१३ बैशाख २०८१, बिहीबार

कोहलपुरमा कोशेली घर सञ्चालन
  • न्युज मानसराेवर

कोहलपुर \बाँकेको कोहलपुर नगरपालिकामा कोशेली घर सञ्चालन भएको छ । उत्पादन भएका अर्गानिक वस्तु अन्यत्र पुर्‍याउन सकिने गरीे कोशेली घरको व्यवस्था गरिएको प्रबन्ध निर्देशक ईश्वर शर्माले जानकारी दिए ।

‘नगरपालिकाका १५ वडामा उत्पादन भएका वस्तुको विक्रीवितरण र बजारीकरण गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘यहाँ भान्सादेखि कपडासम्मका वस्तु पाइनेछन् । नगरपालिकाले तालीम दिएपछि उत्पादन भएका वस्तु कोशेली घरमा पाइने उनले बताए ।’ स्थानीयस्तरमा उत्पादित वस्तुलाई बजारीकरणमा समस्या छ, त्यसलाई न्यूनीकरण गर्न कोशेली घर सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले भारतबाट ल्याइएको तरकारी बजारमा जताततै भएका कारण स्वदेशी उत्पादनले प्राथमिकता पाएको छैन ।’ अहिले साना तथा व्यावसायिक रूपमा उत्पादित तरकारी, चामल, खाद्यान्न वस्तु, गेडागुडी, अचार, हस्तकला, टपरीलगायत अन्य विभिन्न प्रकारका स्थानीय वस्तु कोशेली घरमा प्राप्त हुनेछन् ।

नगरपालिकाले अनौपचारिक तथा औपचारिक कार्यक्रममा समेत नगरपालिकाको पहिचान हुने गरी हस्तकलाबाट बनाइएका वस्तुलाई मायाको चिनोको रूपमा प्रदान गर्नुपर्ने जस्ता योजना ल्याएको प्रबन्ध निर्देशक शर्माले जानकारी दिए । कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । महिलालाई आर्थिक क्षेत्रमा सहयोग हुनका लागि पालिकाले शीप विकास तालीम दिइरहेको छ,’ उनले भनिन्, ‘तालीम लिएपछि उत्पादन गरेको वस्तु कोशेली घरमार्फत विक्री वितरण हुने विश्वास भएको छ ।’

वैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शुभद्रा शर्माले पालिकाले लिएको योजना र कार्यक्रममा निरन्तर सहयोग गर्ने उल्लेख गर्दै कोशेली घरको लागि नगरपालिकाले खोलेको ठेक्काबाट सहकारी संस्थाले रू. ५ लाख अनुदान पाएको बताइन् ।

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech