६ जेष्ठ २०८१, आईतवार

डिजिटल प्रणालीमार्फत किसानको बाली बीमा
  • न्युज मानसराेवर

बर्दिया\कृषि बीमा अन्तर्गत, नेपालमै पहिलो पटक डिजिटल प्रणालीमार्फत बाँके, बर्दिया र नवलपरासीका ९४ जना धान बाली उत्पादक किसानको बीमा गरिएको छ । एनएलजी बीमा कम्पनी लिमिटेड, सिआइएमएमवाईटी नेपाल, लुम्बिनी सीड कम्पनी,  गेट नेपाल, टिम वन टेक्नोलोजी र सीड इनोभेसन्स प्रालिलगायत स्थानीय कृषि निकायको समूह मिलेर धानवालीमा बीमा सुरु गरेका हुन् ।

पहिलो पटक बीमा गराएर धान बाली क्षति भएका बर्दिया बढैयातालका १० जना किसानलाई धानबालीमा क्षति भए बराबरको रकम वितरण गरिएको एनएलजी बीमा कम्पनीका प्रतिनिध अनु हमालले जानकारी गराए ।

क्षति भएका किसानलाई क्षति बराबरको रकम ३ हजार ४०० देखि ३३ हजार रुपियाँसम्मको चेक हस्तान्तरण गरिएको छ । सुरुमा पानी नपरेर खडेरीको समस्या, किराहरूको समस्या र पछि ठूलो पानी आएर डुवानको समस्याले धानवालीमा क्षति पुगेपछि सोही क्षति अनुसारको रकम बीमा गराएका किसानलाई उपलब्ध गराइएको हमालले भने ।

सीड इनोभेसन्स प्रालिद्वारा निर्मित प्लान्टस्याट डिजिटल बीमा प्रविधिको प्रयोग गरी बीमालाई सहज, छिटो र छरितो होस् भन्ने उद्देश्यका साथ भू–उपग्रह स्वचालित मौसम स्टेशन र किसानले मोबाइल एपमार्फत खिचेको फोटो, भिडियोसहितको प्रक्रियामार्फत अनुगमन गरिएको थियो ।  क्षति दाबी गर्नुभएका किसानको खेतमा गई अन्तर्राष्ट्रिय मापदण्डअनुसार किसानको खेतको क्षेत्रफल हेरेर किसानको उत्पादन निकाली त्यही उत्पादनका आधारमा किसानको क्षति कति भयो भन्ने पुष्टि गरिएको बीमा कम्पनीले जनाएको छ ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech