बाँके\लुम्बिनी प्रदेश सभाको अधिवेशन यही जेठ १२ शुक्रबारदेखि सुरु हुने भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ का लागि प्रदेश सभाको अधिवेशन आह्वान आग्रह गरेको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशको दोस्रो अधिवेशन (बजेट अधिवेशन) आह्वान भएको जनाएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० जेठ १२ गते शुक्रबार दिनको १ बजे प्रदेश सभा भवन राप्ती उपत्यका (देउखुरी) मा दोस्रो अधिवेशनको पहिलो बैठक बस्ने भएको हो ।
लुम्बिनी प्रदेश सरकारले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आएको छ । यसअघि प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन गत फागुनमा १० वटा बैठक बसेर सकिएको थियो । पुस १७ देखि सुरु भएको प्रदेश सभाको पहिलो अधिवेशनको कुल बैठक १३ घण्टा ४५ मिनेट बसेको थियो ।
प्रदेश सभा सचिवालयका अनुसार पहिलो अधिवेशनमा तीन वटा विधेयक प्रदेश सभामा दर्ता भएका छन् भने एउटा विधेयक फिर्ता भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले पहिलो पाँचवर्षे कार्यकाल र दोस्रो प्रदेश सभाको पहिलो अधिवेशनले गरेका कामको समीक्षा गर्दै प्रदेश सभा सचिव दुर्लभकुमार पुनले लुम्बिनी प्रदेश सभाले अन्य प्रदेशको तुलनामा उल्लेख्य उपलब्धिहरू हासिल गरेको दाबी गरेका छन। उनले देशमा ऐन, कानुन निर्माण गर्ने र ती ऐन, कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा लुम्बिनी प्रदेश अग्रपङ्क्तिमा रहेको दाबी गर्दै प्रदेश सभालाई थप व्यवस्थित बनाई कार्यान्वयनमा थप प्रभावकारी ल्याउन गरिएका विभिन्न प्रयासबारे जानकारी गराए ।
प्रदेश सभा सचिवालय बुटवलबाट दाङ सरेपछिको चार महिनामा प्रदेश सभाका लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माणदेखि व्यवस्थापनका काम गरिरहेको सचिवालयले जनाएको छ । उनले प्रदेश सभाको सचिवालयका संरचना निर्माण गरेको, विषयगत समितिका लागि कार्यकक्ष तयार भएको, प्रदेश सभा सदस्यलाई अभिमुखीकरण, अभ्यास संसद् कार्यव्रmम सञ्चालनलगायतका क्षमता अभिवृद्धिका काम पनि भएको बताए ।
लुम्बिनी प्रदेश सभाको पहिलो कार्यकालले कुल ७२ वटा कानुन निर्माण गरेको थियो । प्रदेश सभामा लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ ।