११ बैशाख २०८१, मंगलवार

पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण भएन
  • न्युज मानसराेवर

बाँके\ बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १८ सय मिटर सडकको निर्माण कार्य पूरा भएन । ठेकेदारले खजुरा बजारको १८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भैरहेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।

बाँकेको खजुरा गाउँपालिकाको ईलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर चार लेन सडक निर्माणको काम हुन नसकेको हो । चार लेन सडक निर्माणको काम गर्ने ठेक्का २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा पाएको थियो ।

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएकोेमा ६८ महिना बिते पनि अझै सडक अपुरो छ । विभिन्न बहानामा पटक पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाले बताए । स्थानीयले सडक निर्माणको माग गर्दै पटक पटक आन्दोलन भए पनि सडक अझै अलपत्र रहेको उनले बताए ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार कोरोना महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमा काम नसकिएको जानकारी गराएर निर्माण कम्पनीले म्याद थप गर्दैआएको छ । सडक बारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएका छन। मन्त्री केसीले ठेकेदार वामदेव रेग्मीलाई फोन गरेर तत्काल फिल्डमा आएर अधुरो सडकको काम पूरा गर्न निर्देशन समेत गरेका छन।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech