४ असार २०८२, बुधबार

निःशुल्क स्वास्थ्य बिमा गरिने
  • न्युज मानसराेवर

बाँके\थारू समुदायको जनसङ्ख्या बढी भएका बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमियाका बिरामीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।  स्वास्थ्य कार्यालय बाँकेले सिकलसेलका बिरामीको खोजी गरेर कार्ड वितरणसँंगै रोगबारे परामर्श दिने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा रगत जाँच र रिपोर्ट सार्वजनिक गर्ने अभियान सञ्चालन गरिरहेको छ।

सो क्रममा बिरामी र वाहक ठुलो सङ्ख्यामा भेटिएपछि उपचारमा सहजताका लागि कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो। आर्थिक वर्ष २०८०/८१ देखि दुवै पालिकाभित्र रहेका सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बिमा गर्ने घोषणा गरेका छन्। स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार कोहलपुर नगरपालिकाले यसअघि बिमा गर्ने कुराको घोषणा गरिसकेको छ भने राप्तीसोनारी गाउँपालिकाले अहिले सो घोषणा गरेको हो।

राप्तीसोनारी गाउँपालिका–२, कचनापुर स्वास्थ्य चौकीमा स्वास्थ्य कार्यालय बाँकेद्वारा आयोजना गरिएको सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पालिकाभित्र रहेका सिकलसेलका बिरामीको निःशुल्क बिमा गरिदिने  बताए । उनले सिकलसेल भएका बिरामीले जीवनभरि औषधी खानुपर्ने हुँदा न्यून आयस्रोत भएकालाई औषधी किन्न निकै समस्या पर्ने भएकाले उनीहरूको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको बताए ।

अधिकृत श्रेष्ठले राप्तीसोनारीका थारू बाहुल्य चार वटा वडामा करिब तीन हजार ३१३ जनाको रगत जाँच गर्दा ११ जना सिकलसेलका बिरामी र ३७६ जना रोगका वाहक फेला परेको बताउनुभयो। उनले यो सङ्ख्या धेरै नै भएको जनाउँदै विवाहपूर्व रगत जाँच गरेर मात्रै रोगलाई फैलिनबाट रोक्न सकिने बताए ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक वडा नम्बर ६ कमैयाडाँडामा ६३१ जनाको नमुना जाँच गर्दा दुई जना रोगी र ३६ जना वाहक फेला परेका छन् भने वडा नम्बर–२, कचनापुरमा ४८७ जनाको नमुना जाँच गर्दा तीन जना रोगी र ४४ जना वाहक फेला परेका छन्।

यस्तै गत वर्ष वडा नम्बर ३ र ४ मा  दुई हजार १९५ जनाको नमुना जाँच गर्दा छ जना रोगी र

२९१ जना वाहक फेला परेका थिए। थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विज्ञहरूलाई गाउँघरमै पु¥याएर स्थानीयवासीलाई सचेत बनाउने काम गरिरहेको छ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वलीसहितको टिमले गाउँ गाउँमा पुगेर बिरामी, वाहक र अगुवालाई परामर्श दिइरहेको छ।

  • २७ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech