५ बैशाख २०८२, शुक्रबार

अन्तत: कोहलपुर नगरपालिकाले खरिद गरेको सेनेटरी प्याड गुणस्तरहीन पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयका छात्रालाई निःशुल्क वितरणका लागि खरिद गरेको २७ लाख रुपियाँको सेनेटरी प्याड गुणस्तरहीन भएको प्रमाणित भएपछि खरिद सम्झौता रद्द गरेर प्याड फिर्ता पठाइएको छ ।

वितरणका लागि विद्यालय पठाउनै लागिएको सो सेनेटरी प्याड गुणस्तरहीन भएको आशङ्का उत्पन्न भएपछि केही दिनअघि परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । कोहलपुर नगरपालिकाले  प्याड परीक्षणका लागि गुण नियन्त्रण तथा नापतौल विभाग काठमाडौँ पठाइएकामा त्यहाँबाट गुणस्तरहीन भएको प्रतिवेदन आएको  जनाएको छ ।

प्याडमा प्रयोग हुने कपास सय प्रतिशत हुनुपर्नेमा ३५ प्रतिशत मात्रै पाइएको र प्याडको लम्बाइ २४ सेन्टिमिटर हुनुपर्नेमा २१ सेन्टिमिटर मात्रै पाइएको प्रतिवेदनमा उल्लेख भएर आएको छ ।

कोहलपुर नगरपालिकाले टेन्डर प्रव्रिmयामार्फत जस्मिन हाइजिन नामक सप्लायर्समार्फत २७ लाख रुपियाँ बराबरको उक्त सेनेटरी प्याड खरिद गरेको थियो । प्याड गुणस्तरहीन भएको प्रमाणित भएपछि जस्मिन हाइजिन नामक सप्लायर्ससँंग खरिद सम्झौता रद्द गरिएको छ ।

चालु आर्थिक वर्ष सकिन केही समय मात्रै बाँकी रहेकाले तत्काल खरिद प्रक्रियामा जान समय लाग्ने भएकाले विद्यालयमा प्याड खरिदका लागि रकम पठाउने र निरन्तर अनुगमन गर्ने योजना  नगरपालिकाको रहेको छ ।

शिक्षा मन्त्रालयले तय गरेको मापदण्ड अनुसारको प्याड आपूर्तिका लागि विज्ञापन गरिएकामा नमुनाका रूपमा ल्याइएको सामग्री र पछि दिइएको सामग्री फरक पाइएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर हमालले विद्यालयका छात्रालाई निःशुल्क प्याड वितरणका लागि व्यवस्थापन गर्ने कार्य भइरहेको जानकारी गराएका छन। हमालका अनुसार यसअघि कोहलपुर नगरभित्रका विद्यालयहरूमा निःशुल्क वितरणका लागि एक लाख आठ हजार प्याकेट सेनेटरी प्याड खरिद गरिएको थियो ।

खरिद गरेर कोहलपुर नगरपालिकाको सभा हलमा ती प्याडहरू तीन महिना राखिएको थियो । त्यसपछि वितरणका लागि विद्यालय पठाउँदा विद्यालयबाट गुणस्तरहीन भएको आशङ्कामा ती प्याड नगरपालिकामै फिर्ता ल्याइएका थिए ।

  • ९ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech