बाँके\बाँकेका ४ पालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको छ । बाँकेका आठ पालिकामध्ये जानकी गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार पाँच वर्षमुनिका सबै बालबालिकालाई प्रत्येक महिना १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई माघदेखि वैशाखसम्म खोज र खोप अभियान सञ्चालन गरिएको थियो । त्यसअन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनः समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।