६ जेष्ठ २०८१, आईतवार

बैजनाथमा सिँचाई बाँध अलपत्र
  • न्युज मानसराेवर

बैजनाथ। बाँकेको बैजनाथ ८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माण गरी आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्याउने स्थानीयको आशा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुरा हुन सकेको छैन  ।

जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जका अनुसार झिङ्गौरा खोलामा मूल बाँध र तटबन्धको एउटा  कुलो , तटबन्ध र स–साना कल्भर्ट गरी दुई वटा छुट्टाछुट्टै टेन्डर भई सम्झौता भएको छ । गत असार २८ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समायवधी रहेकोमा हालसम्म करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको कार्यालयका सव(ईञ्जिनियर सुरज केसीले जानकारी दिएका छन।

मूल बाँध निर्माणका लागि २०७७ असार १४ गते एक करोड २२ लाख रुपियाँमा २०७९ असार २८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको हो । यसै गरी कुलो निर्माणका लागि पनि सोही मितिमा सम्पन्न गर्ने गरी सोही दिन एक करोड ४० लाख रुपियाँमा सम्झौता भएको हो ।

सब इन्जिनियर केसीका अनुसार मूल बाँधको काम करिब ७९ प्रतिशत सम्पन्न भएको भए पनि कुलोको काम भने हाल सम्म २१ प्रतिशत मात्रै सम्पन्न भएको छ । दुवै कामको जिम्मेवारी पाएको एचडिपी कन्स्ट्रक्सन एन्ड ट्रान्सपोटेशन प्रालिले पछिल्लो समय काम अघि बढाउन उदासीनता देखाएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख परशुराम चौधरीले भनेका छन।

“ठेकेदारलाई काम अघि बढाउन पटक–पटक सम्पर्कको प्रयास गरिरहेका छौँ,” कार्यालय प्रमुख चौधरीले उल्लेख गरे  ,–“ घर समेत पत्ता लगाएर भेट भए पनि काम अघि बढ्न सकेको छैन । उपभोक्ता समितिका अध्यक्ष दुखराम थारुले हालसम्म काम सम्पन्न भई किसानको खेतमा सिँचाई सुविधा पुगेको हुनुपर्नेमा निर्माण कम्पनीले काम नगरिदिँदा किसानलाई नोक्सान भएको बताए ।

  • ७ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech