२३ बैशाख २०८१, आईतवार

बर्दिया निकुञ्जमा विदेशी र आन्तरिक पर्यटक बढे
  • न्युज मानसराेवर

बर्दिया \नयाँ वर्षको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्जमा विदेशी र आन्तरिक पर्यटकको भीड बढेको छ । बिहीबार र शुक्रबार निकुञ्ज अवलोकन गर्ने पर्यटकको संख्या १ हजार पुगेको हो ।

पर्यटन व्यवसायी मोहन चौधरीले निकुञ्ज अवलोकन गर्न आएका आन्तरिक पर्यटकले होटल भरिभराउ रहेको बताए । ‘कतिपयले सफारी गर्न खोजे पनि अग्रिम बुकिङ भएका कारण जिपको प्रतीक्षामा बस्नु परेको थियो,’ उनले भने, ‘लामो समयपछि नयाँ वर्षको अवसर पारेर पर्यटक बढेका हुन् ।’

नयाँ वर्षको अवसर पारेर १ हजार बढी आन्तरिक र विदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेको प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । ‘निकुञ्जको प्रवेश द्वारमा खुट्टा राख्ने ठाउँ थिएन,’ उनले भने, ‘नयाँ वर्षका दिन उत्साहजनक रूपमा पर्यटक भित्रिएकाले निकुञ्जका लागि खुसीको कुरा बनेको छ ।’ बाघ सहजै हेर्न पाइने भएकाले पनि पर्यटकको गन्तव्य बर्दिया निकुञ्ज बन्दै गएको अर्का पर्यटन व्यवसायी रामजीबाबु थापाले बताए ।

  • २ बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech