विक्रम संवत् १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुको पचलीस्थित रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइयो। माघ १३ गते सिफलमा बकाइनाका रुखमा झुण्ड्याइयो धर्मभक्त माथेमालाई। त्यसको दुई दिनपछि अर्थात् माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानियो। तत्कालीन जहानियाँ राणा शासनविरुद्ध खडा भएका यी चार जनालाई झुटा मुद्दा लगाई मृत्युदण्ड दिइएको थियो। ती वीर सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ।
वि.सं. १९९३ जेठ २० मा ओमबहादलमा टंकप्रसाद आचार्यको नेतृत्वमा गठित नेपाल प्रजा परिषद्ले राणाविरोधी आन्दोलन सुरु गरेको थियो। सांगठनिक रुपमा राणाविरुद्ध खुलेको यही राजनीतिक पार्टीको आन्दोलनले राणा शासनको अन्त्य गरे पनि राणा शासन सुरु भएदेखि नै राणाविरुद्ध विद्रोह सुरु भइसकेको थियो। सानो झिल्कोको रुपमा बेलाबेला देखिएको विद्रोह १९९३ पछि ज्वलन्त भएर १९९७ पछि राँकोका रुपमा विकास भएको थियो। जसले २००७ साल फागुन ७ गते राणा शासन ढालेर उदाएको प्रजातन्त्रसँग रोकिएको थियो।
वि.सं. २००३ भदौ ३१ गते जंगबहादुर राणाले प्रधानमन्त्री फत्तेजंग शाह, दलभञ्जन पाँडे, वीरकेशर पाँडेलगायत ३१ जनाको हत्या हुनेगरी कोत हत्याकाण्ड घटाए। इतिहासको दोस्रो ठूलो हत्याकाण्डका रुपमा भएक उक्त कोतपर्वसँग जहानियाँ राणा शासनको उदय भयो, जंगबहादुर प्रधानमन्त्री बने।
अलौ पर्व
जंगबहादुरको शासन सुरु भएदेखि नै राणा शासनविरुद्ध विभिन्न विद्रोहका प्रयास भएका थिए। भण्डारखाल पर्वपछि राजा राजेन्द्रविक्रम शाह राणीसँगै केही समयका लागि भनी काशी गए। तर उनी फर्किएनन्, उतै जंगबहादुरको हत्याको योजना बनाउन थाले। तर जंगबहादुरले राजा राजेन्द्रसँगै आफ्ना गुप्तचर काशी पठाएका थिए, जसले भारतमा भइरहेका सबै योजनाको गोप्य जानकारी जंगबहादुरलाई पठाउने गरेका थिए।
१९०४ मा राजालाई पदच्यूत गरी युवराज सुरेन्द्रलाई जंगबहादुरलाई श्रीपेच लगाए। जंगबहादुरको हत्या षड्यन्त्र गरिरहेका राजा राजेन्द्रले योजना बनाई नेपाल फर्किने तयारी गरे। एउटा फौज निर्माण गरी केही भारदारसित नेपाल फर्किन हिँडे। जसको जानकारी पाएपछि जंगबहादुरले सैनिक टोली राजा राजेन्द्र फर्किने बाटो ढुक्न वीरगन्ज पठाए। वीरगन्जको अलौमा उक्त सैनिक टोलीले राजा राजेन्द्रसँग फर्किँदै गरेको सबै टोलीको हत्या गर्यो, राजालाई नजरबन्द गरियो।
बाँकावीरको त्यो विद्रोह
राज्यले लखन थापालाई नेपालको प्रथप सहिद घोषणा गरे पनि पहिलो सहिद थापा कि बाँकावीर भन्ने बहस पछिल्लो समय सधैँ चर्चामा रहन्छ। तर राजदबारभन्दा बाहिरबाट विद्रोह गर्ने पहिलो व्यक्ति बाँकावीर नै नेपालका पहिलो सहिद भएको सुरतबहादुर साहको ‘सुदूरपश्चिममा उदाएका नक्षत्र’, आत्माराम ओझाको ‘नेपाली इतिहास मन्थनः केही ऐतिहासिक खोजहरूको संकलन’ लगायतका पुस्तकमा दाबी गरिएको छ। अघिल्लो वर्ष चैतमा अनेरास्ववियुको कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम सहिद लखन थापा नभई बाँकावीर भएको अभिव्यक्ति दिएका थिए, जसले प्रथम सहिदको बहस पिँधमा ल्याएका थियो।
जंगबहादुरले राजा राजेन्द्रलाई नजरबन्द गरेर एकतन्त्रीय शासन गर्न थालेपछि बलदेव शाही (बाँकावीर)ले त्यसको विरोध गरेका थिए। शासन आफ्नो हातमा लिएपछि देशभर जंगबहादुरले तानाशाही शासन चलाएका थिए। त्यही क्रममा अछाममा खटिने राणाका कर्मचारीलाई नौमुठे गाई दिनुपर्ने, उनीहरू कतै जाँदा जनताले पिठ्युँमा बोकेर लैजानुपर्ने जस्ता चलन जंगबहादुरले चलाए। छोरोचेलीमाथि हातपात गर्दा पनि विरोध गर्नेलाई पक्राउ गर्ने क्रियाकलाप प्रशासनले गर्यो। त्यसैको विरोधस्वरुप बाँकावीरले विद्रोह सुरु गरेका थिए।
उनले राणाको फौजलाई रासन नदिने अभियान चलाए। राणाका कर्मचारीहरूको हत्या गर्न थाले। बझाङका अमरसिंह भण्डारी र ईश्वरसिंह लगायतसँग मिलेर बाँकावीरले उक्त विद्रोह सुरु गरेका थिए। बाँकावीरको विद्रोह दबाउन जंगबहादुरले आदेश दिए – अछामी रणभीम शाहको भाइ बलदेव शाही, बझाङी अमरसिंह भण्डारी १, गुमानी सिंहका भाइ ईश्वर सिंह १ जहाँ फेला पर्छन्, यिनलाई काटिदिनू । यिनीहरूको मद्दतीमा जोजो छन्, तिनलाई नेल- गलफन्दी हाली नउम्काउन्या गरी यहाँ ल्याउने काम गर्नू । इति संवत् १९०५ साल मिति वैशाख सुदौ रोज शुभम्।
त्यही वर्ष रुद्रसिंह स्वारले खुकुरी प्रहार गरी बाँकावीरको हत्या गरे। उनको टाउको काटेर रातारात डोटी गौंडा हुँदै स्वाँरले बाँकावीरको टाउको काठमाडौं पुर्याइ जंगबहादुरसमक्ष पेश गरेको इतिहासकार सुरतबहादुर शाहले ‘सुदूरपश्चिममा उदाएका अमर नक्षत्र’मा उल्लेख गरेका छन्।
राज्यसत्तालाई लखन थापाको चुनौती
नेपालका प्रथम सहिदका रुपमा चिनिने लखन थापा राणा शासन अन्त्य गर्न चाहन्थे। राणाहरूको तानाशाही शासनविरुद्ध उनले सशस्त्र फौज नै बनाएर राज्यसत्तालाई चुनौती दिएका थिए। गोरखाको बुङ्कोटमा जन्मिएका थापा पूर्वसैनिक थिए। सेनाबाट अवकास लिनुअघि युवराज त्रैलोक्यविक्रम शाहका अंगरक्षक थिए। सेनाबाट अवकास लिएपछि लखन थापा खुलेआम जंगबहादुरविरुद्ध आन्दोलनमा लागेका थिए। उनले जयसिंह चुमीमगर, शुकदेव गुरुङ, सुपति गुरुङ, ज्ञान दिलदास ब्राह्मण र कानु लम्साल लगायत अन्य व्यक्तिहरूको सहयोगबाट स्थानीय १५ सय जनाको विद्रोही फौज खडा गरे।
किल्लाभित्र मनकामना देवीको मन्दिर बनाए र त्यहीँ सैन्य तालिम दिन थाले। ६० वटा बन्दुकसहित तरबार, भाला र खुँडाको व्यवस्था गरेर राणाविरुद्ध लडाइँ लड्ने अठोत गरे। सशस्त्र विद्रोहका लागि ६ महिनाभन्दा बढी त्यही किल्लाभित्र उनले तयारी गरेका थिए। १९३२ मा लखन थापाले जनस्तरबाट उक्त विद्रोह गरेपछि जंगबहादुरकै आदेशमा उनलाई फाँसी दिइयो। २०३३ फागुन २ गते जंगबहादुरको आदेशमा थापासहित सात जनाको झुण्डाएर हत्या गरिएको जीवन आले मगरले नेपालका प्रथम जन्विद्रोही शहीद लखन थापामगरमा उल्लेख गरेका छन्।
युवराज त्रैलोक्यविक्रमले गरेको श्रीपेच बहिष्कार
युवराज त्रैलोक्यविक्रम शाह राणा शासनको अन्त्य चाहन्थे, जसकारण युवराज भएर पनि उनले जीवनभर कहिल्यै श्रीपेच लगाएनन्। राणा शासनको अन्त्य नभई श्रीपेच नपहिरिने घोषणा उनले गरेका थिए। उनले गरिरहेको खुला विरोध राणाहरूलाई मन परेको थिएन। लखन थापाको हत्या भएको एक वर्षपछि १९३४ मा ३० वर्षकै उमेरमा त्रैलोक्यको रहस्यमयी मृत्यु भयो। उनको मृत्युको कारण नखुलेपनि राणाले विष खुवाएर मारेको हुनसक्ने अनुमान हुने गरेको छ।
मकै पर्व
चन्द्र शमशेर रातो टोपी लगाउँथे, भीम शमशेर कालो। १९७७ सालमा सुब्बा कृष्णलाल अधिकारीले राणा शासनलाई इंगित गरेर मकैको खेती नामक पुस्तक लेखे। इतिहासविद् दीर्घराज प्रसाईका अनुसार कृष्णलालले पुस्तकमा लेखेका थिए, ‘मकैको बोटमा लाग्ने कीरा दुई प्रकारका हुन्छन् । एउटा रातो टाउको भएको र अर्को कालो टाउको भएको।’ पुस्तकमा लेखिएको रातो टाउके कीरा चन्द्रशमशेरले लगाउने रातो टोपी र कालो टाउके भनेको भीमशमशेरले लगाउने कालो टोपी हो भनी अर्थ्याइ उनलाई १९८० मंसिरमा पक्राउ गरेर कारागार पठाइयो। उनलाई ९ वर्षको जेल र कोर्राको सजाय सुनाइएको थियो। जेलमै उनको मृत्यु भयो।
प्रचण्ड-गोर्खा पर्व
राणा शासनविरुद्ध १९८८ मा उमेश विक्रम शाह, मैना बहादुर, रंगनाथ शर्मालगायतले प्रचण्ड गोरखा नामक राजनीतिक संस्था खोले। जसको उद्देश्य राणाशासनविरुद्ध सामाजिक चेतना फैलाउने थियो। राणाविरोधी गतिविधि गरेको भन्दै संस्थामा आवद्ध सबैलाई सरकारले पक्राउ गर्यो। पक्राउ परेका सबैलाई आजीवन जेल सजाय सुनाइयो। धेरैले जेलमै देहत्याग गरेकोमा रंगनाथ शर्मा र खड्कमान सिंह २००७ सालको क्रान्तिपछि छुटेका थिए।
लाइब्रेरी काण्ड
वि.सं. १९८७ मा काठमाडौंका ४६ जना युवा मिलेर एउटा पुस्तकालय खोल्ने योजना बनाए। पटकपटकको बैठकपछि प्रधानमन्त्री भीम शमशेरलाई बिन्तीपत्र लेखे। तर त्यो बुझाउनुअघि नै उनीहरू पक्राउ परे। राणापक्षीय रामचन्द्र अधिकारीले त्यसको सूचना सरकारलाई दिएका थिए। उक्त सूचना पाएपछि पक्राउ परेका केहीलाई ५ वर्षको कैद सजाय तोकियो, बाँकीलाई सय-सय रुपैयाँ जरिवाना तिराएर छाडियो।
महावीर इन्स्टिच्युटको स्थापना
सहिद गंगालाल श्रेष्ठसहित केही युवाहरू मिलेर जनस्तरबाट १९९३ मा महावीर इन्स्टिच्युट नामक विद्यालय खोले। उदार राणा प्रधानमन्त्रीका रुपमा चिनिने चन्द्र शमशेरले त्रिचन्द्र कलेजलगायतका शैक्षिक संस्था खोलेका थिए। तर त्यहाँ दरबारियानिकटहरूलाई पढाइन्थ्यो, सर्वसाधारणले पढ्न पाउँदैन थिए। काठमाडौंको खिन्क टोलमा युवाहरूद्वारा खोलिएको महावीर इन्स्टिच्युट विद्यालयमा सर्वसाधारणलाई पढाइन्थ्यो। विद्यालय खोलेपछि २८ जनालाई सरकारले पक्राउ गर्यो। जसमध्ये चिनियाँमान र फत्तेबहादुरलाई आजीवन र पूर्णनारायणलाई १८ वर्ष कैद सजाय तोकिएको थियो। विद्यालय पनि बन्द गराइयो।
प्रजा परिषद्को गठन
वि.सं. १९९३ जेठ २० मा काठमाडौं ओमबहादलमा राणा शासनविरुद्धको आन्दोलन नेतृत्व गर्न नेपाल प्रजा परिषद् गठन भयो। परिषद्मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, टंकप्रसाद आचार्य, रामहरि शर्मा नेपाललगायतका नेता थिए। राणाविरोधी गतिविधि गरेको भन्दै यी ६ वटै नेता पक्राउ परे। जसमध्ये १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीस्थित रुखमा झुण्डाएर मृत्युदण्ड दिइयो।
माघ १३ गते सिफलमा बकाइनाका रुखमा झुण्डाइयो, त्यसको दुई दिनपछि अर्थात् माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानियो। रामहरि शर्मा र टंकप्रसाद आचार्य ब्राह्मण भएकाले चारपाटा मुडेर सर्वश्वसहित जेलमा हालियो। २००७ सालको क्रान्ति प्रजापरिषद्ले बालेको त्यही झिल्कोको राँको थियो। जसले १०३ वर्षीय जहानीयाँ राणा शासनको अन्त्य गरी देशलाई उपहारस्वरूप प्रजातन्त्र दियो।