१६ चैत्र २०८०, शुक्रबार

बाल शल्यचिकित्सक डा. फिरोज ७ दिनका लागि निलम्वित
  • न्युज मानसराेवर

बाँके\ बाल शल्यचिकित्सक डा. फिरोज आलमलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा आकस्मिक कक्षमा आएको बिरामीको आकस्मिक उपचार व्यवस्थापन नगरी रिफर गरेका कारण बिरामीको मृत्यु भएको भन्दै डा. आलमलाई काउन्सिलले एक हप्ताका लागि निलम्बन गरेको हो ।

शुक्रबार बसेको नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले डा.आलमले आकस्मिक उपचारका लागि आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी उपचार गर्न नसक्ने भन्दै अन्त लैजान सुझाव दिएको पाइएको हो । बाँकेकी भावना थापाको नवजात शिशुमा ओमफालोसेली (पेटको आन्द्रामा) समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा डा.आलमले शल्यक्रिया गरेका थिए ।

शिशुका अभिभावकले नेपालगञ्जमा गरेको उपचारमा चित्त नबुझेपछि नेपालगञ्जको अर्को निजी अस्पतालमा लगेर थप उपचार गराएका थिए । सोही क्रममा बिरामीका आफन्तले नेपालगञ्ज मेडिकल कलेजमा उपचार गर्दा लापरवाही गरेको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेका थिए ।

तर, काउन्सिलले उपचारका क्रममा लापरवाही नभएको छानविन समितिले प्रतिवेदन दिएको थियो । कान्ति अस्पतालमा उपचार गराएर बाँके फर्किएको ४ महिनापछि पुनः बच्चामा जटिलता आएपछि अभिभावकले नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गराएका थिए ।

आकस्मिक कक्षमा भर्ना भएका शिशुलाई डा.अलामले आफूले उपचार नगर्ने बताएपछि परिवारले काठमाडौं लैजाने तयारी गरेको थियो । तर, सोही दिन बालकको मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि परिवारले मेडिकल काउन्सिलमा डा.आलम विरुद्ध उजुरी गरेका थिए ।

आकस्मिक उपचारमा आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी अन्त रेफर गरेका कारण बालकको मृत्यु भएको काउन्सिलले ठहर गरेको छ । ‘इमर्जेन्सीमा आएको बिरामीलाई सामान्य इमर्जेन्सी उपचार व्यवस्थापन भएको पनि देखिदैंन्,’ काउन्सिलले भन्यो, ‘चिकित्सकले त्यो कुरालाई हेक्का राखेको देखिएन ।’

सुरुमा डा.आलमले काउन्सिललाई आफूले बालकको इमर्जेन्सी उपचार गरेको बयान दिएका थिए । तर, काउन्सिलले छानविनमा उनी दोषी देखिएपछि कारवाहीमा परेका हुन् ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech