१२ बैशाख २०८१, बुधबार

व्यवसायीको रोजाइमा नेपाली प्लाइउड
  • न्युज मानसराेवर

बाँके\बाँकेको जानकी गाउँपालिका –३ इन्द्रपुरमा रहेको मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियालाई एक वर्ष अघिसम्म उत्पादित प्लाइउड विक्री नभएर दैनिक हैरानी थियो ।

एकातिर बैङ्कको किस्ता, अर्कोतर्फ उत्पादित सामान विक्री नभएर थन्किनु मियाका लागि दोहोरो हैरानी थियो ।अहिले अवस्था फेरिएको छ । मिडलाज ग्रुपले उत्पादन गरेको प्लाइउड भारतमा निकासी हुन थालेपछि आफूहरूको चिन्ता पनि अन्त्य भएको मियाको भनाइ छ ।

मियाले भने , ‘आर्थिक मन्दीको अवस्थामा उत्पादित प्लाइउड बिक्री नभएपछि के गर्ने कसो गर्ने भन्ने चिन्ता हुन्थ्यो, अहिले भने सामान पुर्याउन नसकिने हो की भन्ने चिन्ता हुन थालेको छ ।’

मिड्लाजले पहिलो पटक करिब १० लाख मूल्यको प्लाइउड भारतको (प्रयागराज, इलाहवाद) पठाएको हो । पहिलो पटक सामान भारत पुगेपछि त्यस यता धेरै भारतीय उद्योगीहरू सामान खरिदका लागि उद्योगको कार्यालयमै पुग्न थालेका छन् । उनीहरूले नेपाली उत्पादनप्रति विश्वाससहित सम्पूर्ण उत्पादन खरिदका लागि तयार रहेको बताउने गरेका छन् ।

मियाले भने , ‘यो नेपाली उत्पादनप्रतिको भारतीय विश्वास पनि हो, यसबाट नेपाली उत्पादनको गुणस्तरीयतामा पनि भारतीय उद्योगी व्यवसायीको भरोसा देखिएको छ ।’अहिले भारतको प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहराईच, नानपारालगायतका सहरबाट व्यवसायीहरू आफै नेपाली प्लाइउड खरिदका लागि पुग्नेगरेका छन् । भारतीय व्यापारीहरूको रोजाइमा उत्तिस जातबाट तयार पारिएको प्लाइउड, ढोकाहरू  पर्न थालेका छन् ।

नेपालमा विक्री हुँदा उधारोमा सामान दिनुपर्ने र लामो समय असुलउपर नहुने समस्या रहेकोमा भारतीयहरू अग्रिम रकम लिएर सामानका लागि आउनेगरेका छन् । सामान निर्यातका लागि इजाजत प्राप्त गरेपछि भारतमा बजारीकरणका लागि समेत पहल भइरहेको मिड्लाज ग्रुपले जनाएको छ । मिड्लाजसहित नेपालगञ्जका अन्य थप दुई प्लाइउड कम्पनीले समेत उत्पादित वस्तुहरू भारत निर्यात गरिरहेका छन् । करिब एक बिघा चार कठ्ठा जग्गामा रहेको यस उद्योगमा करिब ५० जना कर्मचारी कार्यरत छन् । मिड्लाजले प्रतिमहिना सात हजार ५०० थान प्लाइउड उत्पादन गर्दैआएको छ । दुई वर्ष अघिदेखि सञ्चालित यस उद्योगमा वार्षिक २० करोड बढीको प्लाइउड उत्पादन हुने कम्पनीले जनाएको छ ।

  • २३ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech