६ जेष्ठ २०८१, आईतवार

लुम्बिनीमा मुख्यमन्त्री लीला गिरी निश्चित
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री नेकपा एमालेका लीला गिरी बन्ने निश्चित भएको छ। गिरी संसदीय यहाँ दलको नेता निर्वाचित भइसकेका छन् भने सत्तारुढ ६ दलको बहुमत रहेको छ ।

एमाले र माओवादीको दाबीमा रहेको यहाँको मुख्यमन्त्री आइतबार सत्तारूढ गठबन्धन दलहरू बीचको सहमतिमा एमालेलाई परेपछि गिरीको मुख्यमन्त्री पद पक्का भएको हो । दलहरूबीच भएको भागबन्डाअनुसार लुम्बिनीमा एमालेले पूरै समय सरकार बनाउने सहमति भएको हो। लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्यमध्ये पहिलो दल बनेको एमालेबाट २९ सांसद छन्। सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रसँग १० सांसद छन् ।

त्यसैगरी राप्रपा र नागरिक उन्मुक्तिका ४/४ जना र जनमत पार्टीका ३ जना सांसद छन्। ३ जना सांसद रहेको जसपाको अझै सहमति आएको छैन । जसपासहित ५३ सांसद अहिलेको गठबन्धनमा छन् । जसपा नआए ५० रहने छन् । यहाँको बहुमत पुराउन ४४ सांसद आवश्यक पर्दछ ।

अन्य दुई जना स्वतन्त्र सांसद समेत नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी एमालेको समर्थनमा निर्वाचित भएकाले उनीहरू पनि यो गठबन्धनभन्दा बाहिर जाने अवस्थामा छैनन् ।
लुम्बिनी प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेस २७ सांसदसहित प्रमुख प्रतिपक्षी दलका रूपमा रहने छ भने ऊसँगै लोकतान्त्रिक समाजवादीका ३ तथा नेकपा एकीकृत समाजवादी र जनमोर्चाका १र१ गरी ३२ जना सांसद प्रतिपक्षमा रहने छन्।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतालाई मुख्यमन्त्रीमा दावी पेस गर्न पुस २७ गते ४ बजेसम्मका लागि समय दिएका छन्।

मुख्यमन्त्री एमालेको भागमा परेपछि लुम्बिनीको सभामुख माओवादी र उपसभामुख राप्रपाले पाउने दलहरुबीच सहमति भएको छ । माओवादीबाट सभामुखको लागि तुलाराम घर्ती बसन्त र दीपेन्द्र पुन सिजल दाबेदार छन् । घर्ती पाल्पाका हुन् भने पुन रोल्पाका हुन् ।

एमाले माओवादीबीच क्षेत्र मिलाउन रुपन्देहीबाट गिरी मुख्यमन्त्री बन्ने भएकाले रोल्पाका पुनले सभामुख पाउने सम्भावना बढी छ । तर यसअघिको अनुभव र स्वयं घर्ती दलको नेताको दाबेदार भएकाले नेताहरूले कसरी व्यवस्थापन गर्छन् त्यो टुङ्गाउन बाँकी छ ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech