१६ चैत्र २०८०, शुक्रबार

रुकुम पश्चिम जिप दुर्घटना अपडेटः २२ दिने सुत्केरी आमाछोरासहित ५ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना हुँदा घाइते भएका १४ मध्ये ५ जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले बताएको छ। २२ दिने सुत्केरी आमा र उनका छोरासहित ५ जनाको मृत्यु भएको हो।

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु१ज१७४७ नम्बरको जिप आज बिहान करिब साढे ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए।

सडकबाट करिब ३ सय मिटर तल खसेको जिपमा १५ जना सवार थिए। घाइतेको उद्धार जारी रहेको प्रहरीले बताएको छ। ‘बिहान ८ बजे जिप सडक दुर्घटनामा निकै तल पुगेकाले सुरुमा उद्धारमा कठिनाइ भए पनि स्थानीय उद्धारमा जुटेका हौं,’ बाँफीकोट–८ का वडाध्यक्ष धनबहादुर खत्रीले भने।

प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको रुकुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा ३ जना सानीभेरी पालिकाका र बाँकी बाँफीकोटका रहेको वडाध्यक्ष खत्रीले बताए। दुर्घटनामा परेर निधन भएकाको शव सल्ले अस्पतालमा राखिएको छ र सनाखत भइरहेको प्रहरीले बताएको छ।

  • ११ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech