६ जेष्ठ २०८१, आईतवार

बाँकेका थप २२ हजार बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगञ्ज उपमहानगरभित्र दादुरा प्रभावित क्षेत्रका २२ हजार १० बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। कार्यालयले ६ महिनादेखि १५ वर्षमुनिका उक्त संख्याका बालबालिकालाई खोपको पहुँचमा ल्याएको हो।

सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले २२ पुसबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले उपमहानगरको ७ नम्बर वडामा खोप अभियान सम्पन्न भएको बताए। ७ नम्बर वडाका ९५ प्रतिशतभन्दा बढी बालबालिकालाई खोप लगाइएको हो।

उनका अनुसार नेपालगञ्ज उपमहानगरका ४२ हजार ९८० बालबालिकामध्ये ५१.२१ प्रतिशत अर्थात् २२ हजार १० बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका हुन्। खोप अभियान सकिए पनि सात वटा वडाका खोप लगाउन छुटेका बालबालिका खोजेर खोप लगाउने क्रम जारी छ।

नेपालगञ्ज उपमहानगरका खोप लगाउन बाँकी २० हजार ९७० बालबालिकालाई र खजुरा गाउँपालिकाका १८ हजार ४५९ र गरी ३९ हजार ४२९ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने लक्ष्य सरकारको छ। १२ पुसबाट फैलिएको संक्रमण संक्रमितमध्ये नेपालगञ्जमा १८९, खजुरामा ३, कोहलपुरमा २ र नरैनापुरमा १ गरी संक्रमितको संख्या १९५ पुगेको छ। यीमध्ये १ जनाको मृत्यु भएको छ।

मंगलबार मात्रै उपमहानगरभित्र १६ वडाका ३० खोप केन्द्र र खजुरा गाउँपालिकाका ८ वटै वडाका १७ खोप केन्द्र गरी ४७ वटा खोप केन्द्रमार्फत दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुरा संक्रमणबाट १९५ जना बालबालिका संक्रमित भएका छन्।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech