्षेत्रमा अधिकतम प्रयोग भएको छ । पर्यटक, सर्वसाधरणलाई चेकिङको नाममा धेरै सास्ती भएको भन्ने गुनासो आएकाले सोलाई दृष्टिगत गर्दै सीमाबिन्दुमै चेकजाँचमा कडाइ गरिएको छ ।

बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काकै कमाण्डमा सीमा चेकजाँचमा कडाइ गरिएको छ । सीमामै चेकिङ बढाए अवैध वस्तुहरू वैध तरिकाले भित्रिने र राजस्व सङ्कलनमा पनि वृद्धि हुने अपेक्षाका साथ चेकजाँच सीमाकेन्द्रित गरेको सशस्त्र प्रहरी निरीक्षक खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक वर्षमा मात्रै दुई करोडभन्दा बढीको किराना, विद्युतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपायालगायत चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

सशस्त्र प्रहरीका अनुसार चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढीको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस् तथा हार्डवेयर, किरानालगायतका चोरी तस्करीका सामान नियन्त्रणमा लिएको छ । पुसमा मात्रै ६५ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश पोखरेलले जानकारी गराएका छन।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech