६ जेष्ठ २०८१, आईतवार

लुम्बिनीमा आज सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सभामा सभामुख र उपसभामुख चयन गर्न सोमवार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार सोमवार दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ ।

दर्ता भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे हुने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन हुने प्रक्रिया शुरू हुने प्रदेश सभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले बताए । सभामुख र उपसभामुखमध्ये १ जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको भागबण्डाअनुसार एमालेले मुख्यमन्त्री पाएपछि सभामुख माओवादीको भागमा परेको छ । माओवादीले पाल्पा २(२) बाट निर्वाचित तुलाराम घर्ती मगरलाई सभामुख बनाउने तयारी गरेको छ ।

अघिल्लो कार्यकालमा पनि लुम्बिनीमा माओवादीकै सभामुख थिए । उपसभामुख भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको छ । राप्रपाले गुल्मीकी मेनुका खाँडलाई उपसभामुख बनाउने सम्भावना छ । सोमवार नै शपथ लिन लागेकी बाँकेकी मीनाकुमारी श्रेष्ठले पनि उपसभामुखमा दाबी गरिरहेकी छन् । राप्रपाले अझै उम्मेदवार टुंगो लगाएको छैन ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सदस्य छन् । प्रदेश सभामा कांग्रेसका २७ सदस्य छन् । सत्ता गठबन्धनमा ७ दल र २ स्वतन्त्र गरी ५८ जना छन् ।

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech